८ वैशाख २०८१ शनिबार
समाज

महानगरले भत्कायो बांगेमुढाको ‘त्वाःछेँ’

काठमाडौं महानगरपालिकाकाले बांगेमुढास्थित सार्वजनिक घर भत्काएको छ। यो घरसम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन छ। काठमाडौं महानगरपालिका–२५ बांगेमुढास्थित ‘त्वाः छें’ घर महानगरपालिकाले शुक्रबार डोजर लगाएर भत्काएको हो। वडा २५ ले बिहीबार घर खाली गर्न २४ घन्टे सूचना जारी गरेको थियो। म्याद गुज्रिएपछि शुक्रबार दिउँसो घर भत्काइएको हो।  

वडाको सूचनापछि शुक्रबार बिहानैदेखि स्थानीय विरोधमा उत्रिएका थिए। तर महानगरपालिकाले प्रहरी बल लगाएर घर भत्काएको हो।

सार्वजनिक जग्गामा बनाइएको उक्त घर सम्बन्धमा वडा २५ कार्यालय र स्थानीयबीच पहिलादेखि विवाद रहिआएको छ। स्थानीयले उक्त घर सार्वजनिक नै रहनुपर्ने दाबी गर्दै आएका छन् भने वडा कार्यालयले उक्त घर रहेको जग्गामा वडा भवन बनाउने तयारी गरिरहेको छ। विवादकै क्रममा स्थानीयले सर्वोच्च अदालतमा दायर मुद्दा विचाराधीन अवस्थामा छ। त्वाः छेँ समितिका अध्यक्ष प्राध्यापक रमेश श्रेष्ठका अनुसार अदालतमा विचाराधीन घर महानगरपालिकाले दादागिरी शैलीमा भत्काएर कानुनी राज्यको उपहास गरेको छ।  

नेपालभाषा मंकाः खलःको पूर्वकार्यालय रहेको उक्त घर नेपाल जनजाति महासंघ स्थापना भएको ऐतिहासिक घर रहेको स्थानीय अस्मित मल्लले बताए। उनले काठमाडौं महानगरपालिकाकाले अदालतको आदेशलाई नै बेवास्ता गर्दै घर भत्काएको भन्दै स्थानीयले महानगरपालिका र वडा समितिविरुद्ध चाँडै नै अदालतको मानहानिसम्बन्धी मुद्दा दर्ता गर्ने बताए। वडा २५ का अध्यक्ष राजेश डंगोलले भने काठमाडौं महानगरपालिकाको नीतिअनुसार नै घर भत्काएको प्रतिक्रिया दिएका छन्। अदालतको आदेश वडा कार्यालयमा हालसम्म नआएको बताउँदै उनले लालपुर्जा र नक्सा नभएको घर भत्काउने महानगरको नीति भएको प्रस्ट पारे। 

प्रकाशित: १५ आश्विन २०७९ ०२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App