२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

सप्तऋषि पुजेर तीज सम्पन्न

फाइल तस्बिर

हिन्दु महिलाहरूद्वारा मनाइने हरितालिका तीज पर्व अरून्धतीसहित सप्तऋषिको पूजाआराधनासँगै सकिएको छ। भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने हरितालिका तीज बिहीबार सप्तऋषिको पूजाआराधनासँगै सकिएको हो।

महिनावारी वार्दा धार्मिक मान्यताविपरीत भएका गल्ती सुधार्न ऋषिपञ्चमीको दिन सप्तऋषिको पूजा गरिन्छ। ऋषि पञ्चमीबारेमा सामाजिक सञ्जालमा विभिन्न किसिमका टीकाटिप्पणी भइरहे पनि ललितपुरको धापाखेलस्थित नागदह, टिकाभैरव लगायत विभिन्न स्थानमा महिलाहरूले ऋषि पञ्चमीको व्रत बसी पूजाआराधना गरेर संस्कृतिको संरक्षण गरेका छन्।

यस दिन हिन्दु महिलाले बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया वा पोखरीमा गई ३ सय ६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्ने प्रचलन छ।

बिहानै उठेर नित्य कर्म र ध्यान गर्नु भनेको अनुशासित भई मनलाई शान्त र एकाग्र गर्दा शरीर स्वस्थ हुनुका साथै नित्य कर्म अनुसार चाडपर्वको बेला गरिने पूजापाठले व्यक्तिलाई आध्यात्मिक बनाउन मद्दत गर्ने ललितपुर गोदावरी नगरपालिका–६ की सीता खड्काले बताइन्।

दतिवनले दाँत माझ्दा दाँत सफा हुने नै भयो। आयुर्वेदमा दत्तिवनलाई महत्त्वपूर्ण जडिबुटीका रूपमा लिइएको उनले बताइन्। ऋषि पञ्चमीको पूजा सामग्रीमा वेलपत्र नभई नहुने पूजा सामग्री हो।

ऋषि पञ्चमीमा महिलाले गाईको गोबर, माटो एवं खरानी, तामाको पूर्ण कलश अष्टदलमा स्थापना गरी सप्त ऋषिहरूको प्रतिमालाई पञ्चामृत स्नान गराएर सेतो वस्त्र, सेतो फूल, अक्षता, दूध, दही, घिउ, मह, चिनी, नैवेद, जनै, आठवटा पान सुपारीजस्ता सामग्री तयार पारी स्नान गर्ने गर्दछन्।

यसो गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने परापूर्व कालदेखि नै मान्यजनबाट सिक्दै आएको कुरा हो। गाउँघरमा घर लिपपोत गर्नका लागि गाईको गोबर प्रयोग गरिन्छ। गोबरले लिपपोत गरेपछि घर पवित्र र सफा हुन्छ भन्ने मान्यतासमेत रहँदै आएको छ। धार्मिक दृष्टिले गाईको गोबरले लिपपोत गरिएको स्थानलाई पवित्र मानिन्छ। यस्तो स्थानमा बसेर कुनै पनि पूजापाठ गर्नु शुभ मानिन्छ।

गोबरले नुहाउँदा पनि शरीरमा भएका ब्याक्टेरिया मर्ने गरेको खड्काले बताइन्। गोबरले हात, खुट्टा वा शरीरका कुनै पनि अंग जलेमा उक्त भागमा गोबर लगाउनाले जलन कम हुने गर्दछ। मानवीय जीवनमा गाईको गोबर पनि त्यति नै उपयोगी छ। यस अनुसन्धानबाट हिन्दुहरूले परापूर्व कालदेखि गोबरले घर लिप्ने गरेको प्रष्ट हुन्छ।

प्रकाशित: १७ भाद्र २०७९ ०५:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App