१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तनहुँ प्रशासनले भन्योः मान्छे खाने चितुवा भेटे मारेर ल्याउनू

चितुवा नियन्त्रणमा नआएपछि मार्ने आदेश

केही समय अघि तनहुँमा खोरमा परेको चितुवा। तस्बिरः नागरिक

चितुवाले निरन्तर मान्छेमाथि आक्रमण गरेर ज्यान लिन थालेपछि तनहँ प्रशासनले चितुवा मार्न निर्देशन दिएको छ। बारम्बार चितुवाले मान्छेमाथि आक्रमण गरेको र नियन्त्रणमा लिएर पनि रोक्न सक्ने अवस्था नभएपछि मार्नकै लागि निर्देशन दिएको प्रशासनले बताएको छ।  

तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले स्थानीय बासिन्दामा जीउज्यानको सुरक्षाको निश्चिन्तता गर्न पनि चितुवा मार्नुपर्ने अवस्था आएको बताए। लामो समयसम्मको प्रयासबाट समेत चितुवालाई नियन्त्रणमा लिन नसकेको र मानिस तथा पशुमाथि निरन्तर आक्रमण भईरहेकोले मार्नुपर्ने अवस्था आएको बताए। त्रासदीपूर्ण वातावरणबाट जनतालाई मुक्त गर्नका लागि पनि चितुवा मार्नुपर्ने अवस्था आएको उनले बताए।  

‘हिंस्रक नरभक्षी चितुवाको कारण स्थानीयबासिमा निकै नै त्रास बढेको छ,’ अर्यालले भने, ‘नियन्त्रणमा लिने प्रयास नभएको होईन। तर, पासो थापेको खोरमा पनि परेन। कुनै क्षमताले नभेटेपछि मार्ने विकल्प अपनाएका हौ।’ यसअघि पनि चितवन राष्ट्रिय निकुञ्जबाट प्राविधिक बोलाएर नियन्त्रणमा लिने प्रयास भएको उनले बताए।  

‘बन्दीपुर गाउँपालिका र ब्यास नगरपालिकाका केही क्षेत्रका बासिन्दा त्रसित बने। अवस्था जटिल बन्दै गएको छ,’ उनले भने, ‘दिनहुँजसो मान्छेमाथि आक्रमणका घटना भएका छन्।’ गाउँपालिका र नगरपालिकाले समेत चितुवालाई जिउँदै नियन्त्रणमा लिन नसकेकोले मार्नुपर्ने प्रतिवेदन दिएपछि प्रशासनले कदम चालेको उनले बताए। ‘ठाउँठाउँमा खोर थापेका छौ। तर, पनि चितुवा पर्न छाडेको छ। चितुवाको अवस्था पत्ता लगाउन वन कार्यालयलाई पनि भनेका छौ,’ उनले भने।

दुइवर्ष अघि मानवमाथि निरन्तर रुपमा चितुवाले आक्रमण गरेपछि एउटा चितुवालाई नियन्त्रणमा लिएर चितवनस्थित राष्ट्रिय निकुञ्जमा लगेर छाडिएको थियो। त्यही चितुवा फर्केर गाउँ आएको आशंका रहेको प्रजिअ अर्यालले बताए। ‘धेरै संख्यामा चितुवा बढेको अनुमान पनि छ । पहिले पक्रेर लगेको चितुवा फर्केको पनि हुनसक्छ। अहिले निरन्तरजसो मान्छे र पशुमाथि आक्रमण गरेपछि स्थानीय प्रशासन ऐनको अधिकार प्रयोग गरेको हो,’ उनले भने।  

गत मंगलबार बेलुकी तनहुँको ब्यास नगरपालिका–१२ छिर्कनका अभिनव कुँवर (८) लाई चितुवाले घरमै आएर आक्रमण गरेको थियो। भैसी दुहुन गोठमा पुगेकी हजुरआमाको पिछा लागेका कुवँरलाई बेलुकी सवा ६ बजेतिर चितुवाले झम्टेको थियो। हजुरआमा भैसी दुहुँदै थिईन। गोठमा बत्ती थिएन। गोठतिरै खेलिरहेको बेला एक्कासी चितुवाले आक्रमण गरेर अभिनवलाई करिब दुइसयमिटर पर पुु¥याएको थियो। खोजी गर्न गएको गाउँलेको समुहले कुँवरको शव फेला पारेको थियो।

कात्तिक लागेपछि तनहुँको बन्दीपुर र ब्यास नगरपालिका क्षेत्रमा चितुवाको आक्रमण निकै नै बढेको छ। यो अवधिमा दुइजना बालबाबालिको ज्यान पनि गईसकेको छ। गत कात्तिक ४ गते बन्दीपुर गाउँपालिका–३ की ११ वर्षिया बालिकाको चिुतवाको आक्रमणमा परेर ज्यान गएको थियो। चितुवाको आक्रमणले गर्दा अहिले बन्दीपुर र ब्यास नगरपालिकाको सिमा क्षेत्रका बासिन्दा त्रसित छन्। कुनैपनि बेला चितुवाले आक्रमण गर्न सक्ने भनेर स्थानीयबासि बेलुकी परेपछि घरबाहिर निस्कन पनि त्रसित छन्।

जिल्ला वन कार्यालय तनहुँका अधिकृत कोमलराज काफ्लेका अनुसार चितुवालाई पक्राउ गर्न ठाउँठाउँमा खोर राखिएको बताए। उनका अनुसार पोहोर बन्दीपुरमा चारवटा खोर थापिएको थियो। खोरभित्र पशुराखेर चितुवालाई पासो थापेपछि परेको थिएन। यो पटक नयाँ आठवटा खोर बनाएको उनले बताए। ‘घटना घटेको ठाउँको वरिपरि ती खोर राख्ने हो,’ उनले भने, ‘तनहुँमा चितुवाको समस्या निकै नै बढ्यो। बच्चा जोगाउनै सकस भयो। विद्यालय, वनजंगल आउजाउ गर्न त गाह्रो छ नै घरमै आएर आक्रमण गर्दा झनै त्रास बढ्दो छ।’ उनले मानवमाथि आक्रमण गर्ने चितुवाको लोकेसन नै पत्ता लगाउन नसकिएको बताए।  

उनले जिल्ला वन कार्यालयको मात्र क्षमताले नभेटेको बताए। त्यसका लागि स्थानीय तह र प्रदेश सरकारले चाँसो देखाउनुपर्ने उनले बताए। ‘सबैले वन कार्यालयलाई मात्र देखाएर भएन। प्रदेश सरकार र स्थानीय तहले नै चाँसो दिनुपर्छ,’ काफ्लेले भने, ‘हाम्रो क्षमताले नभ्याउने अवस्थामा संघीय सरकार पनि यसका लागि सक्रिय हुनुपर्छ।’

वन कार्यालय तनहुँका अनुसार २०७४ फागुन १ पछि अहिलेसम्मको अवधिमा तनहुँमा चितुवाको आक्रमणका २८ वटा घटना घटेका छन्। चितुवाको आक्रमणमा परेर यो अवधिमा मात्र १४ जना बालबालिकाको ज्यान गएको छ भने १५ जना बालबालिका घाइते भएका छन्। चितुवाको आक्रमणमा परेका ती सबैजसो बालबालिका ११ वर्ष भन्दा मुनिका छन्। अधिकांशलाई चितुवाले घरमै आएर आक्रमण गरेको काफ्लेले बताए। ‘चितुवाको आक्रमणले हैरान बनाएको छ। बालबालिका असुरक्षित बनेका छन्। सम्साँझै घरमै आएर आक्रमण गर्दा त्रास बढाएको छ,’ उनले भने।

चितुवाले सबैभन्दा बढी सताएको बन्दीपुर गाउँपालिका प्रवक्ता शिवकुमार श्रेष्ठले बिहान बेलुकी घरबाहिर निस्कन त्रास भएको बताए। उनका अनुसार फलामे खोरमा चितुवा नपरेपछि काठको खोर थाप्ने तयारी भएको बताए। बन्दीपुरमा पाँचवटा खोर थाप्ने उनले बताए । उनका अनुसार बन्दीपुर–१ मा चारवटा र ३ नम्बर मा १ एउटा गरि पाँचवटा खोर राख्ने तयारी छ।  

‘साह्रै नै समस्या भएपछि हामीले प्रशासन गुहारेका छौ । दिनहुँ बाख्रा र मान्छमाथि आक्रमण भईरहेको छ। सबैतिर असुरक्षा भएपछि चितुवा मार्नका लागि प्रशासनसँग अनुरोध पनि गरेका छौ,’ उनले भने, ‘जंगलमा चितुवा खोज्न गएर भेटिने होईन । भएभरको प्रयास गर्दा पनि नियन्त्रणमा लिन सकिएको छैन।’ उनका अनुसार तनहुँको राजमार्ग क्षेत्रमै बेलाबेला चितुवा निस्कने गरेको छ। ‘सडकमै चितुवा निस्केपछि त घरबाहिर हिडडुल गर्न नै सकिन्न। बालबालिका जोखिममा छन् । कुनबेला कहाँ आक्रमण हुने भन्ने त्रास भयो,’ उनले भने।  

प्रकाशित: १७ कार्तिक २०७९ ०८:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App