४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

४७ वर्षदेखि भाडाको घरबाट सेवा दिँदै प्रहरी

पूर्वी नवलपरासीको धौवादीमा रहेको इलाका प्रहरी कार्यालय रुद्रपुर ४७ वर्षदेखि भाडाको घरबाट सञ्चालन भइरहेको छ। जिल्लाको पहाडी क्षेत्र भित्रिने मुख्य नाका धौवादीमा रहेको प्रहरी कार्यालयका प्रहरीले वर्षौंदेखि भौतिक संरचनाको असुविधा खेप्दै आएका छन्।  

विसं २०३२ मा स्थापित प्रहरी कार्यालयले आफ्नै भवन नहुँदा अहिलेसम्म पनि भाडाको घरबाट नै सेवा प्रवाह गरिरहेको इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रमुख करमुल्ला धोबीले जानकारी दिए। मासिक चार हजार तीन सय तिरेर भाडाको घरबाट सेवा प्रवाह गर्दै आए पनि सामान्य घटनामा २४ घण्टा नियन्त्रणमा राख्नुपर्ने अवस्था आउँदा थुनुवालाई जिल्ला प्रहरी कार्यालय पठाउनुपर्ने बाध्यता रहेको धोबीले बताए।  

‘कूल १७ जनाको दरबन्दी रहेको प्रहरी कार्यालयमा थुनुवा कक्ष मात्रै होइन सामान्य आधारभूत आवश्यकताका सुविधा पनि छैनन्, प्रहरी कार्यालयका प्रहरी कर्मचारी र थुनुवाले सार्वजनिक शौचालय प्रयोग गर्नुपर्ने अवस्था छ’, उनले भने, ‘सोलारले काम नगर्दा अन्धकार हुन्छ, खानेपानीको समस्या छ, कार्यालय, भान्छा कोठा, सुत्ने कोठा एकै ठाउँबाट चलाउनुपर्ने अवस्था छ।’  

भाडाको भए पनि प्रहरी कार्यालयको छानाबाट हिउँदमा पर्ने शीतसमेत चुहिन लागेपछि त्रिपाल हालेर छोपिएको उनले जानकारी दिए। शान्तिसुरक्षा दिने प्रहरी नै भौतिक संरचनाका दृष्टिले असुरक्षित रहेका छन्। प्रहरी कार्यालयको आफ्नै भवन नहुँदा कार्यसम्पादनमा असर परेको पूर्वी नवलपरासीका प्रहरी प्रमुख भूवनेश्वर तिवारीले बताए।  

प्रहरी कार्यालयका लागि भवन निर्माण गर्न गाउँपालिकाको समन्वयमा राजनीतिक दल र स्थानीयवासीको सहमतिसहित अहिलेको भाडाको घर भए नजिकै जग्गा व्यवस्थापन गरेर गृह मन्त्रालय पठाइएको तिवारीले बताए। बाध्यता भएका कारण जीर्ण वा असुरक्षित संरचनामै बसेर पनि कर्तव्य पूरा गरिरहेको बताउँदै उनले भवनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएकाले छिट्टै प्रहरी चौकीको आफ्नै भवन हुने विश्वास व्यक्त गरे।  रासस

प्रकाशित: २४ कार्तिक २०७९ ०९:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App