८ आश्विन २०८३ बिहीबार
image/svg+xml
समाज

ताप्लेजुङको दोभान बजारमा भीषण आ’गलागी, एक दर्जन घर-पसल ज’लेर नष्ट, नियन्त्रण प्रयास जारी

ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजारमा भीषण आगलागी हुँदा कम्तीमा १२ वटा घर तथा पसल जलेर नष्ट भएका छन्।

बुधबार दिउँसो फैलिएको आगो अझै पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।

फुङलिङ नगरपालिकाबाट पुगेको दमकल, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको संयुक्त टोलीले आगो निभाउने प्रयास जारी राखेको छ। आगलागी कसरी सुरु भयो भन्नेबारे कारण अझै खुल्न सकेको छैन।

प्रारम्भिक विवरण अनुसार स्थानीय चन्द्रप्रसाद पौडेल र डण्डु लामा लगायतका स्थानीयवासीका घरहरू आगोले पूर्ण रूपमा ध्वस्त बनाएको छ।

तमोर नदी र मैवाखोलाको दोभानमा अवस्थित यो बजार निकै झुरुप्प परेको बस्ती हो। यहाँ एकाध बाहेक प्रायः सबै घरहरू काठ र जस्तापाताले बनेका कारण आगो तीव्र गतिमा फैलिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

दोभान बजारले यसअघि पनि यस्तै ठूलो विपद् झेलिसकेको छ। वि.सं. २०७७ साल फागुन १८ गते भएको भीषण आगलागीमा परी यहाँका करिब ४० वटा घर जलेर खरानी भएका थिए।

वर्षायाममा तमोर र मैवाखोलाको दोहोरो कटानको उच्च जोखिममा रहँदै आएको यस बजारमा पछिल्लो समय निरन्तर वर्षा भइरहेकै बेला अकस्मात् आगलागी भएको हो।

क्षतिको पूर्ण विवरण आउन अझै बाँकी छ।

हेराैं तस्बिरहरु, सबै तस्बिर: खगेन्द्र अधिकारी/नागरिक

प्रकाशित: ८ आश्विन २०८३ १५:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App