२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाणगंगा नदीमा नदीजन्य पदार्थको चोरी निकासी बढ्यो, सेटिङमा काम भइरहेको स्थानीयको आरोप

फाइल तस्बिर।

बाणगंगा नदीमा यसवर्ष फेरी बालुवा, गिट्टीको चोरी निकासी बढेको छ। गत जेठ मसान्त पछि नगरपालिकाले नदीमा लगाएको ठेक्का सकिए लगत्तै नदीबाट अवैध उत्खनन गरी बालुवाको चोरी निकासी बढेको हो।

बाणगंगा नगरपालिका वडा नम्बर ८ मा बाणगंगा नदीबाट बालुवा, ग्रेभल लगायका नदीजन्य पदार्थ रातिको समयका चोरी निकासी हुँदै आएको स्थानीयबासी बताउँछन्। नदीमा भइरहेको अवैध उत्खनन र चोरी बारे बाणगंगा नगरपालिका, नेपाल र सशस्त्र प्रहरी र इलाका प्रशासन कार्यालयलाई जानकारी हुँदा पनि मौन बसको स्थानीयबासी बताउँछन्।

‘खोलामा हुने चोरी जति सबै सेटिङमा भइरहेको छ’ सोही वडाका एक स्थानीयले भने ‘ राति १२ बजेदेखि बिहान ४ बजेसम्म नदीबाट बालुवा चोरेर ट्याक्टरमा लगिन्छ।’ चोरीएका बालुवा र ग्रभेल जति सबै नगरपालिका वडा नम्बर ५ मा रहेको क्रेसर र प्लटमा राखिने गरिएका छन्। बालुवा चोरी गराउने एउटा गिरोह नै हरेक वर्ष त्यहाँ सक्रिय हुने गरेको छ। प्रति ट्याक्टर ५ सय लाइन बझाइन्छ। बालुवा चोरीका लागि पुरै सेटिङ हुन्छ।

जिल्लाबाट अनुगमन गर्न कोही आउने कुरा गिरोहलाई पहिले नै जानकारी गराइन्छ। जिल्लाबाट अनुगमन जाँदा त्यहा केही फेला नपरी रित्तो हात फर्किने गरेका छन्। रातभर चोरीएका नदीजन्य पदार्थलाई बाणगंगा नगरपालिकामा मापदण्ड विपरीत सञ्चालन गरिएका क्रेसरमा पुर्‍याउने गरिएको खुल्न आएको छ।

सोही नगरपालिकाको वडा नम्बर ५ मा सञ्चालित विभिन्न क्रेशर उद्योगमा चोरीको ढुङ्गा, गिट्टी र बालुवा पुर्‍याउने गरेको खुल्न आएको छ। बालुाव चोरिएका नाकामा ट्याक्टर हिडेका र नदीमा उत्खनन गरिएको देख्न सकिन्छ।

पालिका भित्र रहेको निकायले चासो नदेखाए पछि नदीजन्य पदार्थको चोरी बढेको र कारबाही गरिदिन भन्दै बाणगंगा नगरपालिका ८ स्थित शान्ताकुञ्ज मधुवनधामले प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरि औपचारीक पत्र नै पठाएको छ।

धामका महासचिव मधु अर्यालले जिल्ला समन्वय समिती कपिलवस्तुसँगै जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, बाणगंगानगरपालिका कपिलवस्तु, शसस्त्र प्रहरी बेस पिपरा, इलाका प्रहरी कार्यालय पिपरा र बाणगंगा नगरपालिका वडा नम्बर ८ को सो विषयको बोधार्थ दिइएको छ।

प्रमुख जिल्ला अधिकारीलाई बुझाएको पत्रमा शान्तकुन्ज मधुवन धाम नजिक रहेको बाणगंगा नदीबाट रात्रीकालिन समयमा नदीजन्य पदार्थको व्यापक चोरी निकासी भएको उल्लेख छ। चोरी निकासीले पुरातात्विक संरचना धरासायी हुनुका साथै राज्यलाई प्राप्त हुनु पर्ने करोडौंको राजश्व गुम्न गएको उल्लेख छ।

रात्रीकालमा हुने चोरी निकासी तत्काल रोक्न भन्दै पत्रमार्फत माग गरिएको छ। 'राती १२ बजे पछि खोला छेउछाउका बस्तीमा बसि नसक्नु छ। रातभर ठूल्ठूलो आवाजमा ट्याक्टरले ढुङ्गा, गिट्टी र बालुवा ओसार्दा सुत्नै पाइएको छैन।' महासचिव अर्यालले भने। 'रातभर नदीजन्य पदार्थको चोरी भएको बारे सबैले थाहा पाए पनि नियमनकारी निकायको भूमिका शून्य छ।' उनले भने।

नदीजन्य पदार्थको तस्करी हुँदा समेत बाणगंगा नगरपालिका, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोली मौन बस्नुले मिलेमतोमै तस्करी भएको स्थानियले आरोप लगाउँदै आएका छन्। बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले शान्तिकुन्ज मधुवन धामले बालु्वा चोरीको विषयमा पठाएको पत्र बारे जानकारी नभएको बताए।

उनले बालुवा चोरीको गुनासो आएपछि नेपाल र सशस्त्र प्रहरीलाई अनुगमन र कडाइ गर्न आग्रह गर्ने गरेको उनले बताए। उनले नगरपालिकाले मात्र चाहेर चोरी नियन्त्रण गर्न गाह्रो हुने भन्दै उनले यसको नियन्त्रणमा सबै निकायले चासो लिनु पर्ने बताए।

प्रजिअ धर्मेन्द्रकुमार मिश्रले बाणगंगा नदीमा बालुवा चोरी हुने विषयमा आफूलाई रातिको समयमा कैयो पटक फोन आए पछि प्रहरी पठाएको बताए। तर अझैसम्म केही फेला नपरको उनले बताए। उनले अब आफूले पक्राउ गर्न नयाँ तरिका अपनाउने बताए।

‘बाणगंगा नगरपालिका क्षेत्रमा नदीजन्य पदार्थको चोरी निकासी भएको विषयको सूचना पाएको छु’ उनले भने ‘जिल्ला सुरक्षा समितिको बैठकमा सो विषयमा गम्भीर छलफल गरको छौँ सो कार्यमा संलग्नलाई कारबाही गर्न अगाडि बढ्छौं’ प्रजिअ मिश्राले भने।

उता प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले बाणगां नदीमा हुने गरको बालुवा चोरी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय पिपरालाई कडा निर्देशन दिएको बताए। उनले अब थप निगरानी बढाउने समेत बताए।

प्रकाशित: २५ भाद्र २०७९ १२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App