३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

यी हुन् भक्तपुरे दसैंका विशेषता

नेपालीको महान् चाड दसैं सोमबारदेखि देशैभर सुरु हुँदै छ, तर देशैभरिको दसैंभन्दा फरक छ भक्तपुरको दसैं। दसैंको सुरुवातसँगै भक्तपुरमा नौ राते मेला प्रारम्भ हुन्छ। प्रत्येक वर्ष दसैंको घटस्थापनासँगै सुरु हुने नौ राते मेला यहाँका विभिन्न नौ शक्तिपीठमा लाग्ने गर्दछ।

भक्तपुरको दसैंको मुख्य विशेषता हो– खम्ये जात्रा (राँगो दौडाउने जात्रा)। प्रत्येक वर्ष महानवमीको दिन यो जात्रा हुने गर्दछ। जात्रा भक्तपुरको प्रसिद्ध नवदुर्गा द्योछें (देवता घर) बाट सुरु हुन्छ। त्यहाँ पालेर राखेको खम्येलाई नगरभरि दौडाउने गरिन्छ। अन्त्यमा खम्येलाई नगरको पूर्वमा रहेको ब्रह्मायणी मन्दिरमा पु¥याइन्छ र त्यही रात बध गरिन्छ। महिषासुरको प्रतीकका रूपमा रहेको खम्येलाई बध गर्ने यही ठाउँमा प्रत्येक वर्ष विजयादशमीको दिन दिनभर मेला लाग्छ।

यस दिन ब्रह्मायणीमा सबैभन्दा ठूलो मेला लाग्ने गर्छ। यस दिन यहाँ मेला भर्न काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोकबाट पनि दसौं हजार जात्रालु ब्रह्मायणी जाने गर्दछन्।

दसैंभर बिहान र बेलुका भक्तपुर दरबार स्क्वायरस्थित तलेजु मन्दिरमा पनि दैनिक विशेष मेला लाग्ने परम्परा छ। यी मेलामा नगरभरिका भक्तजन बाजागाजाका साथ उल्लासमय रूपमा सहभागी हुने गर्दछन्।

कुछी भ्वय (दुई माना चिउरा नापेर खानुपर्ने विशेष भोज) यहाँको दसैंको अर्काे विशेषता हो। साथै, पायोन्हायाकेगु (भागी विवाह) पनि यहाँको दसैंको थप विशेषता हो। यीबाहेक दसैंका दस दिन भक्तपुर नगरका ठाउँठाउँमा विभिन्न मेला लाग्ने गर्दछ।

इतिहासविद् डा. वीरेन्द्रप्रसाद कायस्थका अनुसार दसैं देशैभर मनाउने गरे पनि भक्तपुरको दसैंबमे विशेष आकर्षण रहने बताउँछन्। उनका अनुसार विजयादशमीको दिन तलेजुमा खड्ग पूजा हुन्छ। यसलाई नेवारीमा पायोन्हायाकेगु भन्ने चलन छ। यो दिन प्रेम सम्बन्धमा बसेका जोडीले भागेर विवाह गर्ने गर्छन्। यस्तो विवाहलाई कानुनी मान्यता पनि दिइन्छ। यस दिन भागी विवाहबाहेक मागी विवाह, व्रतबन्ध आदि शुभकार्य गर्ने चलन छ। यो दिनलाई शुभसाइतका रूपमा लिने गरिन्छ। साइत नजुरेका जोडीको विवाह यसै दिन गरिदिने चलन छ।

प्रकाशित: १० आश्विन २०७९ ०३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App