११ कार्तिक २०८३ बुधबार
image/svg+xml
समाज

तीन दशकदेखि आश्वासनमै सीमित विमानस्थल स्तरोन्नति

फाइल तस्वीर।

तीन विमान दुर्घटना, १३ जनाको मृत्यु र पटक–पटक स्तरोन्नतिको आश्वासन तर जुम्ला विमानस्थलको अवस्था भने २८ वर्षदेखि उस्तै छ। २०५५ माघ ३ गते नेकोन एयरको सिंगल इन्जिन सेस्ना विमान धावनमार्गमै दुर्घटना हुँदा क्याप्टेनसहित पाँच जनाको मृत्यु भयो भने सात जना घाइते भए। त्यसयता विमानस्थल स्तरोन्नति र नियमित उडानको बहस चल्दै आएको छ। तीन दशक बित्न लाग्दा पनि विमानस्थलले काँचुली फेर्न सकेको छैन।

जुम्लाबाट नेपालगन्जका लागि उड्न लागेको उक्त विमान दुर्घटनामा क्याप्टेन सुरेन्द्रबहादुर चन्द, को–पाइलट हरिबहादुर मल्ल तथा यात्रु निरविक्रम शाही, भृकुटी खाण ठकुरीलगायत पाँच जनाको मृत्यु भएको थियो। विडम्बना, दुर्घटनामा ज्यान गुमाएका क्याप्टेन चन्दकी पत्नी तथा को–पाइलट अन्जु खतिवडाको पनि २०७९ माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भयो।

 नेकोन एयर दुर्घटनापछि जुम्ला विमानस्थल स्तरोन्नतिको बहस चले पनि त्यसले मूर्तरूप लिन सकेन। त्यसको आठ वर्षपछि २०६३ असार ७ गते सुर्खेतबाट जुम्ला उडेको यती एयरलाइन्सको ट्विनअटर विमान जुम्ला विमानस्थलमै दुर्घटना भयो। दुर्घटनामा चालक दलका तीन सदस्यसहित आठ जनाको मृत्यु भयो। दोस्रो दुर्घटनापछि पनि विमानस्थलको पूर्वाधार सुधारमा अपेक्षित प्रगति हुन सकेन। त्यसपछि २०७५ जेठ २६ गते नेपालगन्जबाट जुम्लाका लागि उडेको तारा एयरको विमान अवतरणका क्रममा दुर्घटनामा प¥यो। विमानमा सवार १८ यात्रु सकुशल रहे पनि विमान ध्वस्त भयो।

चन्दननाथ नगरपालिका–५ का स्थानीय तथा पुराना पत्रकार नवराज शाहीका अनुसार जहाजमा प्राविधिक समस्या हुनुका साथै धावनमार्ग स्तरीय नहुनु पनि दुर्घटनाका मुख्य कारणमध्ये एक हो। तीनवटा विमान दुर्घटनामा हालसम्म १३ जनाको मृत्यु भइसकेको छ। तर यति ठुलो मानवीय क्षतिपछि पनि विमानस्थल स्तरोन्नतिले गति लिन नसकेको उनको गुनासो छ। ‘नेकोन विमान दुर्घटना भएको माघ ३ गते २८ वर्ष भयो। मैले २०५५ सालमा भएको सो दुर्घटनाको रिपोर्टिङ गरेको थिएँ। त्यसपछि विमानस्थल स्तरोन्नति गर्ने, नियमित उडान गर्ने भनिए पनि तीन दशक बित्न लाग्दा समस्या ज्यूँका त्यूँ छन्,’ शाही भन्छन्।

स्थानीय नेतादेखि मन्त्रीसम्मले विमानस्थल स्तरोन्नति गर्ने आश्वासन दिए पनि अहिलेसम्म उल्लेखनीय सुधार नभएको शाही बताउँछन्। ‘२०५५ देखि हालसम्म तीनवटा विमान दुर्घटना भएर १३ जनाको मृत्यु भइसक्दा पनि सरकारले जुम्ला विमानस्थल स्तरोन्नतिको ठोस पहल थालेको छैन। विमानस्थल स्तरोन्नति गर्ने डीपीआर निर्माण भए पनि अरू कुनै काम अघि बढेको छैन,’ उनले भने।

डिपिआर बन्यो, बजेट फ्रिज

जुम्ला विमानस्थल विस्तारका लागि २०७६ सालमै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणको कर्पोरेट योजना तथा अनुगमन विभागले विमानस्थल विस्तारका लागि चार करोड ४२ लाख ४७ हजार ७ सय ८७ रुपैयाँ ६१ पैसा स्वीकृत गरी आर्थिक वर्ष २०८०/८१ को कार्यक्रम पठाएको थियो। यसअघि आर्थिक वर्ष २०७९/८० मा एक करोड रुपैयाँ विनियोजन भएर आए पनि खर्च हुन नसक्दा फ्रिज भएको थियो।

आर्थिक वर्ष २०८०/८१ मा जग्गा अधिग्रहणका लागि मन्त्रिपरिषद्बाट स्वीकृति भएसँगै नीति तथा कार्यक्रममा ५० लाख रुपैयाँ छुट्याइएको थियो। तत्कालीन जुम्ला विमानस्थल प्रमुख सन्तोष अधिकारीका अनुसार उक्त कार्यक्रम स्वीकृत भएर आएको थियो।

अधिकारीका अनुसार विमानस्थलको जग्गा अधिग्रहणपछि विस्तार कार्यक्रमअन्तर्गत धावनमार्ग, ट्याक्सी–वे र एप्रोन निर्माण गर्ने योजना थियो। प्राधिकरणले जुम्लासहित सातवटा विमानस्थलमा सवारीसाधनबाट पानी भर्ने व्यवस्था गर्न एकमुष्ट ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको पनि उनले बताएका थिए। तर विमानस्थलको मुख्य समस्या समाधान गर्ने पूर्वाधार विस्तारको काम भने अपेक्षित गतिमा अघि बढ्न सकेको छैन।  

४० सिटे जहाज अवतरण गराउने सपना

जुम्ला विमानस्थलको धावनमार्ग ६ सय ७० मिटर लामो र २५ मिटर चौडा छ। यहाँ अहिले साना ट्विनअटर जहाज मात्रै अवतरण गर्छन्। विमानस्थल विस्तार गरी ठुला जहाज अवतरण गराउने जुम्ली जनताको माग वर्षौंदेखिको हो। साबिक कर्णालीको मुकामसमेत रहेको जुम्लामा हवाई सेवा विस्तार हुन नसक्दा यात्रुले सीमित उडानमै निर्भर रहनुपरेको छ।

२०७५ सालमा तत्कालीन पर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीले जुम्लामा ४० सिट क्षमताको जहाज अवतरण गर्न मिल्ने विमानस्थल बनाउने वचन दिएका थिए। उनको निधनपछि यो विषयले अपेक्षित प्राथमिकता पाउन सकेन। राजनीतिक नेतृत्वबाट आश्वासन आउने क्रम जारी रहे पनि कार्यान्वयनमा देखिएको ढिलाइले विमानस्थल विस्तारको योजना अन्योलमै छ।

 विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण गर्न र धावनमार्ग विस्तार गर्न १८३.८० रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ। जुम्ला नागरिक उड्डयन कार्यालयले जग्गा प्राप्तिका लागि प्रारम्भिक चरणको सार्वजनिक सूचना २०८० मंसिर १० गते आइतबार प्रकाशित गरेको थियो। योजनाअनुसार चन्दननाथ नगरपालिका–१ र २ का स्थानीयको जग्गा अधिग्रहण गर्नुपर्नेछ।  

राजाको पहलमा बनेको विमानस्थल

जुम्ला विमानस्थलको इतिहास दुर्गम भूगोलमा यातायातको पहुँच विस्तार गर्ने प्रयाससँग जोडिएको छ। २०२० सालमा राजा महेन्द्र सुर्खेतदेखि पैदल यात्रामा निस्केका थिए। रारा तालको यात्राका क्रममा जुम्ला पुग्न निकै कठिन भएको र यातायातको पहुँचबाट पूर्ण रूपमा टाढा रहेको अवस्था देखेपछि उनले आवतजावत सहज बनाउन पहल गरेका थिए।

जुम्लाजस्तो भौगोलिक रूपमा विकट ठाउँमा यातायातका अन्य विकल्प तत्काल सम्भव नभएको देखिएपछि राजा महेन्द्रको विशेष अगुवाइमा विमानस्थल निर्माणको काम सुरु भयो।

विमानस्थल बनेपछि राजधानी र नेपालगन्जसँग सहज आवतजावत गर्न सकिने खबरले जुम्लावासी खुसी भए। उनीहरू आफैंले जमिन सम्याए, ढुंगा फुटाए। स्थानीयको श्रम र सहयोगमा विमानस्थल निर्माणको काम अघि बढेको थियो। २०२८ सालको माघमा राजा महेन्द्रको स्वर्गारोहणपछि राजा बनेका वीरेन्द्रले गाउँगाउँका जनतासँग प्रत्यक्ष भेटघाट र संवाद गर्ने कार्यक्रम सुरु गरे।

उक्त कार्यक्रमको शुभारम्भका लागि उनले जुम्ला रोजे। सबैभन्दा विकट ठाउँबाट कार्यक्रम सुरु गर्ने उद्देश्यले जुम्ला पुगेका राजा वीरेन्द्रको हेलिकोप्टर केही सम्याइएको नयाँ विमानस्थलमा अवतरण गरेको थियो। त्यसको केही समयपछि २०२९ साल असोज १५ गतेदेखि विमानस्थल सर्वसाधारणका लागि सञ्चालनमा आएको थियो। दशकौंअघि स्थानीयको श्रम र राज्यको पहलमा बनेको विमानस्थल समयअनुसार विस्तार हुन सकेको छैन।

स्थानीय बलवीर सार्कीका अनुसार जुम्लामा हवाई इन्धनको डिपो स्थापना भएपछि कर्णालीका अन्य जिल्लामा जुम्लाबाटै नियमित उडान गर्न सकिन्छ। नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख सुरेन्द्र कुशवाहका अनुसार हाल नेपाल एयरलाइन्स, सीता,तारा र समिट एयरले साताका विभिन्न दिन उडान भरिरहेका छन्।

प्रकाशित: ११ कार्तिक २०८३ १३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App