यहाँका एक वृद्धको आइतबार विहान विद्युतीय झट्का (करेन्ट) लागेर निधन भएको छ। जिल्लाको चौदण्डीगढी नगरापलिका-५ सुन्दरपुर शिवाईका ६६ वर्षीय शुकदेव चौधरीको करेन्ट लागेर निधन भएको स्थानीयले बताएका छन्।
स्थानीय शिक्षक भास्कर चौधरीका अनुसार विहान मोटर जडान गरेको ठाउँमा वृद्ध चौधरी मृत भेटिएका हुन्। शिवाई चोक नजिकै घर भएका चौधरी मोटरको पानीमा हात मुख धुने क्रममा करेन्ट लाग्दा घट्ना भएको अनुमान गरिएको छ।
शिक्षक चौधरीका अनुसार दुई छोरा छुट्टिएर बसेकाले घरमा वृद्ध श्रीमान् श्रीमती मात्र बस्दै आएका थिए। श्रीमती बिरामी भएकाले उपचार गराउन अस्पताल जाने तयारीमा रहेको बताइएको छ। 'बेलैमा खाना पकाएर अस्पताल जाने भन्दै थिए, आफैँ करेन्ट लागेर बिते छन्,' शिक्षक चौधरीले भने।
घटनाबारे प्रहरीलाई जानकारी गराइएपछि इलाका प्रहरी कार्यालय शिवाईको टोली घट्नास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। सर्जमिन मुचुल्काको कानुनी प्रक्रिया पुरा भएपछि शव पोष्टमार्टमका लागि अस्पताल लाने तयारी भइरहेको चौधरीले बताए।
प्रकाशित: २८ भाद्र २०८३ ११:५० आइतबार





