१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

जंगली हात्तीको आतंकले रौतहट र सर्लाहीको उत्तरी क्षेत्रका बासिन्दा त्रसित

रौतहट र सर्लाहीको उत्तरी क्षेत्रमा जंगली हात्तीको आतंकले सर्वसाधारण त्रसित देखिएका छन्। केही दिनदेखि लगातार रौतहट र सर्लाहीको उत्तरी क्षेत्रमा जंगली हात्तीले आतंक मच्चाउन थालेपछि सर्वसाधारणमा निकै डरको वातावरण भएको स्थानीयहरुले बताएका छन्।

आइतबार साँझ पर्नासाथ जंगलबाट आएको तीन ओटा हात्तीको समूहले चारैतिरबाट बस्ती रहेको तर बीचमा रहेको धानको खेतमा धान खान थालेपछि बस्तीभरि कोको-होलो मच्चिएको थियो। आठ बज्दा नबज्दै आएका हात्तीहरुको समूह केही घरको छेउसम्मै पुग्दा मानिसहरुमा भागाभाग भएको थियो।

घर भत्काएर अन्य नोक्सानी गर्ने डरले चन्द्रनिगाहपुर मूल चौकको छेउकै बासिन्दाहरुले थाल ठट्टाएर, आगो बालेर तथा होहल्ला गरेर हात्तीलाई धपाउने प्रयास गरेका थिए। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट पनि प्रहरीको टोली पुगेर सर्वसाधारणलाई आश्वास्त पार्ने प्रयास गरेका थिए।

लगातार चार घण्टाको प्रयासपछि प्रहरीको सहयोगमा स्थानीयले हात्तीलाई लखेट्न सफल भएका थिए तर अधिकांश मानिस डरले रातभर निदाउन सकेनन्। 'सबैभन्दा बढी डर केटाकेटी र वृद्धवृद्धालाई भएको थियो। स्थानीय नागेन्द्र यादव भन्छन्, हात्तीको आतंकले धेरै मानिस रातभर राम्ररी सुत्न पाएका छैनन्।'

हात्तीलाई धपाएपछि फेरि झन् ठूलो समूहमा फर्केर आउने सम्भावना हुनाले स्थानीयबासी आलोपालो गरेर सुतेको यादवको भनाइ छ। रौतहटको चन्द्रपुर, वृन्दावन, गुजरा र फतुवा विजयपुर नगरपालिकाको उत्तरी क्षेत्रमा बेलाबेलामा जंगली हात्तीले बस्तीमा क्षति पुर्‍याउनुका साथै आतंक मच्चाउने गरेको छ।

दुई दिन अघि सर्लाहीको हरिवन नगरपालिका ११ महतो टोलमा जंगली हात्तीको समूह पुगेर दुई जनाको घरमा क्षति पुर्‍याएका थिए। यसैगरी बागमती, हरिवन, बरहथवा, लालबन्दी नगरपालिका लगायत अन्य केही पालिकाको क्षेत्रमा जंगली हात्तीले बेलाबेलामा आतंकित पार्ने गरेको छ। धान, गहुँ र मकै बाली खान जंगलभन्दा बाहिरको तर जंगलसित जोडिएको क्षेत्रमा जंगली हात्ती पुग्ने गरेको सर्वसाधारणको बुझाइ छ।

गत वर्ष जंगली हात्ती उखु खान बनबाट बाहिरतिर आएको र बरालिएर भारततिर गएको थियो। जंगलमा पाइने वनस्पत्तिभन्दा फरक स्वाद लिन जंगली हात्ती खेतमा बाली चर्न पुग्ने गरेको र मानिसहरु निदाउने समयलाई पारेर हात्ती समूहमा नै आउने गरेको सर्वसाधारणको बुझाइ रहेको छ।

डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएफओ सुनील कुमार कर्णले जंगली हात्ती राति आएको र फेरि जंगलमै फर्केर गएको बताएका छन्। जंगली हात्ती समूहमा आउने गरेकोले सबैलाई सचेत रहन आग्रह गर्दै डिएफओ कर्णले हात्तीको आतंक नियन्त्रण गर्न आफूहरु प्रयासरत रहेको बताएका छन्।

हात्तीहरु एक ठाउँबाट अर्को ठाउँमा गइरहने प्रवृत्तिको हुनाले बाटो अलमलिएर कहिलेकाहीँ यस्तो हुने गरेको डिएफओ कर्णको भनाइ छ। बाटो अलमलिएर यस्तो भएको कर्णको भनाइ छ। वनक्षेत्र बाहिर कतै जंगली हात्ती देखिएमा तत्काल खबर गर्न आग्रह गर्दै डिएफओ कर्णले हात्तीलाई नजिस्क्याउन पनि आग्रह गरेका छन्।

पर्सा वन्यजन्तु आरक्षको प्रमुख अशोक रामले हात्ती आफ्नो पुर्खा हिँड्ने बाटोमा प्राय हिँड्ने गरेको बताउँछन्। पूर्वको झापा, मिर्चैया, धनुषा, सर्लाही हुँदै हात्तीहरु रौतहट आएको बताउँदै राम भन्दछन्, 'केही दिन हात्ती रानिबास सिन्धुली हुँदै महोत्तरी पनि प्रवेश गरेको थियो।'

सर्लाहीको मुर्तिया जंगल हुँदै रौतहटको वन क्षेत्रमा हात्ती प्रवेश गरेको बताउँदै राम हात्तीलाई धेरै शान्त प्राणीको संज्ञा दिन्छन्। हात्तीलाई जिस्काउने बितिकै रिसाउँछ र मानव बस्तीमा क्षति पुर्‍याउने गरेको राम बताउँछन्। हात्तीलाई वर्षौपछि रुट याद आएपछि फेरि त्यहीँ बाटो हिँड्ने गरेको रामको दाबी छ।

हात्ती हिँड्ने रुटलाई हात्तीडन्डी भनिने गरेको बताउँदै राम भन्दछन्, 'हाम्रो देसमा २७० वटा हात्ती छन्।' अहिले चितवन र पर्सामा मात्रै ६० भन्दा बढी हात्ती रहेको पर्सा वन्यजन्तु आरक्षका प्रमुख रामको भनाइ रहेको छ।

प्रकाशित: २७ भाद्र २०७९ १३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App