७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

नेटुवा समुदायलाई छैन दशैँको रौनक

वरिपरि पक्की घर, लटरम्म धान झुलेका फाँट, भित्री सडक भए पनि पक्की बाटो तर यही परिवेशमा रहेका छन् नेटुवा समुदायका एक दर्जन बढी फुसका घर।

यी नेटुवा जाति दशकौँदेखि सरकारी जग्गामा फुसका घर बनाएर बसेका छन्। कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ प्रगतिनगरमा सो समुदायको बसोबास छ। नेपाली हिन्दूहरूको महान् पर्व वडादशैँको चहलपहल चारैतिर बढिरहँदा सो समुदायमा भने दशैँको उल्लास छैन।

मधेसी समुदायको दलित जातिको रुपमा परिचित नेटुवाले विजयादशमी पर्व सुनेका छन् तर, अझै मनाएका भने छैनन्। सो समुदायमा वडादशैँको टीका नलगाए पनि नवदुर्गाभर हर्षौल्लास छाउने गरेको छ। सो समुदायमा भने चाडपर्वले रौनकले छुन सकेको छैन।

उमेरले चालिस काटेका महेन्द्र नटुवाले बडादशैँ आफूहरूका लागि कुनै रौनकको पर्व नभएको बताउँछन्। सधैँ एक छाक कसरी खाने भन्ने पिरलोमा रहेका उनी भन्छन्, “एक छाक कसरी खाने चिन्ता यसैमा छ, के को दशैँ आउनु।”  दशैँ कसरी मनाउने भन्ने गुनासोभन्दा बढी गुनासो राज्यसामु उनको छ। उनी भन्छन्, “हामीहररू राज्यबाटै सबैभन्दा बढी अपहेलित भएका छौँ।” सरकारसँग अल्पसङ्ख्यक जातिको सूचीमा राख्न माग गर्न थालेको तीन दशक बित्यो उनले भने, “राज्यले अझै सुनेको छैन।”

यही माग लिएर तीन पटक सिंहदरबार धाएको उनले सुनाए। हातमा नागरिकताको प्रमाणपत्र बोकेर गृहमन्त्रालयको दैलो ढकढकाउन अधिकारको लागि पुगेका उनी बताउँछन्। पैतालीस वर्षीय दिलीप नेटुवाले राज्यले आफूहरूलाई अल्पसङ्ख्यक जातिको सूचिमा राखेर केही सहयोग गरे धेरै चाड खुसीमा बित्ने सुनाए। न गाँस, न बाँस, न जग्गा जमिन उनले भने, “हामी सबैभन्दा पीडित छौँ, राज्यले हाम्रो माग कहिल्यै सुनेन।”

निरास मुद्रामा उनी भन्छन्, “गरिब भएर जिउनुको पीडा राज्यको अहोदामा बस्नेलाई के थाहा।” थर नेटुवा भएको नागरिकता बनाए पनि आफूहरू पथ्थरकट्टाभन्दा तल्लो जाति भएको उनको दाबी छ। “हामीभन्दा पथ्थरकट्टा उपल्लो जाति हो”, उनले भने, “हामीले छोएको पानी पनि खाँदैनन् पथ्थरकट्टा।” पथ्थरकट्टालाई राज्यले अल्पसङ्ख्यकको सूचीमा राखेर सरकारी सेवा सुविधा दिएको छ तर हामीलाई दिएन उनले भने, “सरकारी सुविधा माग्न जाँदा किन दिँदैनन्” उनी प्रश्न गर्छन्, “राज्यले भत्ता दिए दशैँ पर्व राम्रो मानिन्छ।”

दशैँमा वरिपरिका अरु समुदायले राम्रो लाउने, मिठो खाने गरिरहँदा यहाँका सो समुदायका मानिस भने दिनभरि भिक्षा मागेर पेट पाल्ने योजनामा छन्। पुरुषले सर्प नचाएरै भिक्षा माग्ने गरेका छन् भने महिला तथा बालबालिकाले भिक्षा मागेर ज्यान पाल्दै आएका छन्। जिल्लामा झण्डै तीन सयको हारहारीमा नेटुवा जातिको बसोबास छ।

प्रकाशित: १७ आश्विन २०७९ ०२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App