ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिमस्थित सिँवा माध्यमिक विद्यालयमा अध्यनरत जानुका लामगादे घरमा प्रयोग हुने खाना तथा खाजाका बारेमा संवेदनशील हुन थालेकी छन्।
उनी आफु मात्र होइन,घर परिवारका सदस्यलाइ पनि शरिरलाइ लाभ हुने खानपानमा ध्यान दिन सुझाउँछिन् र बनाएर खुवाउँछिन् पनि। त्यतिमात्र होईन,उनी मधुमेह रोकथाम बिरुद्धको अभिमुखीकरणमा विद्यार्थीको अगुवाई पनि गर्छिन्। मधुमेह रोग बिरुद्ध पाएको ज्ञान घरका सदस्यलाई सुनाउँछिन् र रोकथामका लागि उत्प्रेरित गर्छिन्।
करेसाबारीमा उत्पादन भएका साग,मूला,जाँगर,कोपी,केराउ लगायतको प्रयोगमा जानुका मनग्ये ध्यान दिन्छिन्। तरकारी र सागसब्जीको प्रयोगबाट बनाइने मःम,अम्लेट,स्टिम राइस लगायतका परिकार उनको घरमा खाजाका रुपमा देख्न सकिन्छ। त्यहिँकी आशिका लिम्बूका घरमा सुरुमा बजार पसलमा पाइने चाउचाउ,बिस्कुट,मिठाइजन्य खानेकुरा खाजाका परिकार मध्येका थिए।
अहिले उनलाइ त्यतातिर ध्यान छैन। बरु उनी आफुले पहिले प्रयोग गर्ने तिनै खानेकुरा प्रयोग नगर्न अरुलाइ पनि सुझाइरहेकी छन्। ‘जंक फुड त खानु हुन्न है ! ’यो भनाइले उनको जंक फुड प्रयोग गर्ने बानी पूरै हटिसकेको संकेत गर्छ। यि दुई विद्यार्थी प्रतिनिधिको भनाइले ताप्लेजुङका विद्यालयहरुमा मधुमेह नियन्त्रणमा सघाउ पुग्ने खाजा र खानाको प्रयोग र आकर्षण बढ्दै गएको देखिन्छ।
विद्यार्थीहरुमा मधुमेह नियन्त्रण गर्न अपनाउनुपर्ने खानपान र जीवनशैलीका उपायहरुका बारेमा भने विद्यालय तहबाटै जानकारी गराइन्छ। ह्युमन प्राटिक्स फाउण्डेसन (एचपीएफ) ले बिद्यालयमा आधारित मधुमेह कार्यक्रम सुरु गरेको छ। यो कार्यक्रमले ताप्लेजुङका ३५ वटा विद्यालयलाइ छोएको छ। आफ्नो उपस्थिति रहेका विद्यालयहरुमा एचपीएफले मधुमेह कार्यक्रम लागु गरेको छ।
एचपीएफका मधुमेह कार्यक्रम संयोजक शिबलाल थापा विद्यार्थी जनचेतना प्रवाह गर्ने शसक्त संयन्त्र भएको र विद्यालय तहबाटै मधुमेह र नसर्ने रोग नियन्त्रणका उपाय केन्द्रितमा उनीहरुलाइ अग्रसर गराउन यो कार्यक्रम विद्यालयस्तरमा सुरु गरिएको बताउँछन्। विद्यार्थी आफैंले जानकारी पाएमा आफ्ना अभिभावक र अभिभावक मार्फत टोल समाजका अरु सदस्यसम्म मधुमेह नियन्त्रणका उपाय पुग्ने भएकोले विद्यालयमा आधारित मधुमेह कार्यक्रम निकै प्रभावकारी बन्दै गएको थापाको बुझाइ।
सिँवा मावि लिङखिमका प्रधानाध्यापक ओमनाथ गौतम मधुमेह के हो भनेर विद्यार्थीले पाउने प्रारम्भिक स्वास्थ्य जानकारीलाइ एचपीएफले अभ्यास मात्र नगराएको बरु मधुमेह नियन्त्रण कार्यमा विद्यार्थीको संयन्त्रलाइ माध्यमको रुपमा उपयोग गरेकोमा सन्तुष्ट छन्। विद्यार्थी आफुले सिक्ने र अभिभावकलाइ समेत खानपान र जीवनशैली सुधार्ने उपायका बारेमा जानकारी गराउने गतिलो संयन्त्र रुपमा विद्यार्थीमार्फत अभियान चालेकोमा अपेक्षाकृत नतिजा आएको उनको ठहर छ।
विद्यार्थीले विद्यालयमा पाएको मधुमेह रोकथाम सम्बन्धी ज्ञान घरका सदस्यलाई समेत बाँड्ने गरेका छन्। त्यसको प्रतिफल स्वरुप अभिभावकले समेत मधुमेह रोग,यो रोग लाग्न नदिन अपनाउनुपर्ने जीवनशैली र रहनहसनका बारेमा ज्ञान पाउँदै गएको स्थानीय टेकबहादुर बुढाथोकीको भनाई रहेको छ। विज्ञका अनुसार हाम्रो शरीरमा इन्सुलिन भन्ने हर्मोन हुन्छ। यो हर्मोन पेटमा अर्थात पेङक्रियाजले उत्पादन गर्छ। यसको उत्पादन कम भयो भने या हर्मोनले राम्रोसंग काम गर्ने अवस्था भएन भने रगतमा चिनीको मात्रा बढ्छ।
सामान्यतया रगतमा चिनीको मात्रा बढेपछि यसलाई मधुमेह रोग लागेको भनिन्छ। यसको समयमा सहि उपचार हुन सकेन भने विभिन्न जटिलताहरु ल्याउँछ। विश्वमा ८.६ प्रतिशत मानिसलाई मधुमेह रोग लागेको अनुमान छ। सामान्यतया स्वस्थ मान्छेमा खाली पेटमा रगतको जाँच गर्दा सुगर लेभल १०० भन्दा कम या कुनै पनि बेला अर्थात रेन्डम जाँच गर्दा १४० भन्दा कम हुनुपर्छ।
मधुमेह रोग लाग्यो भन्नलाई खाली पेटको जाँच गर्दा सुगर लेभल १२६ भन्दा माथि र खाना खाएपछि २०० भन्दा माथि पुग्नु पर्छ। यो बीचको लेभल अर्थात खाली पेटमा १०० देखि १२५ सम्मको अवस्था र खाना पछिको १२६ देखि १९९ सम्मको अवस्थालाई प्रि डायबिटिजको अवस्था अर्थात मधुमेह हुने सम्भावना भएको अवस्था भनेर बुझ्नु पर्छ। मधुमेह बच्चा, बयस्क र बृद्ध जुनसुकै उमेरमा लाग्छ। आधुनिक जीवनशैली र खानपानका कारण कम उमेरमै पनि मधुमेह रोग भने देखिन थालेको छ। त्यसको रोकथामका लागि आधुनिक जीवनशैलीको परिवर्तन गर्नु अनिवार्य रहेको विज्ञहरुको भनाई रहेको छ।
प्रकाशित: १ मंसिर २०७९ ०९:०१ बिहीबार