जुम्लाको तातोपानी गाउँपालिका-२ डाँगीबाडा गाउँकी देवकी रावलको जन्म २०६२ सालमा भएको थियो।
सामान्य परिवारमा जन्मिएकी देवकीले गाउँकै शुन्दरमणि आधारभूत विद्यालयबाट आफ्नो शिक्षा सुरु गरिन्। गाउँको विद्यालयबाट सुरु भएको उनको शैक्षिक यात्रा विस्तारै सदरमुकाम हुँदै काठमाडौं पुग्यो र अहिले अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयसम्म पुगेको छ।
आमा रुगविणि रावल र बुबा रामबहादुर रावलकी जेठी छोरी देवकी विद्यालय पढ्न सुरु गरेदेखि नै कक्षामा प्रथम हुन्थिन्। कक्षा १ देखि कक्षा ७ सम्म उनले जुम्लाको कनिकानिशा बोर्डिङ स्कुलमा अध्ययन गरिन्। त्यसपछि कक्षा ८ देखि १० सम्म सदरमुकाम खलंगामा रहेको चन्दननाथ माविमा अध्ययन गरेर एसईई उत्तीर्ण गरिन्।
एसईईमा ए प्लस अंक प्राप्त गरेकी देवकीको काठमाडौं यात्रा पनि त्यही उत्कृष्ट शैक्षिक नतिजासँग जोडियो। उनले काठमाडौंको सेन्ट जेभियर्स कलेज, माइतीघरमा पूर्ण मेरिट छात्रवृत्ति पाएपछि जुम्लाबाट काठमाडौंको यात्रा सुरु गरेकी थिइन्। सेन्ट जेभियर्स कलेजबाट विज्ञान विषयमा प्लस टु पूरा गरेकी उनले प्लस टुमा पनि ए प्लस अंक प्राप्त गरिन्।
जुम्लाको सामान्य परिवारबाट हुर्किएकी देवकी रावल अब अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयमा पढ्ने भएकी छन्, त्यो पनि तीन करोड ५० लाख रुपैयाँभन्दा बढीको पूर्ण छात्रवृत्तिमा। उनले अमेरिकाको युनिभर्सिटी अफ रिचमन्डबाट प्रतिष्ठित ‘रिचमन्ड स्कोलर्स प्रोग्राम’ अन्तर्गत पूर्ण मेरिट छात्रवृत्ति पाएकी हुन्।
भौगोलिक विकटता र सीमित स्रोत-साधनका बाबजुद कडा मिहिनेतका साथ अघि बढेकी देवकीले हालै अन्तर्राष्ट्रिय स्तरमा असाधारण सफलता हासिल गरेकी छन्। विश्वभरका करिब १४ हजार प्रतिभाशाली आवेदकमध्ये केवल २५ जनामा छनोट भएर यो ऐतिहासिक तथा अत्यन्तै प्रतिस्पर्धी छात्रवृत्ति हासिल गर्ने दुर्लभ नेपाली विद्यार्थीहरूको सूचीमा उनले आफ्नो नाम दर्ता गराएकी हुन्।
यो छात्रवृत्तिको मूल्य करिब दुई लाख ६० हजार अमेरिकी डलर रहेको छ। विश्वभरबाट आवेदन दिने हजारौँ विद्यार्थीमध्ये २५ जनालाई मात्र दिइने यो छात्रवृत्तिमा देवकी पनि छनोट भएकी हुन्। अब चार वर्षसम्म उनको ट्युसन फी, बस्ने व्यवस्था र खानालगायतका सम्पूर्ण खर्च विश्वविद्यालयले बेहोर्नेछ। त्यति मात्रै होइन, अध्ययन तथा अनुसन्धानका लागि थप ५ हजार ५ सय अमेरिकी डलर अनुदान र विशेष मेन्टरशिपसमेत पाउनेछिन्।
‘क्लास अफ २०३०’ मा छनोट भएकी देवकीले रिचमन्डमा अर्थशास्त्र र कम्प्युटर साइन्स अध्ययन गर्नेछिन्। देवकीको सफलता पढाइमा मात्रै सीमित छैन। उनले यसअघि युरोपेली युनियनको युथ साउन्डिङ बोर्डमा कर्णालीको प्रतिनिधित्व गरिसकेकी छन् भने ‘स्टेम’सम्बन्धी कार्यक्रममा पनि सहभागी भएकी छन्।
देवकीको सफलताले उनका बुबा रामबहादुर रावल र आमा रुगविणि रावललाई मात्र होइन, डाँगीबाडा गाउँलाई नै खुसी बनाएको छ। सामान्य परिवारमा हुर्काएर छोरीलाई पढाउँदै आएका उनीहरूका लागि छोरीले प्राप्त गरेको यो उपलब्धि गर्वको विषय बनेको छ।
बुबा रामबहादुर रावल छोरीले गाउँदेखि अमेरिकासम्मको यात्रा तय गरेकोमा अत्यन्तै खुसी छन्। छोरीले गरेको मेहनत, लगनशीलता र पढाइप्रतिको निरन्तरताले आफूहरूको सपना पूरा भएको बताउँछन्।
‘छोरीले यति ठूलो सफलता हासिल गर्छे भन्ने विश्वास त थियो, तर विश्वभरका हजारौँ विद्यार्थीलाई पछि पारेर यति ठूलो छात्रवृत्ति पाउँदा हामीलाई निकै खुसी लागेको छ,’उनले भने, ‘उसले दुःख गरेर पढी, हामीले पनि सकेको सहयोग गर्यौँ। आज उसले पाएको सफलताले सबै दुःख बिर्साएको छ।’
आमा रुगविणि रावलका लागि छोरीको सफलता खुसीसँगै भावुक क्षण पनि हो। गाउँको सामान्य परिवेशमा हुर्किएकी छोरी आज अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयमा पढ्न जाने भएपछि आफूलाई विश्वास नै गर्न गाह्रो भएको उनी बताउँछिन्।
‘छोरीको प्रगति देखेर आमाको मन खुसीले भरिएको छ। गाउँमा पढेर यति टाढासम्म पुग्छे भनेर सोचेका थिएनौँ। उसले मेहनत गर्यो र आफ्नो बाटो आफैं बनाइन्,’ आमा रुगविणिले भनिन् ‘अब उसले अझ राम्रो गरेर आफ्नो परिवार, गाउँ, जुम्ला र कर्णालीको नाम राखोस् भन्ने हाम्रो चाहना हो।’
जुम्लाबाट सुरु भएको उनको यो यात्रा एउटा विद्यार्थीको व्यक्तिगत सफलताको इतिहास मात्रै होइन, दुर्गम भूगोलका हजारौँ विद्यार्थीका लागि सम्भावना पनि हो। ठूलो सपना देख्न सहरमै जन्मिनुपर्दैन, अवसर खोज्ने र मेहनत गर्ने आँट भए दुर्गम भूगोलबाट पनि संसारका उत्कृष्ट विश्वविद्यालयसम्म पुग्न सकिन्छ भन्ने प्रमाण देवकीले प्रस्तुत गरेकी छन्। उनको यो उपलब्धिले जुम्ला मात्रै होइन, सिंगो कर्णालीका विद्यार्थीका लागि पनि सपना देख्ने र त्यसलाई पछ्याउने नयाँ आत्मविश्वास थपेको छ।
प्रकाशित: २८ भाद्र २०८३ १३:२६ आइतबार





