१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

नेता भोट माग्न गाउँमा, किसान खेतबारीमा व्यस्त

खेतमा धान काट्दै कैलालीको गेटाका किसान। तस्बिरः पुष्पराज जोशी/नागरिक

प्रतिनिध सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा गाउँको माहोल सपार्न अहिले राजनीतिक दलका नेताहरू गाउँ छिरेका छन्। पार्टीकातर्फबाट प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारहरु माहोल सपार्न गाउँ छिरेका बेला किसान भने खेतबारीमा व्यस्त छन्।  

असारमा मानो रोपेर कात्तिकमा भित्र्याउने किसानहरु अहिले भने खेतबारीमै व्यस्त छन्। ‘चुनाव मंसिरमा आउँदैछ, त्यहीबेला भोट हालौला, अहिले त खेतबारीको फसल भित्र्याउनु पर्‍यो,’ चुरे गाउँपालिकाका मोहन साउँदले भने,‘केही दिनदेखि नेताहरु गाउँमा आउन थालेका छन्, हामीलाई भेला हुन भन्छन्, हामी खेतमा जाने कि तिनको कार्यक्रममा जाने?’ यो बेला खेतमा पाकेका धान भित्र्याउन यहाँका किसानलाई चटारो छ। यो बेला खेतमा लहलह झुलेका धान भित्र्याउन सकिएन भने भोकै बस्नु पर्ने अवस्था आउने बाध्यता रहेको बताउँदै उनले भने,‘चुनाव त मंसिरमा छ, त्यो बेला भोट हालौला, तर अहिले भने हामी खेतबारीमै व्यस्त छौँ।’ सरकारले पनि किसानले धान भित्र्याउने समयमा निर्वाचनको मिति राखेको भन्दै उनले गुनासो पोखे। ‘किसान खेतबारीमा व्यस्त रहेको बेला सरकारले चुनावको मिति राख्यो,’ उनले भने,‘अहिले हामी धान काट्दैछौँ, त्यसपछि खनजोत गरेर गहुँ छर्ने बेला आइसक्छ।’ उनीमात्रै हैनन् अहिले यहाँका किसान धान कटाइमा व्यस्त रहेका छन्।

उम्मेदवार तथा नेता कार्यकर्ताहरु चुनावी कार्यक्रम लिएर गाउँ पस्दै गर्दा किसानहरु खेतबारीमै व्यस्त रहँदा उनीहरुका कार्यक्रमसमेत फितलो हुने गरेका छन्। किसानको खेतबारीको काममा व्यस्त रहेका बेला भने यहाँका केही उम्मेदवारहरु किसानकै खेतबारीमा उनीहरुसँगै धान काटिरहेका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

‘हामीलाई धान काट्नै फुर्सद छैन,’ मसुरियाका किसान गरिबु चौधरीले भने,‘चुनावको बारेमा खासै ध्यानै दिएको छैन।’ यसपालि  धान पाक्ने बेलामा आएको वर्षात्ले केही क्षति पुगेको बताउँदै उनले भने,‘किसानका समस्या सम्बोधन गर्ने नेतालाई यसपालि भोट दिने सोच बनाएका छौँ।’ वर्षौदेखि उही नेतालाई छान्दा किसानका समस्या समाधान नभएको बताउँदै उनले भने,‘यसपालि भने हामी नयाँ अनुहार आओस् भन्ने सोच्दैछौँ।’ 

गाउँमा भोट माग्नका लागि नेताहरु आइरहेको बताउँदै उनले भने,‘गाउँमा दैनिक जसो नेताहरु भोट माग्नका लागि आइरहेका छन्, तर हामी भने खेतमै व्यस्त छौँ।’ केही नेताहरु खेतबारीसम्मै पुग्ने गरेको उनले बताए। ‘केही नेताहरु त भोट माग्न र भेटघाट गर्न खेतबारीमै पुग्न थालेका छन्,’ उनले भने।  

उम्मेदवारसहित आएका नेता कार्यकर्ताहरुले टोल गई टोल भेला गर्नुका साथै गाउँ तथा नगरमा आम भेलाको तयारी गर्न थालेका छन्। निर्वाचनलाई लक्षित गर्दै यहाँका सक्रिय राजनीतिक दलका नेताहरु मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्नुका साथै चुनावी माहोल बनाउन गाउँ टोल छिरेका हुन्।

प्रकाशित: ७ कार्तिक २०७९ १३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App