२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई यात्रामा पहुँच नदिँदा कारबाही

यात्राका लागि बस रोक्दै गरेका बौद्धिक अपांगता भएका व्यक्ति। तस्बिरः नागरिक

बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई चढाउनका लागि यात्रुवाहक बस नरोकेको भन्दै कास्की प्रहरीले बस चालकलाई कारबाही गरेको छ।  

पोखरा महानगरपालिका–३२ लेखनाथस्थित एकजना बौद्धिक अपाङ्गता भएका व्यक्तिले पोखरा–लेखनाथ रुटमा चल्ने बसलाई रोक्नका लागि हात उठाएका थिए।

तर, बस चालकले बौद्धिक अपाङ्गता भएका ती यात्रुलाई चढाउन नमान्दै सवारी रोकेका थिएनन्। आफूलाई चढाउनका लागि बस नरोकेको भन्दै बौद्धिक अपाङ्गता भएका ती व्यक्तिले सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेका थिए।

गत शनिबार भएको सो घटनाको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि कास्की प्रहरीले सक्रियता देखाएको हो। अपाङ्गता भएका व्यक्ति पोखराकै कृष्ण थापाले बस रोक्न खोज्दा नरोकी हिँडेको भिडियो सार्वजनिक भएपछि प्रहरीको गम्भीर ध्यानाकर्षण भएको थियो।  

पीडित व्यक्ति थापाले नै सम्बन्धित निकायको ध्यानाकर्षणका लागि भिडियो पोस्ट गरेका थिए। सोही आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले उक्त सवारी साधनको खोजी सुरु गरेको थियो। खोजी गर्ने क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले ग२ख २२५५ नम्बरको सार्वजनिक बसलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

ट्राफिक नियम उल्लंघन गरेकाले उक्त बसलाई प्रहरीले आवश्यक जरिवाना गरेको जनाएको छ। कारबाहीपछि चालक र सहचालकलाई प्रहरीले सम्झाई बुझाई गरेर छाडेको थियो।

आगामी दिनमा फरक क्षमता भएका, बौद्धिक अपाङ्गता भएका तथा वृद्ध वृद्धालाई यात्राका क्रममा विशेष प्राथमिकता दिने सहमति जनाएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

प्रकाशित: २५ जेष्ठ २०८३ १६:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App