२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

नेपालले अंग्रेजलाई हराएको सम्झनामा पाल्पामा २०४औं सिन्दूरजात्रा

नेपालले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा भगवती रथयात्रा गरिएको छ। पाल्पाका तत्कालीन तैनाथवाला कर्णेल उजिर सिंह थापाले युद्ध जितेको सम्झनामा सिन्दूरजात्रा गरिएको हो। नेपाली फैजले विजयी प्राप्त गरेको खुसियालीमा मनाइने जात्रालाई खट्यात्रा, भगवती जात्रा, सिन्दूरजात्रा, तथा रथयात्रा भन्ने गरिन्छ।

ब्रिटिस साम्राज्यवादीको आक्रमणबाट नेपाललाई जोगाउन सफल भएको खुसियालीमा पाल्पा जिल्ला सदरमुकाम तानसेनमा भगवती रथयात्रा निकालिएको छ। पाल्पामा २ सय ४ वर्षदेखी निरन्तर रुपमा भगती खट्यात्रा निकालिएको हो। रथयात्रा विगत दुई वर्षदेखी कोरोना महामारीका कारण प्रभावित भएको थियो। तानसेनको बीच भागमा रहेको भगवती मन्दिर परिषरबाट भगवतीको प्रतिमूर्तीलाई तीन पटक मन्दिर परिक्रमा गराई सिन्दूरजात्रा गरिएको हो। वि.सं. १८७१ मा नेपाली सेनाले अंग्रेजलाई हराएको थियो।

श्रीकृष्ण जन्माष्टमीमा रातभर जाग्राम बसी भजन किर्तन गरेर भाद्र कृष्ण नवमीको दिन जात्रा गरिएको हो। नेपाल एकीकरणको समयमा युद्धमा विजयी भए मन्दिर बनाएर सिन्दूरजात्रा गर्ने भाकल कर्णेल उजीरसिंह थापाले गरेका थिए। सोही भाकल अनुसार जीतगढीको युद्धमा विजयी भएको र जात्रा निकाल्ने प्रचलन सुरु भएको थियो।

पाँच वटा नाकाबाट नेपालमाथि भएको आक्रमणमा चार स्थानमा नेपालले हार व्यहोर्नु परेपनि जितगढीको लडाइँमा अग्रेजफौजलाई नेपाली फौजले हराएको थियो। भगवती रथलाई सिन्दूर, अबिर र केशरीसहित अन्य वैदिक पूजापाठ गर्दै शहर परिक्रमा गराइएको थियो। जात्रालाई धार्मिक आस्थासँगै वीरताको संदेश दिने राष्ट्रिय पर्वको रुपमा लिँदै आइएको छ।

वि.सं. १८७६ देखि भगवति जात्रा मनाउन सुरु गरिएको भगवती गुठीका अध्यक्ष राजेश्वर उदयले बताए। उनी भन्छन्, ‘युद्धमा जानुभन्दा अगाडी सेनाले युद्धमा विजयी भई सिन्दूर जात्रा सञ्चालन गर्नेछु, आफू बराबरको अग्लो स्तम्भ निर्माण गर्नेछु भनि भाकल गरेका थिए। सोही जात्रालाई विरताको सन्देश दिन जात्रा गर्ने प्रचलन रहेको हो।’

शनिबार दिउँसोसाइतमा भगवतीको रथ उठाइ नेपाली सेनाले सलामी दिएर निकालिएको हो। रथलाई तानसेनका सबै चोकहरुमा पुर्‍याई हर्ष बढाइका साथ पुनः मन्दिरमा ल्याएर सकिने प्रचलन रहेको छ। रणउजिरेश्वरी भगवतीको जात्रा पश्चिम नेपालकै सबैभन्दा ठूलो जात्रा हो। जात्रामा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा विभिन्न संघसंस्था र सर्वसाधारणले पहिचान झल्किने झाँकी र्‍याली प्रदर्शन गरेका थिए।

लुम्बिनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वीरबहादुर रानाले नेपालले अंग्रेजलाई हराएको विरताको प्रतिकका रुपमा जात्रा मनाइएको बताए। मन्त्री रानाले ऐतिहासिक जात्रा विजयउत्सवका रुपमा रहेकोले नेपालको राष्ट्रियता, स्वाभिमान र राष्ट्रिय गौरवको इतिहास बोकेको बताए। श्री रणउजिरेश्वरी भगवती माइको रथजात्रालाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने स्थानीयको माग छ। कुमाउ–गडवाल (नाहान), मकवानपुर गढी, कोशी–टिस्टा र बुटवल जीतगढीमा अंग्रेज र हिन्दुस्तानी फौजसँग लडाइँ भएको थियो।

प्रकाशित: ४ भाद्र २०७९ १६:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App