२८ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

बाणगंगामा आकस्मिक बाढी: दाइको सकुशल उद्धार, १० वर्षीय भाइ बेपत्ता

कपिलवस्तुको बाणगंगा नदीमा नुहाउने क्रममा आएको आकस्मिक बाढीमा फसेका एक किशोरको ३ घण्टापछि सकुशल उद्धार गरिएको छ भने उनका १० वर्षीय भाइ बेपत्ता भएका छन्।

शनिबार दिउँसो करिब ३ बजे बाणगंगा नगरपालिका–४ स्थित नदीमा नुहाउन गएका वडा नम्बर-८ बार्डगाउँका १६ वर्षीय रिदम लामा र उनका भाइ बुद्ध लामालाई बाढीले बगाएको थियो।

बाढी आएपछि नदीको बीच भागमा अड्किएर फसेका दाइ रिदमलाई शनिबार साँझ ६ बजेतिर उद्धार गरिएको हो। १० वर्षीय बुद्ध भने तीव्र बहावमा परेर बेपत्ता भएका छन्।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार सामग्रीसहितको संयुक्त टोलीले रिदमलाई सुरक्षित बाहिर निकालेको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गोपाल अधिकारीले जानकारी दिए। उद्धार गरिएका रिदमलाई परिवारको जिम्मा लगाइसकिएको छ।

जलाधार क्षेत्र अर्घाखाँचीमा परेको वर्षाका कारण बाणगंगा नदीमा अचानक बाढी आएको प्रहरीले जनाएको छ। नदीमा बेपत्ता भएका बालक बुद्धको खोजी कार्य जारी राखिए पनि शनिबार साँझसम्म फेला पार्न नसकिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्र कुमार सिंहले बताए।

प्रकाशित: २७ भाद्र २०८३ २२:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App