२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

दशैं अवधिभर कर्णालीमा दुर्घटना र प्राकृतिक विपत्तिमा परेर २३ को मृत्यु

कर्णालीमा दशैंको अवधिमा सडक दुर्घटना र प्राकृतिक विपत्तिमा परेर २३ जनाको मृत्यु भएको छ। यो वर्षको दशैंमा कर्णालीलाई सडक दुर्घटनासँगै प्राकृतिक विपत्तिले पनि मानवीय र भौतिक क्षति पुर्‍यायो।  

कर्णालीमा असोज ९ गतेयता सडक दुर्घटनामा परेर १४ जनाले ज्यान गुमाए। कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा ठूलो क्षति सल्यानमा भयो। बाँकेको ढकेरीमा आफन्तको विवाहमा सहभागी भएर घर फर्कने क्रममा असोज १२ गते विहान साढे तीन बजेतिर सल्यानको कपुरकोट गाउँपालिका–३ मुलपानीस्थित राप्ती राजमार्गमा रा१ज ५६३ नम्वरको जिप दुर्घटना हुँदा एकै ठाउँका नौ जनाको मृत्यु भयो।

सडकबाट १५० मिटर तल खसेको जीपमा सवार चालक जलबाँङका २१ वर्षीय जीतबहादुर बोहोरा, ३७ वर्षीया धर्मा ओली, ४० वर्षीय टोपबहादुर ओली, ११ वर्षका वशन्त ओली, ३० वर्षका सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षीया कुमारी ओली, ३५ वर्षीय ललित ओली र ३५ वर्षीय तिलक ओलीको मृत्यु भयो।

सल्यानकै कुमाख गाउँपालिका–७ जिमालीमा असोज १५ गते भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भयो। प्रदेश प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार डुमकोटबाट शारदा नगरपालिका–११ मा पर्ने खैराबाङ मन्दिरमा दर्शन गर्नको लागि जाँदै गरेको रा१ज ७९८ नम्वरको

जीप उकालोमा ब्याक गर्ने क्रममा सडकबाट १०० मिटर तल खस्दा कुमाख गाउँपालिका–७ डुमकोटका ३९ वर्षीय मानबहादुर पुन र १४ वर्षीया एनका पुनको घटनास्थलमै मृत्यु भयो। दुर्घटनामा परेर कुमाख गाउँपालिका–३ का २३ वर्षीय अर्जुन मगर, २३ वर्षीया सुनिता बोहरा पुनमगर, १५ वर्षीय तिलक गोसाई, ४९ वर्षीय गंगबहादुर पुन, ३३ वर्षीया अनिता पुन, अनिताको छोरा ६ वर्षको जीवन पुनसहित १९ जना घाइते भए।  

‘दशैं अवधिमा यो वर्ष २६ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भयो,’ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता श्रेष्ठले भने, ‘ठूला सवारी–साधन दुर्घटना नभएकाले मानवीय क्षति कम हुन पुग्यो।’ अघिल्लो वर्ष दशैं अवधिमा कर्णालीमा ६३ जनाले ज्यान गुमाएका थिए। प्रवक्ता श्रेष्ठका अनुसार २६ वटा सवारी दुर्घटनामा परेर ११ पुरुष, एक महिला, एक बालक र एक बालिकाको मृत्यु भयो। यस्तै दुर्घटनामा परेर ३२ जना गम्भीर घाइते र ४३ जना सामान्य घाइते भए।  

पहिरोले सातको मृत्यु

यहीँ अवधिमा कर्णालीमा प्राकृतिक प्रकोपमा परेर नौ जनाले ज्यान गुमाएका छन्। जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ बारेकोटडाँडामा पहिरोमा परेर सात जनाको मृत्यु भएको छ। शनिबार विहान ४ बजेतिर पहिरोले स्थानीय गणेशबहादुर शाहीको घर पुर्दा ओत लाग्न आएका छिमेकीसहित सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा परेका दुईको उद्दार गरिएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलका अनुसार पहिरोमा परेर घरधनी ५५ वर्षीय गणेशबहादुर शाही, उनका २२ वर्षीय छोरा रमेशबहादुर शाही, बुहारी २२ वर्षकी पानसरा शाही, आठ वर्षीय नाति अनमोल शाही, पाँच वर्षीय नाति मिलन शाही, २४ वर्षीय सुरेन्द्र हमाल र २२ वर्षीया विद्या शाहीको मृत्यु भएको हो।

प्रहरीका अनुसार पहिरोमा परेका ५० वर्षीया सरस्वती हमाल र रामबहादुर हमालको उद्दार गरेर स्थानीय मेडिकलमा उपचार भइरहेको छ। आफ्नो घर पहिरोको जोखिममा भएपछि हमाल परिवार शाहीको घरमा शुक्रबार बास बस्न गएको थियो।  

हिमपातमा परेर दुई भरियाको मृत्यु

डोल्पामा हिमपातमा परेर दुई जना भरियाको मृत्यु भएको छ। डोल्पाको छोइला लेकमा हिमपातमा परेर एक भरिया र रिग्मो लेकमा अर्का एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ठुलीभेरी नगरपालिका–९ का ४६ वर्षीय कर्णबहादुर डाँगीको शुक्रबार मृत्यु भएको हो। दुई जना विदेशीसहित असोज १० गते डोल्पा सदरमुकाम दुनै हुँदै तिन्जे पुगेर फर्कने क्रममा शुक्रबार साढे तीन बजेतिर डोल्पोबुद्ध गाउँपालिका–३ स्थित छोईला लेकमा हिमपातमा परेर उनको मृत्यु भएको हो।  

यस्तै शनिबार अर्का एक भरियाको पनि हिमपातमा परेर मृत्यु भएको छ। दुई जना डेनिस नागरिकसहित छ जनाको भ्रमण टोलीमा रहेका ठुलीभेरी नगरपालिका–७ जुफालका ३३ वर्षीय नरेन्द्र विकको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शे–फोक्सुण्डोमा निरन्तर भइरहेको हिमपातको कारण चिसो हुँदा रिग्मोमा उनको शनिबार साढे १० बजेतिर मृत्यु भएको हो। प्रहरीका अनुसार घटनास्थल पुग्न दुई दिन नजिकको प्रहरी चौकीबाट दुई दिन हिँड्नुपर्छ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता श्रेष्ठका अनुसार यो अवधिमा खोलाले बगाउँदा तीन जना वेपत्ता भएका छन्। ‘दैलेखमा एक र जुम्लामा २ जना बेपत्ता छन्,’ उनले भने, ‘बाढीपहिरोले कर्णालीमा २८ वटा पशु चौपायाको पनि मृत्यु भएको छ।’ यस्तै सल्यानमा चार र कालिकोटमा एक घर भत्किएका छन्।

सडक अवरुद्ध

अबिरल वर्षाका कारण कर्णालीका मुख्य राजमार्ग र सहायक सडकहरु पहिरोका कारण अवरुद्ध भएका छन्। पहिरोका कारण कर्णाली, भेरी र राप्ती राजमार्गका साथै सहायक सडकहरु भएका हुन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार भेरी करिडोर अन्र्तगत सुर्खेतको गुर्भाकोट नगरपालिका–९ को पोखरे, कुरिले र जुम्लीभीरमा पहिरो गएको छ। यस्तै जाजरकोटको शिवालय गाउँपालिका–१ र भेरी नगरपालिका–१३ मा पहिरो गएको छ।  

राप्ती राजमार्ग अन्र्तगत रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ मा पहिरो जाँदा उक्त राजमार्ग दुई दिनदेखि ठप्प छ। अविरल वर्षाका कारण कर्णाली राजमार्ग पनि विभिन्न ठाउँमा पहिरोले अवरुद्ध भएको छ। कर्णाली राजमार्ग अन्र्तगत दुल्लूको गोठखोलामा ठूलो पहिरो गएको छ। मदन भण्डारी राजमार्ग अन्र्तगत सुर्खेत–सल्यान खण्ड पनि अवरुद्ध भएको छ भने रातानाङ्ला–धरमपोखरा सडक खण्डका विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध गरेको छ।

प्रकाशित: २२ आश्विन २०७९ ११:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App