जुम्लाको सदरमुकाम खलंगाबाट करिब दुई घण्टा सवारी र थप चार घण्टा पैदल यात्रा गरेपछि पुगिने पातारासी गाउँपालिका–२ को दुर्गम गाउँ पेरे। यही गाउँकी छोरी हुन् अन्तर्राष्ट्रिय अल्ट्रा धाविका सुनमाया बुढा, जसले आफ्नो अथक संघर्ष, निरन्तर मेहनत र अदम्य आत्मविश्वासका बलमा विश्व खेलकुदमा नेपालको नाम उज्यालो बनाएकी छन्।
सानो परिवारको ठूलो सपना सरकारी जागिर थियो। बुबा गोरबहादुर बुढा र आमा मुनकली बुढाको चाहना पनि छोरीले पढेर जागिर खाओस् भन्ने थियो। तर आर्थिक अवस्था कमजोर भएकाले एसईई (कक्षा १०) पछि उनलाई गाउँबाहिर पढाउन नसक्ने अवस्था आयो। परिवारले पढाइभन्दा विवाहलाई प्राथमिकता दिन सुझायो। उनीहरू भन्थे, "बिहे गरेर पनि पढ्न सकिन्छ, हाम्रो आर्थिक अवस्था राम्रो छैन।"
तर सुनमायाको सपना फरक थियो। उनले विवाहको प्रस्ताव अस्वीकार गरिन् र पढ्ने बहानामा खलंगा पुगिन्। त्यहीँबाट उनको जीवनको वास्तविक दौड सुरु भयो। कलेजभन्दा बढी उनको मन खेलकुदमा रमाउन थाल्यो। सानैदेखि रहेको दौडप्रतिको मोहले उनलाई अल्ट्रा ट्रेल रनिङतर्फ डोर्यायो।
करिब १० वर्षअघि अल्ट्रा ट्रेल रनिङबाट आफ्नो यात्रा सुरु गरेकी सुनमाया आज विश्वकै प्रतिष्ठित प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गरिरहेकी छन्।
इटालीमा रचेको नयाँ इतिहास
सुनमायाले २७ जुन २०२६ मा इटालीमा आयोजित लावारेडो अल्ट्रा ट्रेल–१२० किलोमिटर को १९औँ संस्करणको उपाधि जित्दै नेपाली खेल इतिहासमा अर्को स्वर्णिम अध्याय थपिन्।
उनले १२० किलोमिटरको अत्यन्त कठिन दूरी १३ घण्टा ३३ मिनेट १८ सेकेन्ड मा पूरा गर्दै नयाँ कोर्स रेकर्ड कायम गरिन्। पाँच हजार ८०० मिटरभन्दा बढी उकालो रहेको उक्त ट्रेलमा उनले ११ वर्षदेखि कायम रहेको रेकर्ड ६ मिनेटभन्दा बढीले सुधारिन्।
प्रतिस्पर्धाको अन्तिम चरण अत्यन्त रोमाञ्चक रह्यो। अन्तिम ओरालोमा उनले अष्ट्रेलियाकी लुसी बार्थोलोम्युलाई उछिन्दै अग्रता लिइन् र करिब १ मिनेट ३० सेकेन्ड को अन्तरले विजेता बनिन्। यो सन् २०२६ मा उनको पहिलो अन्तर्राष्ट्रिय उपाधि हो।
प्रतियोगिता आयोजकले उनलाई ‘ला स्पोर्टिभा लावारेडो अल्ट्रा ट्रेल–१२० के’ की ‘न्यु क्विन’ घोषणा गर्दै विशेष सम्मानसमेत गरेको छ।
‘रातभर दौडिनु सबैभन्दा कठिन थियो’ इटालीको अनुभव सुनाउँदै सुनमाया भन्छिन्, ‘नेपालभन्दा त्यहाँको खाना र हावापानी फरक भएकाले केही गाह्रो भयो। तर हामीलाई सहयोग गर्ने मान्छे हुनुहुन्थ्यो। रेसमा धेरै चेकपोइन्ट थिए। त्यहाँ पानी र खानेकुरा राखिएको हुन्थ्यो, एक मिनेटभित्र खाएर अघि बढ्नुपर्थ्यो।’
उनका अनुसार रातभर दौडिनु सबैभन्दा चुनौतीपूर्ण थियो।
‘निद्रा लाग्ला कि भन्ने चिन्ता थियो। तर हिम्मत हारिनँ, त्यो दौड जितेरै छाडेँ।’ एकपछि अर्को अन्तर्राष्ट्रिय सफलता सुनमायाको सफलताको यात्रा इटालीमा मात्र सीमित छैन।
सन् २०२५ मा उनले हङकङ १०० अल्ट्रा (१०२ किमि), चेङ्दु ट्रेल (६० किमि), माउन्ट युन बाइ युटिएमबी (३० किमि) र अल्ट्रा ट्रेल केप टाउन (९९.४ किमि) गरी चार अन्तर्राष्ट्रिय उपाधि जितिन्।
विश्व माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिप (८१.२ किमि) मा दोस्रो स्थान हासिल गर्दै उक्त प्रतियोगितामा पदक जित्ने पहिलो एसियाली खेलाडीसमेत बनिन्। हङकङ अल्ट्रामा नयाँ कोर्स रेकर्ड पनि आफ्नै नाममा लेखाइन्।
यसअघि सन् २०२४ मा चीनका दुई र स्विट्जरल्यान्डको एक अन्तर्राष्ट्रिय प्रतियोगिता जितेकी उनले २०२३ मा पाँच उपाधि जितेकी थिइन्। सन् २०२२ मा युटिएमबी मोन्ट ब्लाङ्क (९९.१ किमि) मा दोस्रो र २०२१ मा एचओकेए चियाङ माई बाइ युटिएमबी (१०६.९ किमि) मा स्वर्ण पदक जितेकी थिइन्।
संघर्षका ती दिन सुनमाया अहिले विश्वविजेता भए पनि उनको सुरुवाती यात्रा निकै कठिन थियो।
"गाउँबाट काठमाडौं पुग्नु नै हाम्रो लागि ठूलो संघर्ष थियो। खानादेखि जुत्तासम्म सबै कुराको अभाव थियो। तालिम गर्दा राम्रो डाइट खान पाइँदैनथ्यो। राम्रो जुत्ता किन्न पैसा हुँदैनथ्यो। कहिलेकाहीँ साइज नमिल्ने ठूला जुत्ता लगाएर पनि दौडनुपरेको छ।"
खेल जीवनका ती दुःखद दिन आज पनि उनी भुल्न सक्दिनन्।
सरकारसँग अपेक्षा
सुनमायाको गुनासो छ, नेपालमा खेलाडीलाई पर्याप्त सम्मान मिल्न सकेको छैन।
"सम्मान भनेको आर्थिक सहयोग मात्रै होइन। हौसला, माया र स्नेह पनि सम्मान हो। स्थानीय, प्रदेश र संघीय सरकारले खेलाडीलाई अझ बढी प्राथमिकता दिनुपर्छ। खेल क्षेत्रमा राजनीतीकरण भएको देखिन्छ।"
सात दिदीबहिनीमध्ये एक विश्वविजेता
सुनमाया सात दिदीबहिनीमध्ये एक हुन्। उनकी बहिनी राममाया बुढा पनि अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल धाविका हुन्।
"पहिले जसले आलोचना गर्थे, अहिले उनीहरूले नै बाबुआमालाई 'तपाईंकी छोरीले देशको नाम राखेकी छ' भनेर सुनाउनुहुन्छ।"
खेलप्रतिको रुचि उनलाई विद्यालयस्तरको राष्ट्रपति रनिङ शिल्डबाट सुरु भएको थियो। कक्षा ७ देखि नै दौडन थालेकी उनी अहिले पनि नयाँ पुस्तालाई प्रशिक्षण दिने सपना देख्छिन्।
"अझै धेरै यात्रा बाँकी छन्। मभन्दा पछाडि आउने खेलाडीलाई सिकाउने चाहना छ। देश र कर्णालीको नाम अझै उँचो बनाउन चाहन्छु। सपना पूरा होला नहोला, तर सपना देख्न छाड्नु हुँदैन।"
परिवारको गर्व
बुबा गोरबहादुर र आमा मुनकली बुढा अहिले छोरीको सफलतामा गर्व गर्छन्।
उनीहरू भन्छन्, "कुनै बेला विवाह गर्न दबाब दिएका थियौँ। अहिले त्यो निर्णय गलत थियो भन्ने महसुस हुन्छ। छोरीका कारण आज हामी पनि चिनिएका छौँ।"
गुरु हरिबहादुर रोकायाको प्रेरणा
सुनमायाले आफ्नो सफलताको श्रेय प्रशिक्षक तथा विश्वप्रसिद्ध धावक हरिबहादुर रोकायालाई दिन कहिल्यै बिर्सिँदिनन्।
"गुरुजस्तै बन्ने सपना थियो। उहाँकै प्रेरणाले आत्मविश्वास बढ्यो।"
हरिबहादुर रोकायाले पनि सुनमाया र राममाया आफ्नै मेहनतले यहाँसम्म आइपुगेको बताउँछन्।
"म बच्चैदेखि उनीहरूलाई प्रशिक्षण दिँदै आएको छु। उनीहरू मेहनती र अनुशासित खेलाडी हुन्।"
विश्व कीर्तिमानी प्रशिक्षक हरिबहादुर रोकाया
जुम्लाको चन्दननाथ–४ निवासी ६४ वर्षीय हरिबहादुर रोकाया नेपाली एथलेटिक्सका जीवित इतिहास हुन्। उनले सन् १९८७ मा एभरेस्ट म्याराथन जित्दै विश्व कीर्तिमान कायम गरेका थिए। सन् १९९९ मा आफ्नै रेकर्ड सुधार गर्दै गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाउन सफल भए।
दुई ओलम्पिक, चार दक्षिण एसियाली खेलकुद, १३ राष्ट्रिय र २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका रोकाया २०५२ सालदेखि प्रशिक्षकका रूपमा सक्रिय छन्। अहिले पनि उनी दैनिक दर्जनौँ खेलाडीलाई प्रशिक्षण दिइरहेका छन्।
दुर्गा बुढा, विश्वरूपा बुढा, लक्ष्मी न्यौपाने, राजन रोकाया, रेजिना भण्डारी, लोकबहादुर भण्डारी, राममाया बुढा, सीता न्यौपाने र सुनमाया बुढालगायत थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उनको प्रशिक्षणबाट तयार भएका हुन्।
सुनमाया बुढाको सफलता केवल एउटा खेलाडीको व्यक्तिगत उपलब्धि मात्र होइन, यो दुर्गम कर्णालीको संघर्ष, नेपाली महिलाको आत्मविश्वास र विश्वमञ्चमा नेपालको पहिचानको प्रेरणादायी कथा पनि हो।
प्रकाशित: १९ असार २०८३ १७:३९ शुक्रबार

