झ्याप्प जान्छ, एकैछिनमा पिलिक्क आउँछ फेरि झ्याप्प। २४ घण्टामा कम्तीमा २५ पटकभन्दा बढी नै जाने आउने बिजुलीको यस्तो अवस्था उदयपुरको हो।
प्रचण्ड गर्मी, ग्यासको अभावका कारण अधिकतर परिवारले इन्डक्सन चुलाको प्रयोग गर्ने गरेकाले भान्सादेखि लुगा धुनेयन्त्रसम्म, कार्यालयगत कामदेखि किसानको खेतबारी (मोटर पम्प) सम्म अभिन्न बनेको विद्युत सेवाको अवस्था यस्तो भएपछि त्यसको नकारात्मक प्रभाव सर्वसाधारणलाई मात्र नपरेर व्यापारी, पेशा व्यवसायी, कर्मचारी र मजदुर जुनसुकै क्षेत्रमा परेको छ।
कुनै बेला एक-डेढ घण्टा विद्युत अवरुद्ध हुने गरेको छ भने अधिकतर ५ सेकेण्डदेखि १५ मिनटसम्म जाने गर्छ। काम गर्दागर्दै झ्याप्प बत्ती जाँदा कम्प्युटरमा तथ्यांक हराउने (डाटा लस) हुने, पकाइराखेको खाना अझकल्टिनेजस्ता समस्या उपभोक्ताले भोग्नु परिरहेको छ।
गाईघाट त्रियुगा नगरमुकाम मात्र नभएर उदयपुरकै सदरमुकाम बजार हो। यहाँकै अवस्था यस्तो छ भने अन्य स्थानीय तहका बजार र अनकण्टार दुरदराजका गाउँ बस्तीको हालत कस्तो होला, सहजै अनुमान गर्न सकिन्छ।
'उपभोक्ता हत्तेहैरान बनाइरहेको उदयपुरको विद्युत समस्या किन यस्तो भयो त? नेपाल विद्युत प्राधिकरण, वितरण केन्द्र उदयपुरले यसको नियमन गर्न किन सक्दैन?' जस्ता प्रश्नहरू स्थानीयले गर्न थालेका छन्।
कुलेखानी पावरहाउस जोडिएको उदयपुरको विद्युत पटकपटक अवरुद्ध हुनुको मुख्य कारण पुरानो लाइन विस्तारको संरचना हो। जलजलेस्थित सबस्टेशनमा समस्या आएका कारण आइतबार विहानदेखि सोमबार विहानसम्म उदयपुर अन्धकार भयो। लाहान–गाईघाट मुख्य (हाईटेन्सन) लाइनको जलजलेस्थित सबस्टेशनमा समस्या आएपछि विहानदेखि पटकपटक अवरुद्ध भएको विद्युत सोमबार विहानदेखि मात्र सुचारु भयो।
प्राधिकरण वितरण केन्द्र गाईघाटका अनुसार जलजलेस्थित सबस्टेशनमा पावर सप्लाइमा समस्या आएका कारण विद्युत अवरुद्ध भएको हो। प्राधिकरणका इन्जिनियर बरुण झाले केही दिनयता देखा परेको समस्या बढ्दै गएर शनिबार रातिदेखि विद्युत सप्लाइ नै हुन छाडेकाले यो समस्या आएको बताए।
शनिबार पनि पटकपटक विद्युत अवरुद्ध भएकोमा मर्मत गरेर सुचारु भएको थियो। तर, आइतबार विहानदेखि पुनः समस्या देखिएकोमा सोमबार विहानसम्मै मर्मत गर्दा घण्टौँ लगाएर सुचारु गरिए पनि बिच-बिचमा जाने आउने समस्या यथावत् छ।
उदयपुरमा सामान्य हावाहुरी र झरी वर्षाको बेला प्रायः विद्युत अवरुद्ध हुने गरेको छ। पुरानो लाइन, कम क्षमताको ट्रान्समिटर तथा तार र कतिपय ठाउँमा अझै काठका पोल रहेकाले सामान्य हावाहुरी तथा वर्षाले पनि लाईन अवरुद्ध हुने गरेको झाको भनाइ छ। केही वर्षयता काठका पोल विस्थापित गर्ने प्राधिकरणको योजना कार्यान्वयन गर्दै आइए पनि अझै कतिपय ठाउँमा बाँकी नै रहेको छ।
लाहानदेखि गाईघाटसम्मको ११ हजार भोल्टेजको मुख्य लाइनबाट विस्तार गरिएका शाखा लाइन तथा लोकल (एलटी) लाइनहरू पछिल्लो केही समययता विद्युत अनियमितताले उदयपुरवासी हैरान हुँदै आएका छन्।
दिनमा कम्तीमा २५–३० पटकभन्दा बढी विद्युत जाने आउने गरेको छ। यसले गर्मीयाममा उपभोक्ता धेरै मार खेप्न बाध्य भएका हुन्। अर्को समस्या विद्युत गएपछि कारण सोध्न प्राधिकरणमा फोन गर्दा सम्पर्क नहुने गरेको छ। बत्ती झ्याप्प गएपछि अन्धकार हुँदा के कारण बत्ती गयो, कतिखेर आउँछ भनेर सोध्न फोन गर्दा जहिल्यै व्यस्त हुने वा घण्टी गए पनि फोन नउठ्ने समस्याले स्थानीयलाई दिक्क बनाउने बताए।
प्राधिकरणले प्रायः शनिबारको दिन पारेर लाइन मर्मत गर्ने गरेको छ। मर्मत कार्यले एकाध घण्टा विद्युत अवरुद्ध हुनु सामान्य मानिए पनि शनिबारबाहेक पनि पटकौँ विद्युत जाने आउने समस्याले उपभोक्तालाई धेरै हैरानी दिएको स्थानीयको गुनासो छ।
वितरण केन्द्र प्रमुख मनोजकुमार झा गाईघाटको जनघनत्व बढ्नुका साथै व्यापार व्यवसायमा वृद्धि भए पनि वर्षौँअघिको विद्युत संरचनाले गर्दा नै यस्तो समस्या आउने गरेको बताउँछन्। झण्डै ६ दशकअघिको विद्युतीय संरचनामा रहेर काम गर्नुपर्दा यस्तो समस्या बारम्बार दोहोरिने गरेको झाले बताए। विश्व विद्युत बजारमा आइसकेको नयाँनयाँ प्रविधिहरू अद्यावधिक गर्न नसक्दा बारम्बार समस्या दोहोरिने गरेको झाको भनाइ छ। पुराना ट्रान्समिटर, पुरानै तार, पोल र सबस्टेशन सबै अद्यावधिक गर्ने बेला भइसकेको भए पनि आवश्यक बजेट अभावमा हुन नसक्दा उपभोक्ता मार खेप्न बाध्य भइरहेको उनले बताए।
झाले विद्युत समस्या आउनुको अर्को कारण पनि खुलाए। जनघनत्व बढेसँगै वृद्धि भएको व्यावसायिक फर्म, बैंक, पार्टीप्यालेस, होटल, रेस्टुरेन्टहरूमा एयर कन्डिसन (वातानुकूलित यन्त्र) जडानले विद्युतको माग अत्यधिक हुँदा समस्या आउने गरेको हो।
गर्मीयाममा एकैचोटी धेरै संख्यामा एसी चल्दा ओभरफ्लो हुनाले विद्युत अवरुद्ध झन् बढी हुने गरेको उनी बताउँछन्। त्यसको समाधान पनि नयाँ र अद्यावधिक सामग्रीको जडान नै रहेको झाको भनाइ छ।
प्रकाशित: २६ श्रावण २०८३ १३:३३ मंगलबार





