८ वैशाख २०८१ शनिबार
समाज

पहिरोपछि ४१ दलित परिवार विद्यालयमा

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७ खाँचिकोटको भुजुंगेमा पहिरोको जोखिमका कारण ४१ दलित परिवार विस्थापित बनेका छन्। उनीहरू अहिले विद्यालयमा बसेका छन्।

पहिराको उच्च जोखिमका कारण विस्थापित बनेका ४१ दलित परिवारका एक सय ६१ जना विस्थापित बनेका वडाध्यक्ष चुराबहादुर केसीले बताए। उनीहरूलाई स्थानीय चन्द्रप्रभा माध्यमिक  विद्यालयको भवनमा राखिएको छ। चार गर्भवती र चार सुत्केरीसमेत विद्यालयमा बसेका छन्।

पहिरोले गाउँका केही घर भत्किएका छन्। केही घर उच्च जोखिममा छन्। सिंगो गाउँका बासिन्दालाई अन्यत्र सार्नुपर्ने अवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ उपाध्यायले बताए।

विद्यालयमा बसेका पहिरोपीडितलाई उद्योग वाणिज्य संघ र नेपाल रेडक्रस सोसाइटीले राहत प्रदान गरेको छ। उद्योग वाणिज्य संघ अर्घाखाँचीले चामल, दाल, तेल, नुन लगायतका खाद्य सामग्री पहिरोपीडितलाई हस्तान्तरण गरेको उद्योग वाणिज्य संघका महासचिव तुल्सी खनालले बताए। पहिरोमा परेर घर गुमाएका भुजुंगेका दलित परिवारलाई २० थान कम्मल र २० थान म्याट प्रदान गरेको नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची शाखाका सभापति कुशल भुसालले जनाए।

अर्घाखाँचीमा अविरल वर्षाका कारण बढेको खोलाले बगाएर एकजनाको मृत्यु भएको छ। एक बालक खोलाले बगाएर बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए। पहिरोले अर्घाखाँची जिल्लामा एक सय ११ परिवार विस्थापित भएका छन्। उनीहरुलाई विद्यालय, आफन्तको घर तथा सार्वजनिक स्थानमा बसोबासको व्यवस्था मिलाइएको प्रजिअ घिमिरेले बताए। रासस

प्रकाशित: २७ आश्विन २०७९ ०४:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App