२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

यूरोनियमदेखि आइएसआइसम्मको कनेक्सन: सुरक्षामा चुकेको प्रहरी, संदीग्ध व्यक्तिको हत्या

काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा एक संदिग्ध व्यक्तिको गोली प्रहारबाट हत्या भयो। सोमबार साँझ फिल्मी शैलीमा भएको सो गोली प्रहारबाट सर्लाहीका लाल मोहम्मदको हत्या भयो।  

प्रहरीले अहिलेसम्म यो हत्या किन र कसरी भयो भनेर औपचारिक रुपमा केही बताएको छैन। ‘प्रहरीले अनुसन्धान गरिरहेको छ अहिले नै केही बताउने अवस्था छैन’, प्रहरी प्रधान कार्यालयका सहायक प्रवक्ता एसएसपी दानबहादुर कार्कीले भने। काठमाडौँमा गार्मेन्ट व्यवसाय गरेर बसेका मोहम्मदलाई अज्ञात समूहले टाउको, छाती र पेटमा गोली हानी हत्या गरेको हो। मोटरसाइकलमा आएका २ जनाले गोली हानी फरार भएको भिडियो स्पष्ट देखिन्छ।  

उनी आफू जोगिनका लागि गाडीको वरिपरी घुम्दा पनि जोगिएनन र अन्ततः उनको अस्पतालमा मृत्यु भयो। सोमबार साँझ गोली लागि घाइते उनलाई सुरुमा शंखरापुर अस्पतालमा लगिएको थियो। सो अस्पतालमा उपचार नभएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएकोमा केही समयमा चिकित्सकले मृत घोषणा गरेका थिए। बा ६ च ५१५२ नम्बरको मोटर चढेर आएका मोहम्मदलाई गोठाटारको जम्बुडाँडामा रहेको उनको गार्मेन्ट फ्याक्ट्री अघि गोली हानी भागे।

प्रहरीले साँझ सबै नाका बन्द गरेको जनाए पनि कोही पनि व्यक्ति पक्राउ पर्न सकेनन्। प्रहरीले उनको हत्यालाई तीन चरणमा बाँडेर हेरेको छ। पुरानो घट्नाको रिसइबीका कारण मारिएको हुनसक्ने, दोस्रोमा नक्कली नोटको कारोबारीदेखि शंकास्पद यूरोनियमको कारोबार तोस्रो चाँहि पाकिस्तानको इन्टर–सर्भिसेस इन्टेलिजेन्स (आईएसआई) को समर्थनमा आतंकवादी सञ्जालसँग जोडिएको भन्दै भारतीय अपराधिक ग्याङले आक्रमण गरेको हुनसक्छ कि भनेर अनुसन्धान अघि बढाएको छ।

‘भारत विरुद्ध आफ्नो गतिविधि तीव्र बनाएको छ, भन्ने सूचनाको आधारमा पनि उनलाई आक्रमण गरेको हुनसक्नेतर्फ हाम्रो अनुसन्धान केन्द्रित भएको छ, साथै उनको पुरानो घटनासँग पनि हामीले जोड्ने प्रयास गरेका छौ त्यो भनेको ग्याङमा विश्वासघात हुँदा एकले अर्कोलाई पक्राउ गर्ने र त्यसको रिसइबी साध्ने नै हो त्यसकारण अहिले नै यही हो भनेर एकिनका साथ भन्ने अवस्था छैन’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने। 

स्रोतका अनुसार गत साउनमा भारतबाट आएको सुरक्षा टोलीलाई यूरोनियमको नमूना पनि उनै मोहम्मदले पठाएको हुन कि भन्ने आशंका पनि गरिएको छ। ‘उनको धन्दा एउटा मात्र होइन विगतमा धेरै प्रकारका व्यवसाय गरेको देखिन्छ, काठमाडौँका विभिन्न स्थानमा फरक फरक कारोबार गर्दै आएका थिए’, एक सुरक्षा अधिकारी भने।

उनको विषयमा सशस्त्र प्रहरीको इन्टेलीजेन्स शाखाले पनि सूचना संकल गरेको थियो। नेपालमा आतंककारीहरु रहेको भन्ने सूचना संकलन गर्दा सशस्त्रको इन्टेलीजेन्स व्यूरोले उनलाई कडा आतंककारी सूचीमा राखेर आफ्नो विभागलाई जानकारी गराएको थियो। ‘लाल मोहम्मद जेलबाट छुटेपछि नै शंकास्पद कारोबारमा संलग्न रहेका सूचना आएपछि हाम्रो टोलीले पनि अनुसन्धान गरेको थियो र नेपाल प्रहरीलाई त्यसबारे सूचना शेयर गरिएको थियो’, सशस्त्र उच्च स्रोतले भन्यो।

अपराधिक पृष्ठभूमिमा राष्ट्रपतिबाट आममाफी  

मोहम्मद  सर्लाहीको गौडैता नगरपालिका–१० मनहरवाका स्थायी बासिन्दा हुन्। उनी विगत ६ वर्षदेखि नै व्यापार व्यवशाय संलग्न थिए। अन्सारीको विगत भने आपराधिक पृष्ठभूमि रहेको छ। २०६४ असार २० गते काठमाडौँको अनामनगर धोबीखोलामा साँझ बाराका बलराम पटुवाको गोली हानी हत्या गरियो। हत्या आरोपी ५ मध्ये प्रहरीले ‘थापाजी’ भनिने लाल मोहम्मद र पप्पु गुप्तालाई तत्काल पक्राउ गर्यो।  

उनले प्रहरीलाई बयान दिने क्रममा आरोपी मुन्ना खान भनिने इल्ताव हुसेन अन्सारी भने दुई वर्षपछि २०६६ मा पक्राउ परे। ती मध्येका वाहिद खान १० वर्षपछि मात्रै ३० असोज २०७५ पक्राउ परे। खान पक्राउ पर्नुमा उनै लाल मोहम्मदको हात रहेको उनको परिवारले  आरोप लगाउदै आएको थियो।  

पक्राउ परेपछि उनै वाहिद खान विजयकुमार श्रीवास्तव भएको भन्दै उनकी पत्नीले नागरिकता पेस गरेकी थिइन। तर प्रहरीले सर्लाही प्रशासनबाट उक्त नागरिकताको वैधानिकता जाँच गर्दा खानले नक्कली नागरिकता निकालेर आफ्नो परिचय बदलेको पुष्टि भएपछि उनी जेल परे। उनले परिचय बदलेर गार्मेन्ट उद्योग चलाइरहेका थिए।

प्रहरीको अनुसन्धान अनुसार मारिएका बलराम पटुवा र पक्राउ परेका तीन जनाविच भारतीय जाली नोट कारोबारमा विवाद भएको थियो। त्यही विवादमा पटुवा मारिएका थिए। ‘जाली नोट कारोबारमा सक्रिय पटुवाले सूचना चुहाउन थालेपछि उनको हत्या गर्ने र उनको स्थानमा वाहिदलाई राख्ने योजना थियो,’ त्यतिबेला अनुसन्धानमा संलग्न रहेका एक अधिकारीले भने।  

प्रहरीका अनुसार गार्मेन्ट व्यवसायको आडमा वाहिद, मोहम्मदलगायत समूहले पाकिस्तान, बंगलादेशबाट नक्कली भारतीय नोट ल्याएर कारोबार गर्ने गरेका थिए। उनीहरु अदालतबाट दोषी ठहर भइ जेल चलान भए। लाल मोहम्मद करिब ९ वर्ष जेल बसेर २०७४ मा सरकारी आम माफीमा छुटेका थिए।

जेलबाट निस्किएपछि लाल मोहम्मदले गार्मेन्ट व्यवसाय सुरु गरे। एभेन्जर इन्टरप्राइजेज नामक गार्मेन्ट कम्पनी चलाइरहेका थिए। स्रोतका अनुसार १० वर्षपछि पक्राउ परेका वाहिद खान उर्फ विजयकुमार श्रीवास्तव पक्राउ पर्नमा मोहम्मदको हात थियो।  

सुरुमा कन्ट्रयाक्ट किलर  

प्रहरी स्रोतले दिएको जानकारी अनुसार लाल मोहम्मद शुरुमा कन्ट्रयाक्ट किलर थिए। भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइविशेष ब्यूरोको एक रिपोर्ट अनुसार लाल मोहमदले नेपालमा नक्कली नोट कारोबारमा विचौलियको भूमिका निभाउथे। त्यसक्रममा इल्ताफ हुसेन अन्सारी नाममको व्यक्तिको सुपारी लिएर हत्या योजना संलग्न हुन्थे कतिपय सन्दर्भमा उनी आफैं गोली हान्थे।

बलराम पटुवालाई लाल मोहम्मदले नै गोली हानेको  इल्ताफ हुसेन अन्सारीले साथीहरुलाई बताउने गरेको स्रोतको दाबी छ। यो विषयमा भारतीय सुरक्षा अधिकारीहरु गत साउनमा नेपाल आएको यो विषयमा चासो राखेका थिए। भारतीय सुरक्षा अधिकारीहरुले नेपाली सुरक्षा अधिकारीहरुसँग बेलाबेलामा चासो राखिरहेका थिए।

मोहम्मदले विचौलियाको रुपमा काम गरिदिएका व्यक्ति इल्ताफ हुसेन अन्सारी चाहिँ २९ साउन २०७७ मा नक्कली सुन काण्डमा पक्राउ परे। नक्कली नोटको मास्टर माइण्ड मानिएका  अन्सारी नक्कली १५ किलो सुन बोकेर गाडीमा हिँडेको बेला प्रहरीबाट उम्केपनि पछि पक्राउ परेका थिए।  उनले त्यो सुन भारत लैजान खोजेको तत्कालिन अनुसन्धानकर्ता प्रहरी अधिकारीहरुले जनाएका छन्।

आइएसआइसँगको सम्बन्ध  

भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)ले लाल मोहम्मद लाई लामो समयदेखि खोजी गरिरहेको थियो। ‘अन्तर्राष्ट्रिय आतङ्कवादी’ दाउद इब्राहिमसँग जोडिएर र भारत विरोधी गतिविधिमा संलग्न रहेको तथा भारतीय नक्कली नोटको कारोबारमा लागेको आरोपका कारण पाकिस्तानको इन्टर–सर्भिसेस इन्टेलिजेन्स (आईएसआई)सँग सम्बन्ध रहेको भन्दै भारतले सधै उनको खोजी गरेको थियो’, नेपाल प्रहरीका विशेष व्यूरोमा कार्यरत एक अधिकारीले भने। तर सरकारले आम माफी दिएको र नेपालमा उनको कुनै पनि अपराधिक काम नदेखिएकाले नेपाल प्रहरीले सो विषयलाई ध्यान दिएको थिएन।

‘भारतीय जासुसी संस्थाका अधिकारीहरुले गोली प्रहार गरे भन्ने कुनै आधार छैन, तर शंका गर्ने ठाउँ पनि प्रसस्तै छन्’, विशेष व्यूरोका एक अधिकारी भन्छन्। स्रोतका अनुसार उनको पाकिस्तानी नागरिक एजाजसँग पनि उनको राम्रो सम्बन्ध रहेको थियो। एजाज सिकन्दर, तमाच, अस्लाम लगायत नामका व्यक्तिमाथि यो घटनासँग जोडेर प्रहरीले  अनुसन्धान गरिरहेको छ। २०६३ सालमा नक्कली भारतीय रुपैयाको कारोबारमा मुछिएका उनी कुमार श्रीवास्तव भन्ने व्यक्तिसँग सम्पर्कमा रहेको उनीसँगै २ पटक बंगलादेश पुगेको तथा बंगलादेशबाट फर्केपछि अन्सारी पक्राउ परेका थिए।

सुरक्षामा चुकेको प्रहरी  

मोहम्मदलाई सोमबार दोस्रो पटकको प्रयासमा हत्या भएको देखिन्छ। उनले केही दिन आफू असुरक्षित रहेको भन्दै स्थानीय प्रहरीलाई खबर समेत गरेको अवस्थामा हत्या भएको छ। उनी अपराधी नै हुन भने पनि कानुन बमोजिम कारबाही गर्ने वा अनुसन्धान गर्ने दायित्व र जिम्मेवारी बोकेको प्रहरीले नागरिकको सुरक्षामा चासो नदिने सुरक्षा संयन्त्रको ठूलो कमजोरी रहेको छ।  

उनले सुरक्षा मागेपछि थ्रेट विश्लेषण गरी अनुसन्धान गर्न चाहेन। प्रहरीले उनीमाथि कसले आक्रमण गरेको हो भन्न छाडेर पूराना फाइलहरुको विवरण प्रकाशन गर्न थालेको छ। प्रहरीकाे याे गम्भीर कमजाेरी हाे। स्रोतका अनुसार लाल मोहम्मदले तीन दिनअघि आफूलाई सुरक्षा खतरा भएको भन्दै सुरक्षा माग गरेका थिए।

शनिबार गोकर्णेस्वरस्थित जम्मुडाँडा प्रहरी चौकीमा आफूलाई सुरक्षा खतरा भएको भन्दै निवेदन दिएको स्रोतको दाबी छ। उनीमाथि एक हप्ताअघि आक्रमण भएकाे थियाे। त्यतिबेला घाइते भएका मोहम्मदले एक सरकारी अस्पतालमा उपचार गराएका थिए।

प्रकाशित: ४ आश्विन २०७९ ०६:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App