२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चितवनमा जापानीज इन्सेफलाइटिसबाट एक वृद्धाको मृत्यु

चितवनमा जापानीज इन्सेफलाइटिसबाट एक वृद्धाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार, माडी  नगरपालिका वडा नम्बर १ की ६० वर्षीया वृद्धाको भदौ २७ गते मृत्यु भएको हो।

उनको मृत्यु घरमा नै भएको हो। उनलाई साउन २० गते जापानीज इन्सेफलाइटिस लागेको पुष्टि भएको थियो। बिरामी भएपछि चितवनको नेशनल सिटि अस्पतालमा उपचार गर्न आएकी थिइन्। सो अस्पतालले चितवन मेडिकल कलेजमा रिफर गरेको थियो।

चितवन मेडिकल कलेजले एकपटक डिस्चार्ज गरेपनि निको नभएपछि पुनः उपचार गर्न आएकी थिइन्। पछिल्लो समय उनलाई भदौ १८ गते कलेजले डिस्चार्ज गरेको थियो। चिवतनमा साउन १५ यता ९ जनामा जापानीज इन्सेफलाइटिस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईले जानकारी दिए।

२३ जनाको नमुना परीक्षण गर्दा ९ जनामा पुष्टि भएको हो। संक्रमित मध्ये एक जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ। उनको उपचार भरतपुर अस्पतालको आइसियूमा भैरहेको छ। चितवनमा संक्रमित मध्ये भरतपुर महानगरपालिकाका सबैभन्दा धेरै ४ जना रहेका छन्। महानगरमा ३ पुरुष र १ महिलामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीले जानकारी दिए।

त्यस्तै माडीमा २ महिला थिए। एक जनाको मत्यु भएको छ।  रत्ननगर, राप्ती र कालिका नगरपालिकामा समान एक/एक जनामा संक्रमण संक्रमण पुष्टि भएको छ। बिरामीको अवस्था बुझ्नको लागि डब्लुएचओको टोली जिल्लामा खटिएको छ। छिमेकी जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का तीन जनाको जापानीज इन्सेफलाइटिसका कारण मृत्यु भएको छ। मृत्यु हुनुपूर्व उनीहरुको उपचार चितवनमै भएको थियो।

अघिल्लो दुई साताको बीचमा देवचुली र गैँडाकोट नगरपालिकामा गरी तीन जनाको मृत्यु भएको हो। चितवनमा लामो समयपछि जापानीज इन्सेफलाइटिस फेला परेको हो। ‘१५ वर्ष अगाडि चितवनमा महामारीकै रुपमा फैलिएको थियो। त्यतिखेर कालिका शक्तिखोर क्षेत्रमा केही मानिसको मृत्यु भएको थियो,’ केसीले भने ‘नयाँ संरचना बनेपछि जापानीज इन्सेफलाइटिस भेटिएको पहिलोपटक हो।’

जापानीज इन्सेफलाइटिसको परीक्षण चितवनमा हुँदैन। यहाँबाट काठमाडौँको केन्द्रीय परीक्षण प्रयोगशाला टेकुमा नै पठाउने गरिएको छ। जसका कारण रिपोर्ट आउन एक सातासम्म लाग्ने गरेको छ। जिल्लामा रोग देखिएपछि डेंगी र जापानीज इन्सेपलाइटिसको सयुंक्त रुपमा जनचेतना मुलक कार्यक्रम गरिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

डेंगी र जापानीज इन्सेपलाइटिस लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो। जापानीज इन्सेपलाइटिस क्युलेक्स भन्ने लामखुट्टेबाट सर्ने रोग हो। यी लामखुट्टेहरु माध्यम आकारका, खैरो रंगको र पेटतिर भने सेतो चिन्हहरु भएका हुन्छन्। तीनले प्रायः घाम ढल्केपछि र अँध्यारो भएपछि टोक्ने गर्दछ। विशेषगरी धानबालीमा जमेको पानी यस लामखुट्टेको प्रमुख बासस्थान रहेको स्वास्थ्यकर्मी बताउँछन्।

साउन, भदौ र असोजमा जापानीज इन्सेपलाइटिस बढी देखिने गरेको छ।  यस रोगबाट बढीजसो धेरै व्यक्तिहरु गम्भीर बिरामी नहुने गरेपनि केहीको गम्भीर अवस्था सृजना भइ दिमागलाई नै असर गरी मृत्यु हुने गरेको भरतपुर अस्पतालका व्यवस्थापन समिति अध्यक्ष डा.भोजराज अधिकारीले बताए।

यस रोग लाग्दा धेरै जसोलाई ज्वरो, झाडा पखाला, बान्ता, थकित हुने, गर्धन दुख्ने, घाँटी दरो हुने, टाउको दुखाई वा कमजोरी हुने उनले बताए।  तर, कुनै पनि लक्षण नदेखिन सक्छ। उनका अनुसार यो रोग प्राण घातक रोग हो। यसले छारेरोग, प्यारालाइसिस र अचेत हुनु पनि हुने उनले बताए। खोपको प्रयोगबाट जापानीज इन्सेफलाइटिसको रोकथाम हुन्छ।

साथै लामखुट्टेको टोकाइबाट जोगिने र लामखुट्टेको प्रजननको रोकथाम गर्नुपर्ने उनले बताए। कुनै खतराको लक्षण देखिएमा भने तुरुन्तै अस्पताल जान उनले सुझाव दिएका छन्। सरकारले जापानीज इन्सेफलाइटिस रोकथामका लागि दुई वर्ष मुनिका बालबालिकामा दुई पटकसम्म खोप लगाउने गरेको छ। १३ वर्षअघि सरकारले १५ वर्षमुनिका बालबालिकालाई पनि खोप अभियान सञ्चालन गरेको थियो। आजभोलि यस्ता अभियान सञ्चालन हुन सकेको छैन।

प्रकाशित: ३० भाद्र २०७९ ०९:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App