२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘हामी सुखी छौं,देशलाई पनि सुख मिलोस्’

२०६३ सालमा बाराको कलैयामा नेपाल सरकारले दिएको ९ लाख रुपैयाँको चेक र कलम समाउँदै सहिद हीरालाल गौतमकी छोरी रोजिना। पहिले र अहिलेको तस्बिर

पिताको मृत्यु हुँदा उनी मात्र ७ महिनाकी थिइन्। दोस्रो जनआन्दोलनका सहिद हीरालाल गौतमकी कान्छी छोरी रोजिनाको अबोध अनुहार नियाल्ने अधिकांशका आँखा रसाउँथे। २०६३ जेठतिर बाराको कलैयामा नेपाल सरकारले प्रदान गरेको ९ लाख रूपैयाँको चेक लिँदै गर्दा उनी हातमा कलम समाएर मुस्कुराएकी थिइन्।

झन्डै सत्र वर्षपछि तिनै रोजिनाको मुस्कुराउँदै गरेको ताजा तस्बिर सामाजिक सन्जालमा देखियो। बाराको निजगढस्थित सार्वजनिक माविबाट एसइई परीक्षामा सफल भएकी उनी मायाको चिनोका साथ मुस्कुराइरहेकी थिइन्।

‘म यसपटक एसइईमा पास भएँ,’ नागरिकसँगको टेलिफोन कुराकानीमा रोजिनाले भनिन्, ‘अब कम्प्युटर साइन्स लिएर पढ्ने विचार गरेकी छु।’ बुबा नभए पनि आफ्नो पढाइमा आमाले निकै ध्यान दिएको बताउँदै उनले आगामी दिनमा पनि आमालाई खुसी बनाउने गरी पढ्ने सुनाइन्। छोरीको सफलतामा आमा गायत्री निकै खुसी छिन्। ‘उहाँ सहिद हुँदा काखमा रहेकी छोरीले अहिले एसइई पास गर्दा निकै खुसी लागेको छ,’ सहिद हीरालाल गौतमकी पत्नी गायत्रीले भनिन्, ‘विस्तारै हामी अँध्यारो जिन्दगीबाट उज्यालोतर्फ आएका छौं।’

त्यतिबेला अखबारको पहिलो पृष्ठमा छापिएको रोजिनाको तस्बिर अझै पनि भित्तामा रहेको उनले सुनाइन्। ‘उसले चेक र कलम समाउँदै गरेको तस्बिरले मलाई कहिल्यै आराम गर्न दिएन,’ उनले भनिन्, ‘उसले जीवनमा जति पढ्छु भन्छे, त्यति पढाउने छु।’

निजगढ नगरपालिका-५ का हीरालाल गौतमको आन्दोलनमा सहभागी हुने क्रममा निजगढस्थित पूर्वपश्चिम राजमार्गको सहिद चोकमा सुरक्षाकर्मीको गोली लागेर २०६३ वैशाख ४ मा निधन भएको थियो। तीन छोरीका पिता गौतम मजदुरी गरेर परिवारको गुजारा चलाउँदै आएका थिए।

त्यतिबेला जेठी छोरी रोसिना ५ वर्ष, माइली छोरी रेबिसा ३ वर्ष र कान्छी रोजिना ७ महिनाका थिए। ‘जेठी छोरी अहिले स्नातक तहमा पढ्दै छिन्,’ गायत्रीले भनिन्, ‘माइलीले ११ पास गरिन्।’ परिवारका मूली गौतमको निधनसँगै सिङ्गो परिवारमा त्यतिबेला अँध्यारो छाएको गायत्रीले सुनाइन्। तर राज्यले त्यतिबेला दिएको ९ लाख र अन्य दाताले दिएको ५ लाख जम्मा गरेर १४ लाख रूपैयाँमा १५ कट्ठा जमिन किनेको उनले सुनाइन्।

‘किनेको खेतको आम्दानीबाट सन्तानको पेट भरियो,’ उनले भनिन्, ‘नगरपालिकामा खाएको जागिरबाट आउने रकम नानीहरूको शिक्षादीक्षामा खर्चिएँ।’ केही बचत रकमबाट नयाँ घरसमेत बनाएको उनले सुनाइन्। ‘हामी सुखमै छौं, उनले भनिन्, ‘देशलाई सुख मिलोस्।’

दोस्रो जनआन्दोलनका सहिद हीरालाल गौतमको सम्मानमा उक्त क्षेत्रमा विभिन्न सामाजिक कार्य समेत हुने गरेको छ। सहिदको नाममा निजगढ नगरपालिका वडा नम्बर ४ स्थित हीरालालपार्क बनाइएको छ। जहाँ गौतमको सालिक छ। हीरालाल स्मृति प्रतिष्ठान गठन गरिएको छ। उनकै नाममा रङ्गशाला निर्माण गरिएको छ। ‘उहाँको योगदानलाई मेरो समाजले कहिल्यै बिर्सेन,’ गायत्री भन्छिन्, ‘समाजले हामीलाई इज्जतका साथ बाँच्न सिकायो।’

सहिदका परिवारले दुःख पाएको समाचार धेरै ठाउँबाट आएको छ। तर सहिद पत्नी गायत्री गौतम भने सरकार र समाजको सहयोगले आफूहरूको जीवन अहिले सहज बन्दै गएको सुनाउँछिन्। ‘हो हाम्रो जीवन त सहज बन्दै गएको छ,’ गायत्रीले भनिन्, ‘समग्र मुलुकको जीवन सहज बनिदिए सहिदको आत्माले शान्ति पाउने थियो।’

प्रकाशित: ४ भाद्र २०७९ ०१:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App