६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

देउरी खोलामा निर्मित पक्की पुल सञ्चालनमा

देउरी खोलामा नवनिर्मित पक्की पुलको उद्घाटन गर्दै प्रदेश मन्त्री हिमाल कार्की । तस्विरः महेश्वर/नागरिक

उदयपुर सदरमुकाम त्रियुगा नगरपालिका ५ देउरी खोलामा नवनिर्मित पक्की पुल सञ्चालनमा आएको छ। गाईघाट–लाहान सडकभन्दा भित्रपटिका बस्तीबासीलाई आउजाउ गर्न सहज होस् भनेर प्रदेश सरकारद्वारा निर्मित पुल बिहीबारदेखि सञ्चालनमा आएको हो।  

प्रदेश सरकार, प्रादेशिक सडकपुल एकाई (पिआरबिएसयु) इटहरी मार्फत पूर्वाधार विकास कार्यालय उदयपुृरको रेखदेखमा निर्मित पुलको निर्माण सुरु ०७७ जेठ १ गते भएको थियो। डेढवर्षभित्र सक्ने सम्झौता भए पनि कोभिडका कारण ३ महिना म्याद थपेर ०७८ चैत ३० गते सक्नुपर्नेमा चैत २१ गते पुलको निर्माण सम्पन्न भएको कार्यालयका योजना अधिकृत तुलसी सुबेदीले बताए।  

७१ मिटर लामो, १० मिटर चौडाई रहेको ३ स्पानको उक्त पुल पवित्र निर्माण सेवा गाईघाटले लागत इस्टीमेटभन्दा २९ प्रतिशत कम मूल्यमा निर्माण गरेको लेखा अधिकृत रोहित श्रेष्ठले बताए। उनका अनुसार पुलको लागत इस्टीमेट ६ करोड ११ लाख ५१ हजार २ सय ६२ रुपैयाँ रहेकोमा निर्माण व्यवसायीबीच प्रतिस्पर्धा हुँदा पवित्र निर्माण सेवाले ४ करोड ३४ लाख ६४ हजारमा निर्माणको जिम्मा लिएको हो।  

वर्षौंदेखि पुलको अभावमा वर्षायाममा बाढीको चपेटामा पर्दै आएका देउरी, बगाहा, श्रीपुर, जलजले, दमौटीलगायत त्रियुगा ४, ५ र ६ नं. वडाबासीलाई वर्षेनी बाढीले सताउने खोलामा पक्की पुल बनेपछि आउजाउ गर्न सहज भएको वडाध्यक्ष उद्धवसिंह थापाले बताए। उनका अनुसार लामो समयदेखि सो खोलामा पुल बनाउन गर्दै आएको स्थानीयबासीको माग संघीयता र गणतन्त्र आएपछि मात्र पुरा भएकोमा जनता खुसी छन्।  

पूर्वाधार विकास कार्यालय प्रमुख (डिई) जितेन्द्रकुमार कर्णका अनुसार गत वर्ष नै पुल निर्माण कार्य सम्पन्न भए पनि स्थानीयतहको चुनावका कारण केही समय ढिला हस्तान्तरण गर्नु परेको हो। उदयपुर र खोटाङ दुई जिल्लाको रेखदेखको जिम्मा पाएको पूर्वाधार कार्यालयले अन्य थुप्रै आवधिक र बहुवर्षीय योजनाहरु निर्माण गरिरहेको डिई कर्णले बताएका छन्।  

प्रकाशित: ९ भाद्र २०७९ ०६:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App