३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

इच्छाकामना मन्दिर पुनःनिर्माणको अन्तिम चरणमा

चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको इच्छाकामना मन्दिरको  पुनः निर्माणको काम अन्तिम चरणमा पुगेको छ। ढुंगा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण सुरु गरिएको हो।

२०७५ साल असार ७ गते शिलान्यास गरेर काम सुरु भएको मन्दिरको छाना छाउन बाँकी रहेको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले बताए। तामाको छाना बनाउन भक्तपुरमा रहेका कालीगडलाई जिम्मा दिइएको छ।

यसबाहेक मन्दिरमा रङरोगन, ढुंगा बिच्छाउने र पर्खाल लगाउने काम बाँकी छ। बजेट अभावका कारण बाँकी काम निर्माण सम्पन्न गर्न नसकिएको उनले बताए। ‘गाँउपालिका र प्रदेश सरकारको झन्डै रु दुई करोडको लागतमा मन्दिर निर्माणमा खर्च भइसकेको छ, उनले भने, ‘चारपाँच लाख चन्दादाताबाट पनि बटुलिएको छ।’

मन्दिर निर्माणका लागि स्थानीयले श्रमदान समेत गरेको उनको भनाइ थियो। यस वर्ष प्रदेश सरकारले रु.१० लाख विनियोजन गरेको छ भने गाउँपालिकाले पनि बजेट विनियोजनको आश्वासन दिएको छ।

पृथ्वी राजमार्गअन्तर्गत फिस्लिङबाट १८ किलोमिटर कच्ची सडक र छ सय मिटर हिंडेपछि इच्छाकामना मन्दिर पुग्न सकिन्छ। मन्दिर निर्माण समितिका उपाध्यक्ष यानबहादुर गुरुङले बर्खाको समयमा गाडी नचल्ने र बोकेर सामान लैजानुपर्दा ढुवानी महँगो पर्ने गरेको बताए। उनले बजेटको सुनिश्चितता भए यस वर्ष मन्दिर निर्माण सम्पन्न हुने बताए। कोरोना र आर्थिक समस्याले मन्दिर निर्माणमा ढिलाइ भएको उनको भनाइ छ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले मन्दिर निर्माणका लागि आवश्यक बजेट पालिकाले विनियोजन गर्ने बताए। उनले मन्दिर नजिकै पाहुना घरसमेत निर्माण भइरहेको जनाए, ‘मन्दिरमा लिफ्टबाट खानेपानीको व्यवस्था गरिएको छ। जमिन संरक्षण र प्रवेशद्वारा निर्माणलाई पनि गाँउपालिकाले प्राथमिकतामा राखेको छ’, उनले भने। इच्छाकामना गाँउपालिका पर्यटकीय सम्पदाले भरिपूर्ण रहेको भन्दै उनले यस वर्षदेखि प्रचारप्रसारलाई बढाइने बताए। शक्तिखोर फिस्लिङ सडक निर्माण सम्पन्न भएपछि सहज रूपमा इच्छाकामना मन्दिर पुग्न सकिन्छ।

गोरखाको शहीद लखन गाउँपालिकाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे इच्छाएको पूरा हुने धार्मिक विश्वास छ। मनकामना माईको सात दिदीबहिनीमध्ये एक बहिनी इच्छाकामना रहेकोे मन्दिरका पुजारी हर्कबहादुर गुरुङले बताए। उनका अनुसार कहिलेबाट यहाँ इच्छाकामना देवीको पूजा गर्न थालिएको हो, टुंगो नभए पनि धेरै वर्षअघि उनका पुर्खाले गाईबाख्रा हराउन थालेपछि गोठालाले भेटेको मूर्तिमा पूजा गर्न सुरु गरेका थिए। ‘मन्दिरमा पूजा गर्न थालेपछि गाईबाख्रा हराउन छाड्यो। अन्य गाउँलेले पनि पूजाआजाको सुरुआत गरे। इच्छाकामना मन्दिर परिसरमा शिवालयको मन्दिर र गणेशको मूर्ति पनि बनाइयो’, उनले भने।

प्रत्येक वर्ष मंसिरको ठूली एकादशीपछि पञ्चमी तिथिमा इच्छाकामनामा ठूलो मेला लाग्छ। मेलामा राँगा, बोका, हाँसको अण्डा र कुखुराको बलि दिइन्छ। घण्ट र त्रिशूल पनि चढाइन्छ। मेलामा देशका विभिन्न स्थानबाट दर्शनार्थी आउँछन्। रातभर नाचगान र रमाइलो गरेपछि बिहान पूजाआजा गर्ने प्रचलन छ।

इच्छाकामना मन्दिर समुद्री सतहदेखि एक हजार आठ सय मिटरको उचाइमा रहेको छ। इच्छाकामनाको वरपर जंगलले ढाकेको छ। फागुन/चैत ढकमक्क फुलेको लालीगुराँसले वरिपरिको वातावरण रंगीन बन्छ। वनपाखा फूलले ढकमक्क हुन्छन्।  इच्छाकामनाबाट सफा मौसममा हिमाली शृङ्खला मनास्लु, गणेश, माछापुच्छ्रे«सम्म देख्न सकिन्छ।

मोटरबाटो खुलेपछि पछिल्लो समय मनकामना आएका दर्शनार्थी इच्छाकामना पनि आउने गरेको पुजारी गुरुङले बताए। दर्शनार्थी तथा पर्यटकको आवागमन बढ्दै आएपछि इच्छाकामनामा होटल समेत खोल्ने तयारी गरिएको छ।

प्रकाशित: ३ कार्तिक २०७९ ०४:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App