१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

अवरुद्ध सडक एक्काइस दिनपछि खुल्यो

फाइल तस्बिर

पाल्पाको निस्दी गाउँपालिका–१ स्थित लेखमलाङ सिद्धभन्ज्याङदेखि सहलकोट आनन्दीभन्ज्याङ जोड्ने मोटरबाटो पुनः सञ्चालन भएको छ। गत असोज १८ गतेदेखि अवरुद्ध भएको सडक सोमबारदेखि खुलेको हो।  

यस क्षेत्रमा चार÷पाँच ठाउँमा ठूला–ठूला पहिरो खसेर सडक अवरुद्ध भएको थियो। सडक अवरुद्ध हुँदा निस्दी गाउँपालिकाको कार्यालयमा सेवा लिन रामपुर नगरपालिका हुँदै सवारी साधनमा करिब चार घण्टाको यात्रा गर्नुपर्ने बाध्यता थियो। अहिले सडक खुलेपछि धेरै सहज भएको उपभोक्ता समितिका अध्यक्ष मीनबहादुर सोतीले जानकारी दिए। 

करिब एक दशकअघि खुलेको सडक व्यवस्थित तरिकाले स्तरोन्नति नहुँदा पानी परेपछि निस्दी–१ बाकामलाङका वडावासीले गाउँपालिकाको कार्यालयमा पुग्न रामपुर नगरपालिकाको बाटो भएर जानुपर्ने समस्या बर्सेनि झेल्दै आइरहेको चेतन पुलामीको गुनासो छ।  

नमस्ते रामपुर यातायात प्रालिले बाकामलाङको छपाक्दीसम्म दैनिक जिप सञ्चालन गर्दै आए पनि पहिराका कारण आनन्दीभन्ज्याङसम्म मात्रै सवारी साधन सञ्चालन गर्दै आएको थियो। पहिरो हटाइएपछि गाउँमै सवारी साधनमा आवतजावत गर्न पाउँदा धेरै सहज भएको वडा सदस्य प्रताप सिं थापाले बताउनुभएको छ। रासस

प्रकाशित: ८ कार्तिक २०७९ ०१:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App