२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

उजुरी नगर्दा आफैं ठगिँदै सार्वजनिक सवारीका यात्रु

इलामको बिब्ल्याँटेमा पार्किङ गरिएका भ्यान। तस्बिर: भीम/नागरिक

इलाममा चल्ने सार्वजनिक यातायातका साधनले कुनै पनि बहानामा यात्रुबाट तोकिएभन्दा बढी भाडा लिन नपाउने भएका छन्। पेट्रोलियम पदार्थको भाउ बढेको वा अन्य कुनै निहुँमा यात्रुबाट आफूखुसी भाडा लिएको पाए कारबाही गर्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ।  

प्रमुख जिल्ला अधिकारी संयोजकत्वको सवारी भाडादर निर्धारण समितिले अबको केही दिनभित्रै नयाँ भाडादर कायम गर्ने तयारी पनि गरेको छ। नयाँ भाडादर नतोकिएसम्म कुनै पनि सवारीका साधनले छोटो दूरीमा गतवर्षको असोजमा तोकिएभन्दा बढी भाडा लिन नपाउने प्रशासनले जनाएको छ। त्यतिबेला समितिले इन्धनलगायत विभिन्न क्षेत्रमा भएको मूल्यवृद्धिलाई आधार बनाएर २२ प्रतिशत भाडा बढाएको थियो। लामो दूरीमा चल्ने सवारी साधनले पनि गत असारमा यातायात व्यवस्था विभागले तोकेभन्दा बढी भाडा लिएको पाए कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ।  

अहिले इलाम–बिर्तामोड एकोहोरो तोकिएको भाडादर तीन सय ५३ रुपैयाँ हो। समितिबाट गतवर्ष तोकिएको यो भाडादर अहिलेसम्म थपघट भएको छैन। तर, सवारी साधनले यात्रुबाट ५ सयदेखि ७ सय रुपैयाँसम्म लिइरहेका छन्। त्यतिमात्र होइन, इलाम–बिब्ल्याँटे ४ किलोमिटर पक्की रुटमा तोकिएको भाडादर २७ रुपैयाँ छ। तर, सवारी साधनले यात्रुबाट ५० रुपैयाँ लिइरहेका छन्। इलाम बजारबाट चढेर १ किलोमिटरमा रहेको धोविधारा ओर्लिंदा पनि ५० र २ किलोमिटरको चुरेघाँटी पुग्दा पनि ५० रुपैयाँ नै लिने गरिएको छ। इलाम बजारबाट गोलाखर्क भञ्ज्याङसम्मको पक्की सडकमा पनि तोकिएको भाडा ३० रुपैयाँ छ। तर, यो रुटमा चल्ने भ्यानले अहिले यात्रुबाट ५० रुपैयाँ नै लिइरहेका छन्।  

इलाम–मंगलबारेको तोकिएको भाडादर २ सय ७ रुपैयाँ हो। तर, सवारी साधनले यात्रुबाट ३ सय रुपैयाँ लिँदैछन्। इलाम–काठमाडौं सरकारले तोकेको भाडा १ हजार ९ सय ६७ रुपैयाँ छ। तर, यात्रुबाट दुई हजार ४ सय रुपैयाँ लिने गरिएको छ। अझ दसैंको मौका छोपेर सवारीका साधनले टिकट ‘बुक’ गर्दा एकोहोरो भाडा नै ४ हजार रुपैयाँसम्म लिइरहेको यात्रुको गुनासो छ। फिक्कल–पशुपतिनगर सडकमा पनि तोकिएभन्दा दोब्बर असुलिरहेका छन्। ११ किलोमिटरको यो पक्की सडकको भाडा ५० रुपैयाँ तोकिएको छ। तर, अहिले यहाँ सवारीले सय रुपैयाँ लिइरहेका छन्। यीसहित सबै रुटमा चल्ने सवारीका साधनले कोरोना महामारी र इन्धनको मूल्य बढेको निहुँमा यात्रुबाट अवैध रूपमा भाडा असुलिरहेको गुनासो जिल्ला प्रशासन कार्यालयसम्म पुगेको छ।  

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले सार्वजनिक सवारी साधनले भाडादर निर्धारण समितिले तोकेभन्दा १ रुपैयाँ बढी पनि भाडा लिन नपाउने बताए। ‘कुनै पनि बाहनामा यातायात व्यवसायी वा मजदुरले आफ्नो गाडीको भाडा बढाउन पाउँदैनन्,’ उनले भने, ‘यदि कसैले तोकिएभन्दा बढी भाडा लिएको छ भने त्यो अवैध हो, यसलाई कारबाही गर्नुपर्छ।’ तर, प्रशासनले पनि यात्रुसँग सोधपुुछ नगर्नु, प्रभावकारी अनुगमन नगर्नु र उजुरी नआएको निहुँ गरी आँखा चिम्लिदिँदा भाडामा सर्वसाधारण ठगिनुपरेको हो। यात्रु आफैं पनि तोकिएको भाडादरबारे सचेत नहुनु, चालक वा सहचालकले जति माग्छन्, चुपचाप त्यति नै भाडा दिनुले पनि ठगीमा मलजल पुगिरहेको छ।  

सवारी साधनले आफूखुसी भाडा लिइरहेकोबारे स्थानीय प्रशासन सूचित नभएको होइन। तर, नियमन फितलो हुँदा यात्रुले सास्ती पाइरहेका छन्। सरकारले तोकेको भाडादरभन्दा झन्डै दोब्बर भाडा यात्रुबाट उठाउँदा पनि सवारीका साधनमाथि प्रभावकारी नियमन हुन सकेको छैन। यसको फाइदा उठाएर सबैजसो रुटको सरकारी भाडा कार्यान्वयन गर्नुको सट्टा सवारी चालक र व्यवसायी आफैंले ‘अघोषित’ भाडा तोकेर यात्रुबाट असुलिरहेका छन्।  

पूर्वेली जिप तथा ट्याक्सी प्रालिका अध्यक्ष गृष्म सुब्बा स्वयम् तोकिएभन्दा बढी भाडा लिनुलाई ‘ठगी’को संज्ञा दिन्छन्। व्यवसायीले तोकिएभन्दा बढी भाडा लिनै नहुने उनको भनाइ छ। ‘सवारी व्यवसायी आफैंले भाडा पनि तोक्ने होइन, सरकारले तोकेको भाडादर कार्यान्वयन गर्नेमात्र हो,’ उनले भने, ‘तर, विभिन्न बहानामा तोकिएभन्दा बढी भाडा उठाएको गुनासो यात्रुबाट आउँदा पनि नियमन गर्न नसक्नु चाहिँ प्रशासनको कमजोरी हो।’  

व्यवसायीले इन्धनको मूल्य बढेको वा अरू महँगीको निहुँमा आफैं भाडा बढाउन पाउँदैनन्। व्यवसायीलाई कुनै पनि कारणले घाटा हुने वा भाडादर हेरफेर गर्नुपर्ने अवस्था आएको लागेमा स्थानीय प्रशासनमा निवेदन दिनुपर्छ। प्रमुख जिल्ला अधिकारी ढुंगाना अहिलेसम्म कुनै पनि यातायात व्यवसायीले भाडादर हेरफेर वा समायोजन गर्न निवेदन नदिएको बताउँछन्। ‘व्यवसायीले सवारी भाडा बढाउनु आवश्यक देखेमा भाडादर निर्धारण समितिलाई भन्ने हो, यात्रुबाट आफूखुसी बढाएर उठाउने होइन,’ उनले भने, ‘तर, अहिलेसम्म कुनै पनि व्यवसायी वा व्यवसायीका कम्पनीले त्यस्तो गुनासो गरेका छैनन् र निवेदन पनि दिएका छैनन्।’  

जिल्ला प्रशासन, प्रहरी र ट्राफिक प्रहरीका जिल्ला कार्यालय सदरमुकाममै छन्। स्थानीय सरकारको मुख्य कार्यालयसमेत यहीं छ। तर, आफ्नै आँगनमा सवारी साधनले मच्चाइरहेको ‘लुट’ चाहिँ उनीहरू देखेको नदेख्यै गरिरहेको यात्रुको गुनासो छ। ‘न गाडीमा भाडादर टाँसेको छ, न सरकारले हामीलाई भाडादरबारे कुनै सूचना नै दिएको छ,’ इलाम–बिर्तामोड चल्ने जिपमा चढेका यात्रु निरोज भट्टराईले भने, ‘चालक र सहचालकले भाडा यति नै हो भन्दै मागेपछि जति माग्छन्, त्यति दिनुको विकल्प नै हुँदैन। प्रश्न गरे उल्टै धम्की खानुपर्छ।’

प्रजिअ ढुंगानाले केही दिनभित्रै जिल्लामा नयाँ भाडादर कायम गरिने बताए। ‘नयाँ भाडादर निर्धारण गर्न शुक्रबार भाडादर अध्ययन कार्यदल गठन भएको छ,’ उनले भने, ‘कार्यदलको सुुझावका आधारमा २÷३ तीनभित्र नयाँ भाडादर कायम हुनेछ।’

प्रकाशित: ८ आश्विन २०७९ ०३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App