जेन-जीले पोखरामा पनि प्रदर्शन गरेका छन्। सामाजिक सञ्जालमा लागेको प्रतिबन्ध तथा भ्रष्टाचारविरुद्ध जेन-जीले पोखरामा पनि प्रदर्शन गरेका हुन्। प्रदर्शनमा हजारौं जेन-जीहरू सहभागी छन्। काठमाडौंका जेन-जीले माइतीघरमा प्रदर्शन गर्ने थाहा पाएपछि पोखरा पनि केही जेन-जी मिलेर बनाएको प्रदर्शनमा विशाल जेन-जी सहभागी भए।
पोखरा सभागृहमा स्वतःस्फूर्त उपस्थित भएका उनीहरूले नाराबाजी गर्दै प्रदर्शन सुरु गरेका थिए। बिस्तारै संख्या बढेपछि उनीहरू प्रदर्शन गर्दै नगर परिक्रमातर्फ लागे। सभागृह चोकबाट न्यूरोड, चिप्लेढुंगा, मानवअधिकार चोक, सिद्दार्थचोक, बगालेटोल, सिर्जनाचोक, सिमलचौर हुँदै राष्ट्रचोकमा पुगेर प्रदर्शन गरिरहेका छन्।
जेन-जीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन्। उनीहरूले ‘केपी तेरो पाराले! दुःख पाए साराले’, ‘केपी चोर, देश छोड’, ‘भ्रष्टाचारी सरकार चाहिँदैन, कर लुट्न पाइँदैन’लगायतका नाराहरू लगाए। त्यस्तै, प्रदर्शनकारीहरूले ‘जनता जति खाडीमा, नेताचाहिँ गाडीमा?' ‘दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने’, ‘जनताको आवाज दबाएर स्वतन्त्रता बन्द गर्न पाइँदैन’, ‘ईनफ ईज ईनफ’लगायतका नाराहरू लेखिएका प्लेकार्ड बोकेका थिए।
जेन-जी प्रदर्शनमा सहभागी आकाश पौडेलले भ्रष्टाचार र लुटतन्त्रविरुद्ध प्रदर्शन गरिएको बताए। 'हामीले सहनसम्म सहयौं,' उनले आक्रोश व्यक्त गर्दै भने, ‘तर अझै पनि लुट्न छाडेनन्। यहि लुटतन्त्रविरुद्ध हाम्रो प्रदर्शन हो।’
उनले जनतालाई सचेत बनाउन पनि प्रदर्शनको उद्देश्य रहेको बताए। 'भ्रष्टाचारी नेतालाई नै हामी बारम्बार भोट हालेर जिताइरहेका छौं,' उनले भने, ‘प्रदर्शनले भ्रष्टाचारीलाई भोट हाल्नेले पनि थाहा पाओस् र सहभागी जेन-जीले घरमा गएर आ–आफ्नो घरमा गएर बाआमालाई भ्रष्टाचारी नेतालाई भोट नहाल्न आग्रह गरोस्।’
प्रदर्शनको भीडमा सहभागी एक जेन-जीले भ्रष्टाचार र लुटतन्त्रले थलथलिएको वर्तमान अवस्थाप्रति जेन-जीको फ्रष्टेसन ओकलिएको बताए। प्रदर्शनमा सहभागीको भीडबाट उनी भन्दै थिए, ‘नेता लुटिरहन्छ, सरकार भ्रष्टाचारमा लिप्त छ। उल्टै हामीले चलाउने सामाजिक सञ्जाल बन्द गराउने?’
प्रकाशित: २३ भाद्र २०८२ १४:१४ सोमबार





