२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

झिनियाँको माग थेग्नै गाह्रो

बेनी नगरपालिका–८, हस्पिटलचोककी महिला उद्यमी भुलकुमारी रोका अहिले तिहार पर्वका लागि झिनियाँ बनाउने काममा निकै व्यस्त छिन्। रोकाले अन्य सिजनमा माग अनुसारको रोटी बनाउने गरेपनि तिहारको भाइटीकामा सप्तरङ्गी झिनियाँ कोसेलीको रुपमा दाजुभाइलाई खुवाउने परम्परा रहेकाले झिनियाँको माग बढ्न थालेपछि झिनियाँ रोटी बनाउन भ्याइनभ्याइ भएको छ।  

तिहारको नजिकै रोकालाई सधैँ झिनियाँ रोटीको माग आउने भएकाले अहिले बिहानैदेखि व्यस्त हुने गरेकी छन्। तिहारलाई लक्षित गरी महिना झिनियाँ रोटी बनाउन थालेको रोकाले बताइन्। विशेषगरी तिहारको बेलामा जिल्ला बाहिरबाट समेत झिनियाँको माग अत्याधिक हुने भएकाले झिनियाँ रोटी बनाइराखेको उद्यमी रोकाको भनाइ छ।  

‘यतिबेला झिनियाँ तयार गरेर सुकाउनुपर्छ, ‘ग्राहक लिन घरमै आउँछन्’, रोकाले भनिन्। दशैंको अवधिमा सेतो रङको झिनियाँ बढी मात्रामा बिक्री हुने भए पनि तिहारको समयमा सात रङको झिनियाँको माग आउने गरेको छ। २०६० सालबाट झिनियाँ बनाउने काम सुरु गरेकी उद्यमी रोकाले अहिले थप दुई जनाले संयुक्त रुपमा झिनियाँ बनाइरहेका छन्। पश्चिम म्याग्दीको मंगला गाउँपालिका–५, अर्मनको नेटा स्थायी घर भएकी उद्यमी रोकाले सुरुमा पाँच हजार रुपैयाँको मेसिन खरिद गरेर झिनियाँ बनाउन थालेकी महिला उद्यमी रोकाले हाल ७० हजार रुपैयाँमा बिजुलीबाट चल्ने आधुनिक मेसिन जडान गरेको बताइन्।  

एक बोरा चामलबाट पाँच हजार रुपैयाँभन्दा बढीको झिनियाँ बनाउन सकिने महिला उद्यमीहरु बताउँछन्। उद्यमी रोका जस्तै रघुगंगा गाउँपालिका–५, झीँ गाउँका ४ जना महिलासहित मंगला–२, हिदीको हुमादेवी फगामीको समूह पनि बिहान ४ बजेदेखि नै उठेर झिनियाँ निर्माणमा व्यस्त हुने गरेका छन्। प्रति दर्जन झिनियाँलाई होलसेल मूल्य एकसय ३० रुपैयाँदेखि ५० सम्म बिक्री गर्ने गरेको छ।  ‘माग थेग्नै गाह्रो छ,‘उत्पादनभन्दा धेरै माग आउन थालेपछि यसपटक लगानी बढाएका छौ’ उद्यमी फगामीले भनिन्।  

महिला उद्यमीहरु तिहार आएसँगै झिनियाँ र सेलरोटी बनाउने तयारीमा जुटेका छन्। निकै मेहेनतका साथ बनाइने झिनियाँ खाँदा स्वादिलो हुन्छ। म्याग्दीमा उत्पादित झिनियाँ जिल्लाको विभिन्न स्थानका साथै बागलुङ, पर्वत, पोखरा हुँदै काठमाडौंको बजारसम्म पुग्ने गरेको महिला उद्यमीको भनाइ छ। यस्तै बेलायत, अमेरिका, कोरिया, र अस्ट्रेलियालगायत देशमा जाने नेपालीहरुले झिनियाँ खरिद गरेर लैजाने गरेका छन्। सदरमुकाम बेनीबजारमा मात्रै हस्पिटचोक, शिक्षामार्ग, न्युरोड, हुलाकचोक, बैंकरोड, मङ्गलाघाट क्षेत्रका महिलाहरुले झिनियाँ बनाउँदै आइरहेका छन्। थोरै लगानी र कम समयमा पनि झिनियाँ बनाउन सकिने भएपछि म्याग्दीका महिलाहरुको झिनियाँ उत्पादनतर्फ आकर्षण बढेको छ।

प्रकाशित: ६ कार्तिक २०७९ ०९:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App