१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

पाटनमा भेडा गोठालालाई चट्याङकै डर

असार २३ गते जुम्लाको गुठिचौर ५ हाका पाटनमा चट्याङले घाइते भएकाको उद्धार गर्दै प्रहरी

गत जेठ ४ गते जुम्लाको गुठिचौर गाउँपालिका-२ को झुलेनी पाटनमा बथानमै चट्याङ लाग्दा २२ भेडाबाख्रा मरे। गुठिचौर-२ का हिरा बहादुर ऐडीका १६ ओटा र धनकृष्ण रोकायाका ६ ओटा भेडाबाख्रा मरेका थिए। उक्त घटनामा कुल ३ लाख ३० हजार रुपैयाँको नोक्सान व्यहोर्नुपरेको थियो।

यस्तै गत जेठ महिनाकै ८ गते जुम्लाको तातोपानी गाउँपालिका-८ टोप्ला गाउँकी २७ वर्षीया कल्पना शाहीको मृत्युको भयो। जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रबिन बाबू रेग्मीका अनुसार शाही यार्सा संकलन गर्न पाटन पुगेकी शाहीलाई चट्याङ लागेको थियो।

गत जेठ १६ गते चट्याङ लागेर जुम्लाको पातारासी गाउँपालिका- २ लम्तेली पाटनमा सामुदायिक वनमा स्थानीय चुम्मा बुढाका ५ वटा भेडा मरे। चट्याङबाटै ७ ओटा भेडा घाइते भए। यो घटनामा १ लाख ८० हजार रुपैयाँको क्षति भएको छ।

यस्तै यहीँ असार २३ गते जुम्लाको गुठिचौर गाउँपालिका-५ धौलीगाडको ठूलो हाँका पाटनमा चट्याङ पर्दा १ सय ९७ भेडा मरे। प्रहरीका अनुसार ६ जना किसानका भेडा मरेका छन्।

पशु सेवा कार्यालय जुम्लाका पशु स्वास्थ्य अधिकृत भीमप्रसाद तिमिल्सिनाका अनुसार बाख्रा १३, थुमा (साढ) ५, भेडी १ सय ४७ र ३२ ओटा खसी मरेका छन्। उक्त घटनामा कुल २५ लाख ७४ हजार रुपैयाँ  रुपैयाँ बराबरको क्षति भएको छ। 

असार २३ मा हाँका पाटनमा चट्याङ लागेर जुम्लाको सिञ्जा-६ भाडगाँउका ५२ वर्षका भेडा गोठाला धनबहादुर रावत गम्भीर घाइते छन्।  रावतको अहिले काठमाडौंको टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

पशु कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढथापाका अनुसार पाटन र खर्कहरूमा व्यवस्थित भेडीगोठ नहुँदा पनि भेडा प्राकृतिक प्रकोपको जोखिममा पर्ने गरेको छ।  ‘भौतिक संरचना, खर्क सुधार र चरण क्षेत्र विस्तारमा जोड दिनुपर्छ,’ उनले भने।

कर्णाली प्रदेश सरकारले कर्णालीका साबिकका ५ जिल्लामा भेडा  गोठालो भत्ता दिँदै आएको छ। जुम्ला कालिकोट, हुम्ला, मुगु र डोल्पा यो कार्यक्रम सञ्चालित छ। गोठालो भत्ता कार्यक्रमले किसानलाई भेडा पालन तर्फ आकर्षित गराउन प्रोत्साहन गर्ने उद्देश्य प्रदेशको छ। ५० भन्दा बढी भेडा बाख्रा पाल्ने किसानहरूले गोठालो भत्ता पाउने गर्छन्। 

प्रकाशित: २६ असार २०८२ १७:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App