२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

खेत बाँझै भएपछि संकटग्रस्त घोषणा गर्न माग

बाँकेस्थित नरैनापुरको सुख्खाग्रस्त क्षेत्र। कार्यपालिका बैठकले नरैनापुरलाई साउन २६ गते सुख्खा क्षेत्र घोषणा गरेको थियो।

नरैनापुर गाउँपालिकामा भोकमरीको अवस्था सिर्जना हुने सक्ने देखिएकाले पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरिएको छ। सोमबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले लुम्बिनी प्रदेश सरकार र संघीय सरकारलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको हो।

यहाँका ९० प्रतिशत परिवार कृषिमा निर्भर छन्। धानबाली लगाउने समयमा वर्षा नहुँदा यहाँ धानबाली रोपाइँसमेत हुन सकेको थिएन। गत वर्षसमेत बेमौसमी वर्षाका कारण खेतमै धानबाली नष्ट भएकोले नरैनापुरमा भोकमरी हुने भन्दै नरैनापुरले पालिकालाई सुख्खा क्षेत्र घोषणा गरिसकेको छ।

पर्याप्त सिंचाइ सुविधाका लागि डीप बोरिङ र राहत सहयोगको समेत पहलका लागि यहाँ सर्वदलीय बैठक बसेको थियो। उक्त सर्वदलीय बैठकको निर्णय भदौ ६ गते जिल्ला विपद् व्यवस्थापन समितिलाई पालिकाले पठाएको थियो।

नरैनापुर गाउँपालिकामा करिब १५ प्रतिशत मात्र धानबाली रोपाइँ भएको छ। रोपाइँ भएको धानसमेत सुख्खा कारणले उत्पादन नहुने अवस्था देखिएकाले यहाँ भोकमरीको अवस्था सिर्जना हुनसक्ने आंकलन गरिएको छ।

सोहीअनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा १६ (२) (न) अनुसार उक्त पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरी पर्याप्त सिंचाइ, वैकल्पिक बाली प्रबन्धन तथा राहत वितरणको व्यवस्थाका लागि प्रदेश र संघीय सरकारलाई सिफारिस गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए।

उनका अनुसार सुख्खाग्रस्त जमिनमा वैकल्पिक खेती गर्न किसानलाई कृषि ज्ञान केन्द्र तथा सम्बन्धित पालिकाले आवश्यक प्राविधिक तथा बीउविजनको सहयोग उपलब्ध गराई खेतीबाली लगाउन किसानलाई प्रोत्साहन गर्न आह्वान गरिएको छ।

योसँगै उक्त बैठकले लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना तथा सञ्चालनका लागि साविक रनियापुर गाविस वडा नम्बर ४ सिट नम्बर ०३५/१०४४ कित्ता नम्बर १,४ र वडा नम्बर १ सिट नम्बर ०३५/१००४ कित्ता नम्बर ५ क्षेत्रफल क्रमशः ३४६०६५, ८१३२० र ७७८७५ वर्गमिटरसँगै रनियापुर गाविस वडा नम्बर ६ सिट नम्बर ०३५/१००६ कित्ता नम्बर १ को क्षेत्रफल ३४८३५ वर्गमिटर र सोही गाविस वडा नम्बर ३ सिट नम्बर ०३५/१०४६ कित्ता नम्बर १ को क्षेत्रफल ७४६८० वर्गमिटरका सरकारी जग्गा प्रकोप उद्दार तथा व्यवस्थापन लागि आवश्यक नपर्ने भनी सिफारिसका लागि अनुरोध भइ आएकोले सोहीअनुसार सिफारिस गर्ने निर्णय गरेको छ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनबारे बैठकमा जानकारी गराइएको छ। यससँगै जिल्ला विपद् व्यवस्थापन समितिका यस अघि २०७९ असार १६ गते भएका निर्णयको कार्यान्वयनको अवस्थाबारे समीक्षा पनि गरिएको छ।

जलेका काठ दाउरा मिनाह

सामुदायिक वन उपभोक्ता समूहको काठ दाउरा घाटगद्धी गरिएको ठाउँमा आगलागीबाट जलेर नष्ट भएको हुँदा मिनाहका लागि सम्बन्धित निकायमा सिफारिस गरेर पठाउने निर्णयसमेत भएको छ।

नरैनापुर–५ स्थित गाजी सामुदायिक वन उपभोक्ता समूहले सिक्टा सिंचाइ नहर निर्माणको क्रममा उत्पादन भएको काठ दाउरा समूहमा व्यवस्थापन गर्न घाटगद्धीमा राखिएको थियो।

उक्त काठ दाउरा जेठ ११ गते आगलागी हुँदा घाटगद्धीमा रहेका विभिन्न जातका दुई हजार एक सय १८.७३ घनफिट काठ र साल जातको दाउरा १५ र अन्य जातका १२ चट्टा गरी २७ चट्टा दाउरा जलेर नष्ट भएका बताइएको छ।

उक्त काठ दाउरा मिनाहाका लागि सिफारिस भइ आएकाले प्रहरी प्रतिवेदन, सर्जिमिन मुचुल्का तथा छानविन प्रतिवेदन कागजातका आधारमा प्रचलित वन नियमावली २०७९ को नियम ३४ बमोजिम समूहको दायित्वमा रहेको काठ दाउरा मिनाहा प्रयोजनका लागि  सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरिएको बताइएको छ।

प्रकाशित: २० भाद्र २०७९ १२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App