११ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

इरानमा बन्धक अमृतको रिहाइको माग गर्दै सामुहिक पत्र

साता दिनभन्दा अघि इरानी विद्रोही सेनाको नियन्त्रणमा परेका युवा अमृत झाको सकुशल रिहाइको माग गर्दै उदयपुरका दर्जन बढी संघसंस्थाहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।  बुधबार परराष्ट्र मन्त्रालयलाई एक सामूहिक पत्र लेख्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्।

जिल्लामा क्रियाशील विभिन्न सामाजिक तथा अधिकारकर्मी संघसंस्थाहरुले लेखेको पत्रमा जनकपुर महोत्तरी पुर्ख्यौली घर भई त्रियुगा नगरपालिका १ स्थायी घर भएका ३३ वर्षीय झा विगत २ वर्षयता दुबईमा पानी जहाज चालक (सिप पाइलट)को रूपमा कार्यरत रहेको र दुबईका लागि इरानबाट तेल लिएर आउँदै गर्दा इरानी सेनाको कब्जामा परेको उल्लेख छ ।  

झालाई इरानी सेनाले बन्धक बनाएको जानकारी आएको तर, यतिका दिन बितिसक्दासम्म पछिल्लो अवस्थाबारे स्पष्ट नभएको भन्दै घट्नाले बुवा–आमा, परिवारजन, छर छिमेकी र जिल्लावासीलाई चिन्तित बनाएको पत्रमा उल्लेख छ। परराष्ट्र मन्त्रालयमार्फत तत्काल झाको सकुशल रिहाइ र घर फर्कने वातावरण बनाउन पनि पत्रमा जोडदार माग गरिएको छ।  

झाका वृद्ध बुवा गोविन्द र आमा प्रभावति गाईघाटमा सामान्य व्यापार व्यवसाय गर्दै आएका छन् । छोरा नियन्त्रणमा परेको र अहिलेसम्म अवस्थाबारे प्रष्ट जानकारी नआउँदा उनीहरु भव विह्वल भएका छन्। झा गत सोमबार नै इरानबाट तेल लिएर दुबईतर्फ आउने क्रममा अमेरिका र इजरायलको आक्रमणको निसानामा परेर इरानी सेनाले नियन्त्रणमा लिएर स्थानीय कारागारमा राखेको खबर आएको बताइएको छ। उनी नियन्त्रणमा परेको कुरा ६ दिनपछि मात्र काठमाडौं रहेका दिदी भिनाजु पूजा र राजेशले जानकारी पाएको बताइएको छ।  

घट्नाबारे जानकारी आए लगत्तै स्थानीयवासी, त्रियुगा नगरपालिका र जिल्ला प्रशासन कार्यालयले झाको जीवन रक्षा र तत्काल सकुशल घर फिर्तिको वातावरण बनाउन नेपाल सरकारसँग माग गर्दै ध्यानाकर्षण पत्र बुझाईसकेका छन्। जिल्ला प्रशासन कार्यालयले यसबारे परराष्ट्र मन्त्रालयलाई भनिसकेको र झाको रिहाइ तथा नेपाल फर्काउन कूटनीतिक पहल भइरहेको जनाएको छ।  

परराष्ट्र मन्त्रालयलाई लेखिएको पत्रमा गैरसरकारी संस्था, महासङ्घ, केन्द्र, प्रदेश र जिल्ला कार्यालय, दलित महिला अधिकार सङ्घ (फेडो), प्रदेश र जिल्ला, महिला मानव अधिकार सञ्जाल उदयपुरका प्रमुख तथा प्रतिनिधिले हस्ताक्षर गरेका छन्। त्यसैगरी मानव अधिकार विकास केन्द्र उदयपुर, मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेण्डेक), जालपा एकीकृत विकास समाज (जिड्स), नवप्रभात नेपाल, विकास सहजीकरण सञ्जाल (डिफान) र महिला पुनर्स्थापना केन्द्र (ओरेक)लगायतको पनि हस्ताक्षर रहेको छ।

प्रकाशित: ११ चैत्र २०८२ १८:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App