८ वैशाख २०८१ शनिबार
समाज

एनएलएसआईपी पीडित कृषक भन्छन्: राज्यले सहयोग गर्छु भनेर कंगाल बनायो

युवा व्यवसायी दीपक तिमिल्सिनाले सञ्चालनमा ल्याएको पोखरा–१५ स्थित डि जानकी एग्रो फार्म स्थल।

पोखरा–९ नयाबजार निवासी कृषक दीपक तिमिल्सिना दूध उत्पादनमा स्थापित कृषक हुन्। उनको जानकी एग्रो फार्म पोखरामा चल्तिको फार्ममा पर्छ। तर विश्वबैंकको अनुदानमा नेपाल लाईभस्टक सेक्टर ईन्नोभेसन आयोजना (एनएलएसआईपी)को अनुदान पाउने आशामा लगानी बढाएका उनी अहिले आर्थिक चपेटामा फसेका छन्। 

एनएलएसआईपीले झण्डै दुई तिहाई अनुदान दिने भनेपछि चलिरहेको फार्म भत्काएर २ करोड खर्चिएर फार्म स्तरोन्नती गरेका उनी अहिले एनएलएसआईपीले दिने भनेको अनुदान नदिएपछि पुर्पुरो समातेर बसिरहेका छन्।

तिमिल्सिनाजस्तै कास्कीको अन्नपूर्ण गाउँपालिका–१ का किसान घनश्याम दाहालपनि अहिले बिचल्लीमा परेका छन्। उनलेपनि तिमिल्सिनालेजस्तै एनएलएसआईपीबाट अनुदान पाउने आशामा भईरहेको फार्म स्तरोन्नती गरे। झण्डै डेढ करोडको लागतमा नया फार्म सञ्चालनमा ल्याउने तयारी स्वरुप फार्म स्तरोन्नती गरेका उनको भौतिक प्रगति ९० प्रतिशत भएको छ तर जसले अनुदान दिन्छु भनेको हो उसैले अनुदानको भुक्तानी रोकेपछि पुर्पुरोमा हात राखेर बस्नुपर्ने स्थितिमा पुगेका छन्।

तिमिल्सिना, दाहालमात्र होईन नेपालका ३ सय ७९ कृषक भईरहेको फार्म डुबाएर पुर्पुरोमा हात राखेर बसिरहेका छन्। त्यसमध्ये गण्डकी प्रदेशका ८१ कृषक छन्। विश्वबैंकको सहयोगमा नेपाल सरकार, कृषि मन्त्रालयद्वारा सञ्चालित एनएलएसआईपी आयोजनाले कृषिलाई आधुनिकीकरण गर्दै दूध तथा मासुमा आत्मनिर्भर बनाउने अभिायन अन्तर्गत नेपालका समूह, सहकारी तथा नीजि क्षेत्रलाई अनुदान दिने कार्यक्रम सञ्चालन गर्‍यो। जसमा कृषकहरुलाई आह्वान गरेर फार्म छनौट गरिएको एनएलएसआईपी विकेन्द्रीकृत आयोजना सहयोग ईकाई, आयोजना समन्वय प्रमुख डा.रेशमराज ज्ञवालीले जानकारी दिए।  

छनौट भएका फार्महरुले सम्झौता अनुसार भुक्तानी लिन नेपाल सरकारबाट मान्यताप्राप्त बैंकमार्फत ऋण लिएको कागजपत्र पेश गर्नुपर्ने प्रावधान छ। सोहि अनुसार किसानहरुले विभिन्न बैैंकबाट ऋण लिए। तर भुक्तानीको अन्तिम समयमा पूर्वका एक किसानले नीजि फार्म छनौटमा रकमको चलखेल भएको भन्दै सर्वोच्चमा मुद्दा हाले। 

सोहि मुद्धामा सर्वोच्चले नीजि फार्महरुलाई तत्काल भुक्तानी नदिन अन्तरिम आदेश जारी ग¥यो। जसका कारण सम्झौता गरेरपनि किसानहरुले भुक्तानी पाएनन्। र उनीहरु अहिले राज्यबाट भुक्तानी नपाउने स्थितिमा मात्र पुगेका छैनन् भईरहेको फार्म स्तरोन्नती गर्दा लिएको ऋणको ब्याज र किस्ता तिर्न नसक्दा पुर्पुरोमा हात राखेर बसिरहेका छन्।

नखाको विष लाग्ने भयो,‘पीडित किसान दीपक तिमिल्सिना भन्छन्,‘हामीले चलिरहेको फार्म स्तरोन्नतीका लागि भन्दै बैंकमा ऋण लियौं तर एनएलएसआईपीले दिन्छु भनेको अनुदान रोक्दा बिचल्लीमा पर्‍यौं, भईरहेको व्यवसायपनि धरासायी भयो ।’ एनएलएसआईपीले नसक्ने भारी बोक्न बाध्य पारेको र अहिले आएर सर्बोच्चलाई देखाएर उम्किने गरेको उनको आरोप छ। जनताको जनजिविकासँग जोडिएको विषयमा राज्य लाचार भएर बसेको छ,उनले थपे,‘राज्य जवाफदेहि नहुँदा त्यसको दुष्परिणाम हामी किसानले भोग्नुपरेको छ।’

अर्का पीडित किसान घनश्याम दाहाल भुकम्प र नाकाबन्दीका बेलासमेत नपरेको अप्ठेरो अहिले परेको बताउँछन्। राज्यले अनुदान दिन्छु भनेपछि बैंकबाट ऋण लिईयो,तर अहिले ऋण तिर्न नसक्ने अवस्थामा पु¥याएर अनुदान रोकिएको छ। यसले हाम्रो उठीबास लगाउनेभयो।’

ऋणको भारीले थिचेपछि एनएलएसआईपी पीडित किसानहरु अहिले संघर्षमा उत्रिएका छन्। शुक्रबार उनीहरुले एनएलएसआईपी विकेन्द्रीकृत आयोजना सहयोग ईकाई कार्यालयमा ज्ञापनपत्र बुझाउँदै तत्काल दिन्छु भनेको अनुदान उपलब्ध गराउन माग गरेका छन्। किसानलाई बिचल्लीमा पारेर एनएलएसआईपीले आफूहरुको मुद्धा सुनुवाईका लागिपनि समन्वय नगरेको गुनासो गर्दै उनीहरु भन्छन्,‘हाम्रो माग सुनुवाई नभए थप संघर्षका कार्यक्रम सार्वजनिक गर्छौं।’

पीडित कृषक विष्णुप्रसाद भण्डारी राज्य जिम्मेवार नबन्दा किसानले दुःख पाएको गुनासो गर्छन्। ‘हामीले त हाम्रो तर्फबाट सबै प्रक्रिया पूरा गरेका छौं तर राज्यको गैरजिम्मेवारीपनले हामीले अनुदान नपाउने स्थिति बन्यो। जसका कारण हामी किसान बिचल्ली बन्ने स्थिति भयो।’

आयोजना समन्वय प्रमुख डा.रेशमराज ज्ञवालीले किसानको मागमा आफूहरु गम्भीर रहेको बताए। अनुदान हामीले रोकेका होईनौं,‘सम्मानित अदालतले नै आदेश दिएपछि अनुदान रोकिएको हो। तर हामी किसानलाई जसरीपनि अनुदान दिनुपर्छ लागिरहेका छौं। सर्वोच्चको अन्तिम फैसला नआए प्लान बी अनुसार नया सम्झौता गरेर भएपनि दिने भनेको अनुदान किसानलाई दिने तयारी भइरहेको छ।’

प्रकाशित: १४ आश्विन २०७९ १०:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App