१ मंसिर २०८२ सोमबार
image/svg+xml
समाज

टिपताला नाका खोल्नेसहितका चार बुँदे माग राखेर जेनजीद्वारा सरकारको ध्यानाकर्षण

नेपाल–चीनको स्वशासित क्षेत्र तिब्बतको सीमानाका टिपताला नाका सञ्चालनसहितका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जेनजी ताप्लेजुङले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारको ध्यानाकर्षण गरेको छ।

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईमार्फत चार बुँदे ध्यानाकर्षणपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरिएको जेनजी ताप्लेजुङका अगुवा सागर लामगादेले जानकारी दिए। 

जेनजी ताप्लेजुङका संयोजक गोपाल गुरागाईद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा फक्ताङलुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलामा रहेको मूल भन्सार कार्यालयमा १५ दिनभित्र कर्मचारी खटाई कामकाज सुरु गर्ने प्रबन्ध गर्न, नेपाल–चीन सीमापास पत्र जिल्ला प्रशासन कार्यालयमार्फत जिल्लाका सम्पूर्ण नागरिकले पाउने प्रबन्ध गर्न माग गरिएको छ। 

यस्तै फक्ताङलुङ गाउँपालिका वडा नं ७ मा पर्ने मौवाटारमा बन्दरगाह निर्माणको प्रशस्त सम्भावना रहेको भनि बन्दरगाह निर्माणको डिपिआर कार्य पूरा भइसकेकोले तत्काल बन्दरगाह निर्माणको प्रक्रिया आरम्भ गर्न माग गरिएको छ।

तमोर करिडोर सडक (मूलघाट–दोभान–ओलाङचुङगोला) स्तरोन्नति तथा बेलिब्रिज निर्माण गरी उक्त कार्यका लागि लागेको ठेक्का प्रक्रियालाई शीघ्र रूपमा अघि बढाउन माग गर्दै जेनजी ताप्लेजुङले सबैभन्दा छोटो ठानिएको उत्तर–दक्षिण (रानी–टिपताला) सडकलाई महत्वको व्यापारिक नाका बनाउन माग गरेको हो। 

जेनजीले नेपाल सरकार गृह मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बोधार्थ दिँदै आवश्यक समन्वय र सहयोगका लागि आग्रह गरेको छ। 

जेनजी ताप्लेजुङले यही कार्तिक १४ गते सदरमुकाम फुङलिङमा जनप्रतिनिधि देखि सम्बद्ध सरोकारवालाहरूको उपस्थितिमा वृहत् सम्बाद तथा सुझाव संकलन कार्यक्रम आयोजना गरेको थियो। 

सोही कार्यक्रममार्फत अभिव्यक्त भएको विचारलाई जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारसमक्ष पेश गरिएको जेनजी ताप्लेजुङले जनाएको छ।

प्रकाशित: १८ कार्तिक २०८२ १४:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App