जुम्लाका नागरिकका लागि अहिले यात्रा आफैंमा जोखिम बनेको छ। सडक असुरक्षित छ, जहाज भरपर्दो छैन। बिरामी पर्दा समयमै उपचारका लागि बाहिर लैजान नसक्दा सर्वसाधारणले ठूलो सास्ती भोगिरहेका छन्।
गत चैत २५ गते कडा मधुमेहका कारण स्वास्थ्य अवस्था जटिल बनेपछि हिमा गाउँपालिका–६ का ७१ वर्षीय कलबहादुर अधिकारीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा भर्ना गरियो। मधुमेह नियन्त्रणमा नआएपछि र ‘प्रोस्टेट’ समस्या बढेपछि अस्पतालले उनलाई ‘युरो सर्जरी’ का लागि नेपालगन्ज रिफर गर्यो।
परिवारले दिनभर जहाज कुर्यो, तर उडान भएन। अन्ततः हिमा गाउँपालिकाको एम्बुलेन्समार्फत नेपालगन्ज लैजाने निर्णय भयो। तर यात्रा नै दुर्घटनामा परिणत भयो।
०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स कालीकोटको खाडाचक्र नगरपालिका–२ स्थित मेयरखोलानजिक दुर्घटनामा पर्दा कलबहादुरका छोरा ३२ वर्षीय भीमबहादुर अधिकारी र एम्बुलेन्स चालक २६ वर्षीय शक्तिबहादुर शाहीको मृत्यु भयो। बिरामी अधिकारी घाइते भए।
“त्यो दिन प्लेन आएको भए मेरो उपचार सहज हुन्थ्यो,” अधिकारीले भने, “अकालमै छोरा गुमाउनुपर्यो।”
जुम्लामा सडक जीर्ण र जोखिमपूर्ण भएकाले धेरै नागरिक सुरक्षित यात्राका लागि जहाजकै भर पर्छन्। तर नियमित उडान नहुँदा बिरामी समयमै अस्पताल पुग्न सकिरहेका छैनन्।
चन्दननाथ नगरपालिका–८ की २१ वर्षीया सवि कामी पनि यस्तै समस्यामा परेकी छन्। मुटु, छाती र फोक्सोमा समस्या देखिएपछि उनलाई प्रतिष्ठानले नेपालगन्ज रिफर गरेको थियो। चिकित्सकले अक्सिजनसहित जहाजबाट लैजान सुझाव दिएका थिए।
“बुधबार उडान तालिका थियो, तर जहाज आएन,” उनका भाइ विनोद कामीले भने, “मौसमको कारण भन्दै उडान रद्द भएपछि फेरि अस्पतालमै फर्किनुपर्यो।”
तिला गाउँपालिका–८ की दुर्गा रावत पनि लामो समयदेखि ग्यास्ट्रिक समस्याबाट पीडित छन्। नेपालगन्ज उपचारका लागि जान खोजे पनि दुई दिनसम्म उडान नभएपछि टिकट रद्द गर्न बाध्य भइन्।
“गाडीको यात्रा सहन सकिँदैन,” उनले भनिन्, “दुई दिन विमानस्थल धायौँ, अन्तिममा फर्किनुपर्यो।”
पर्यटकीय मौसम सुरु भएसँगै निजी विमान कम्पनीहरूले जहाज पूर्वी जिल्लातर्फ केन्द्रित गरेपछि कर्णालीमा उडान झन् अनियमित बनेको स्थानीयको गुनासो छ। नेपाल एयरलाइन्सको उडान पनि मौसम र प्राविधिक कारण देखाउँदै पटक–पटक रद्द हुने गरेको छ।
गत साता नेपाल एयरलाइन्सले नेपालगन्ज–जुम्ला उडानका लागि आइतबार, मंगलबार र बुधबार तथा सुर्खेतबाट मंगलबार उडान गर्ने तालिका सार्वजनिक गरेको थियो। तर स्थानीय चन्द्रलाल न्यौपानेका अनुसार मंगलबारबाहेक अन्य सबै उडान रद्द भए।
“उडान अवरुद्ध हुँदा बिरामीको ज्यान जोखिममा परेको छ,” उनले भने।
२ सय ३२ किलोमिटर लामो कर्णाली राजमार्ग अझै ‘सिंगल लेन’मै सीमित छ। सामान्य वर्षा हुँदा पनि सडक हिलो र जामले अवरुद्ध हुने गरेको स्थानीय बताउँछन्। पाँच वर्षअघि गरिएको कालोपत्र उप्किएपछि हिउँदमा सडक धुलाम्मे हुने समस्या थपिएको छ।
नेपाल एयरलाइन्स जुम्ला स्टेसन इन्चार्ज उमाकान्त अधिकारीले मौसम खराबीका कारण उडान प्रभावित भइरहेको बताए।
“सेड्युल अनुसार यात्रुलाई बोलाउँछौँ, तर जहाज नआएपछि फर्काउनुपर्ने अवस्था छ,” उनले भने।
उनका अनुसार प्रत्येक उडानमा दुई/दुई सिट बिरामी र सरकारी कर्मचारीका लागि छुट्याइएको छ।
हाल जुम्लामा सीता, तारा, समिट र नेपाल एयरलाइन्सले उडान गर्दै आएका छन्। तर यात्रु अभाव देखाउँदै निजी एयरलाइन्सले प्रायः उडान रद्द गर्ने गरेको स्थानीयको आरोप छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक डा. कमल थानीका अनुसार नियमित उडान नहुँदा रिफर गरिएका बिरामीलाई समेत फेरि अस्पतालमै फर्काएर भर्ना गर्नुपर्ने अवस्था छ।
नेपाल एयरलाइन्सले नेपालगन्ज–जुम्ला उडानका लागि ८ हजार ९ सय ३३ रुपैयाँ भाडा लिन्छ भने निजी एयरलाइन्सको भाडा ६ हजार ५ सय रुपैयाँ तोकिएको छ।
यसअघि जुम्ला विमानस्थलमा टिकट वितरण व्यवस्थित बनाउने, बिरामी तथा आपत्कालीन यात्रुका लागि सिट छुट्याउने, स्थानीयस्तरमै टिकट काउन्टर सञ्चालन गर्ने लगायत निर्णय भएका थिए।
२०८० पुस ८ गते तत्कालीन प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको उपस्थितिमा तथा जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्यको समन्वयमा तारा, सीता, समिट र नेपाल एयरलाइन्सबीच पारदर्शी टिकट वितरण गर्ने सहमति भएको थियो।
त्यसैगरी २०८२ पुस ६ गते ‘सुरक्षित, भरपर्दो, नियमित र सर्वसुलभ हवाई यातायात’ विषयक कार्यक्रममा पनि हवाई सेवा सुधारका लागि विभिन्न निर्णय गरिएका थिए।
तर ती अधिकांश निर्णय कागजमै सीमित भएका छन्। परिणामतः कर्णालीका बिरामी अझै जहाजको प्रतीक्षामै छन्, जबकि सडक यात्रा उनीहरूका लागि ज्यानकै जोखिम बनेको छ।
प्रकाशित: २८ वैशाख २०८३ २१:०० सोमबार





-600x400.jpg)