मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरी खण्डमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनाका मृतक र घाइतेको पहिचान खुलेको छ।
दुर्घटनामा परी ज्यान गुमाउने महिला सोही गाउँपालिका–३ की २८ वर्षीया यमुना विश्वकर्मा रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनामा मोटरसाइकल चालक यमुनाका श्रीमान् २८ वर्षीय यमबहादुर विश्वकर्मा गम्भीर घाइते भएका छन्।
जिल्ला अस्पताल उदयपुरमा प्राथमिक उपचारपछि उनकै श्रीमान् यमबहादुरलाई थप उपचारका लागि विराटनगर रेफर गरिएको छ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख २८४२ नम्बरको मालबाहक ट्रक र विपरीत दिशाबाट जाँदै गरेको स ५ प ९९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दिउँसो २:५५ बजे दुर्घटना भएको थियो।
दुर्घटनालगत्तै गम्भीर घाइते यमुनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए। घटनास्थल पुगेको अस्थायी प्रहरी पोष्ट नेपालटार र चुहाडेको संयुक्त टोलीले घाइतेहरूको उद्धार गरेको थियो।
ठक्कर दिने ट्रक र चालक सप्तरीको सुरुङ्गा नगरपालिका–१ का ४४ वर्षीय एकबहादुर खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी गणेश बमले जानकारी दिए।
प्रकाशित: १८ असार २०८३ १९:२८ बिहीबार



-600x400.jpg)

