२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

जोशीलाई राष्ट्रिय सम्मान

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्। प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाको प्रांगणमा राखिएको जोशीको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान प्रकट गरेका हुन्।

जोशीको आइतबार बिहान निधन भएपछि श्रद्धाञ्जलीका लागि पार्थिव शरीर ललितपुर महानगरपालिकाको प्रांगणमा राखिएको थियो। जोशीको सम्मानमा नेपाल प्रहरीको एक टुकडीले सलामी दिएको थियो। गृह मन्त्रालयले जोशीको पार्थिव शरीरलाई ‘राष्ट्रिय सम्मान’का साथ बिदाइ गर्ने निर्णय गरेको थियो।  

जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले एक दिन सार्वजनिक बिदा दिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक बिदा दिने निर्णय गर्ने बताए। तर सरकारले कहिले बिदा दिने भन्ने निर्णय गरिसकेको छैन। ‘शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोकको रूपमा एक दिन राष्ट्रिय बिदा दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रधानमन्त्रीसमक्ष प्रस्ताव गरिसकेको छ,’ उनले भने, ‘यसबारे आधिकारिक सूचना सरकारी माध्यमबाट आउनेछ।’

अभिभावक गुमाउँदा पीडा: राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृतिविद् सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गर्दै देशले अभिभावक गुमाएकोमा पीडाबोध भएको बताएकी छन्। राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल  

ट्विटरमार्फत जोशीको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेकी हुन्। ‘वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको छ,’ उनले  

ट्विटरमा लेखेकी छन्, ‘उहाँको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको अजस्र स्रोत हो। अमर सत्यमोहनप्रति हार्दिक श्रद्धाञ्जली!’  

उत्प्रेरणाको स्रोत: दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि शताब्दी पुरुष जोशीको निधनको खबरले स्तब्ध बनाएको बताएका छन्। ‘हार्दिक श्रद्धाञ्जली! नेपाली भाषा, साहित्य र संस्कृतिका धरोहर शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा दुःखद निधन भएको खबरले हामी सबै नेपालीलाई स्तब्ध बनाएको छ,’ उनले आफ्नो फेसबुकमा पोस्ट गरेका छन्, ‘उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।’ उनले अगाडि लेखेका छन्, ‘नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाई स्थापित गर्न उहाँले गर्नुभएको योगदान सम्पूर्ण नेपालीका लागि चिर स्मरणीय रहनुका साथै उहाँको सामाजिक क्रियाशीलता विश्वभरिका मानव समुदायलाई उत्पे्ररणाको स्रोत बनेर रहनेछ।’

नेपाली जनताले जोशीको योगदान र क्रियाशीलताको सदा उच्च सम्मान गरिरहने विश्वास आफूले लिएको  

दाहालले बताएका छन्। दाहालले ललितपुर महानगरपालिकाको प्रांगणमा पुगेर पनि जोशीलाई श्रद्धाञ्जली दिएका थिए।

नेपालीले भुल्ने छैनन्: भट्टराई

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि शताब्दी पुरुष जोशीको योगदान नेपाल र नेपालीले कहिल्यै नभुल्ने बताएका छन्। उनले ट्विट गरेका छन्, ‘ऐतिहासिक व्यक्तित्व सत्यमोहन जोशी अब हामीबीच रहनुभएन। जीवनको अन्तिम क्षणसम्म बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक नेपालको यथार्थ गहन अध्ययन र अनुसन्धानका साथ सबै नेपालीलाई बुझाउने र सिकाउने उहाँको योगदानलाई नेपाल र नेपालीले कहिल्यै भुल्ने छैनन्। हार्दिक श्रद्धासुमन!’

प्रकाशित: ३१ आश्विन २०७९ ०१:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App