२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कपिलवस्तुमा ५ हजार बढीले गरे सामूहिक छठ पूजा

छठी माताको सामूहिक पूजाआजा गर्दै । तस्बिर नागरिक

तराई र मुलुकका विभिन्न भागमा हर्सोल्लासका साथ छठ पर्व मनाइएको छ। छठ मनाउनका लागि भक्तजनलाई सुविधा र सहज पूजा-आराधना गराउन पोखरी, नदी, खोला र खहरेहरू दुलही झैं सिँगारिएका छन् भने व्यवस्थित रूपमा घाट निर्माण गरिएका छन्। पछिल्लो समय छठ हिन्दुहरूको ‘साझा चाड’ मा रूपान्तरण हुँदै गएको छ। छठ पूजामा पहाडी, नेवार समुदायको समेत उल्लेख्य सहभागिता हुन थालेको छ।

कपिलवस्तुका नागरिक संवाददाता किरणमान बज्राचार्यका अनुसार अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै कपिलवस्तुमा हर्षोल्लासका साथ आइतबार छठ पर्व मनाइएको छ। कपिलवस्तु नगरपालिका १ चपरतल्लास्थित सझिीया घाटका रूपमा रहेको जमुहार नदी, बाणगंगा नदीको रामघाटम छठी माताको पूजाआजा गर्दै छठ पर्व मनाइएको हो। रामघाट र जमुहार नदीमा ५ हजार बढीले छठको सामूहिक पूजा गरेको पूजा व्यवस्थापन समितिले जनाएको छ।

यस्तै कृष्णनगर, बहादुरगन्ज लगायतका स्थानका पोखरीमा भक्तजनले सूर्यको पूजापाठ गरी सामूहिक रूपमा छठ पर्व मनाएका हुन्। यस वर्ष गत वर्षको तुलनामा भक्तजनको संख्या दोब्बर थियो। रामघाट नदीवारि र पारि दुवैतर्फ पूजाका लागि भक्तजनको भीड लागेको छ। यस वर्ष भक्तजनको संख्या बढेको पूजा व्यवस्थापन समितिका अध्यक्ष गणेशलाल कर्णले बताए। भक्तजन जम्मा भएर सामूहिक रूपमा पूजासमेत गरेका थिए। पूजाआजाका लागि मधेसी, पहाडी, नेवार समुदाय सहभागी थिए। विशेष पूजाका अवसरमा उनीहरूले सूर्य र छठी माताको आराधनासमेत गरेका थिए।

विराटनगर संवाददाता विनोद सुवेदीका अनुसार विराटनगरमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व मनाइएको छ। छठ पर्वका लागि विराटनगरका खोलाका घाट, नहर, पोखरी लगायतका स्थान सजाइएको छ। विराटनगरको सिंघिया नदीका घाट र किनारा सजाएर झकिझकाउ पारिएको थियो। यस्तै केशलिया नदी, विराटनगरका विभिन्न नहरहरू र पोखरीका डिल सजाइएका छन्।

सूर्यको उपासना गरेर तराई क्षेत्रका समुदायले छठ मनाउने गरे पनि पछिल्ला वर्षमा पहाडी समुदायका भक्तजनले पनि छठ पर्व मनाउन थालेका छन्। विराटनगरमा छठको व्रत बसी घाटमा सूर्यलाई अघ्र्य दिन भक्तजनको भीड लाग्न थालेको छ। छठ पर्व मनाउन घाट व्यवस्थापनका लागि विराटनगर महानगरपालिकाले समेत ध्यान दिँदै आएको छ। महानगरले हरेक वर्ष छठ पर्वका लागि नदीका घाट, नहर र पोखरीहरूको सरसफाइ गर्दै आएको छ। छठ पर्वलाई हिन्दुहरूको प्रमुख पर्वका रूपमा लिँदै प्रदेश १ सरकारले कात्तिक १४ मा सार्वजनिक बिदा दिएको छ।

उदयपुरका महेश्वर चामलिङ राईका अनुसार आइतबार त्रियुगा नदी किनारामा अस्ताउँदो सूर्यलाई अघ्र्य दिई छठ मनाइएको छ। छठका लागि करिब पाँच सय मिटर जग्गामा घाट व्यवस्थापन गरिएको पूजा व्यवस्थापन समितिका सल्लाहकार संयोजक राजकुमार शर्माले जानकारी दिए। शर्माले घाटमा व्यापारिक स्टल १० वटा, एउटा मूर्ति स्टल, एउटा मञ्च कार्यक्रम स्टल र बाँकी पूजा स्टल निर्माण गरिएको बताए। यस वर्षको छठमा लोकसंस्कृति झल्काउने खालका गीतमा खुला नृत्य र गायन प्रतियोगिता आयोजना गरिएको छ। त्यस्तै मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम र छठमा योगदान गर्नेहरूलाई सम्मान कार्यक्रम पनि तय गरिएको शर्माले बताए।

प्रकाशित: १४ कार्तिक २०७९ ०४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App