coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अपराध नियन्त्रण र रोकथामका लागि प्रहरीको प्रदेशस्तरीय गोष्ठी

प्रविधिको विकाससँगै समाजमा फरक प्रकृतिका अपराधको घटना बढ्न थालेपछि नियन्त्रण तथा रोकथामका लागि नेपाल प्रहरीले आफ्नो सक्रियता बढाएको छ। अपराध नियन्त्रणका लागि देशभर गोष्ठी र सेमिनारहरूको आयोजना गरेर चेतनामूलक कार्यक्रम गरेर रोकथाम र नियन्त्रणमा सक्रियता देखाएको हो।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको समन्वय तथा प्रदेश प्रहरी कार्यालयको आयोजनामा प्रदेश स्तरीय अपराध अनुसन्धान गोष्ठी सञ्चालन गरिएको छ। गोष्ठीको उद्देश्य अपराध अनुसन्धानमा खटिने प्रहरी अधिकृतको क्षमता विस्तार गर्नु रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रदेश नम्बर-१ प्रहरी कार्यालयको आयोजनामा बिहीबार विराटनगरमा प्रदेश स्तरीय अपराध अनुसन्धान गोष्ठी सम्पन्न भएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा सञ्चालन भएको गोष्ठीमा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल लगायत उच्च प्रहरी अधिकारी तथा अनुसन्धानमा खटिने प्रहरी अधिकृतको समेत सहभागिता थियो।

अपराध अनुसन्धान गोष्ठीमा मन्त्री कार्कीले आपराधिक प्रवृत्तिमा परिवर्तन हुँदै गइरहेकाले अनुसन्धान गर्ने प्रहरी अधिकारीको क्षमता विस्तार गर्नुपर्ने  बताए। मन्त्री कार्कीले भने, ‘अपराधका घटना नियन्त्रण गर्न अनुसन्धानमा खटिने प्रहरीलाई साधन-स्रोत सम्पन्न बनाउनुपर्छ।’

उनले प्रहरीको क्षमता विकास र प्रविधिमुलक अनुसन्धानका लागि आवश्यक साधन-स्रोत उपलब्ध गराउन प्रदेश सरकार तयार रहेको समेत बताए। गोष्ठीलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रविधिको प्रयोगमार्फत हुने अपराधका घटना बढेकाले रोकथाम तथा नियन्त्रणका प्रहरी स्वयं प्रविधिमैत्री हुनुको विकल्प नभएको बताए।

‘अनुसन्धान, अभियोजन र न्याय निरूपण अपराध अनुसन्धानका मुख्य खम्बा रहेकाले यी निकाय बिचको समन्वय र सहकार्यबाट मात्र पीडितले न्याय र पीडकले सजाय पाउँछ’, आइजीपी सिंहले भने। महानिरीक्षक सिंहले अपराध अनुसन्धानमा खटिने प्रहरी संवेदनशील र पारदर्शी हुनुपर्नेमा समेत जोड दिए।

गोष्ठीमा प्रदेश नम्बर-१ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालीप्रसाद पराजुली, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) निर्देशक उत्तमराज सुवेदी विराटनगर उच्च अदालनका सह-न्यायाधिवक्ता कोषहरि निरौला, प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकाल लगायतका वक्ताहरूले अपराध अनुसन्धानमा देखिएका समस्या समाधान गर्न गोष्ठी महत्त्वपूर्ण हुने धारणा व्यक्त गरेका थिए।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको समन्वयमा हालसम्म वाग्मती प्रदेशबाहेक सुदूर पश्चिम, कर्णाली, लुम्बिनी गण्डकी, मधेश तथा एक नम्बर प्रदेशमा अपराध अनुसन्धान गोष्ठी सम्पन्न भएका छन्। नेपाल प्रहरीले सञ्चालन गरेको प्रदेश स्तरीय अपराध अनुसन्धान गोष्ठीमा सशस्त्र प्रहरीको समेत सहभागिता रहेको छ।

विहीबार विराटनगरमा सम्पन्न अपराध अनुसन्धान गोष्ठीमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहित उच्च पदाधिकारीसहित सशस्त्रका अनुसन्धान अधिकारीहरूको सहभागिता थियो। अपराध अनुसन्धान, सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रण गरी शान्ति सुरक्षा थप मजबुत गर्ने उद्देश्यले दुई प्रहरी संगठनबीच आपसी सहकार्य भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यसप्रकारको सहकार्यले आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सुरक्षित, शान्तिपूर्ण र भयरहित रूपमा सम्पन्न गर्न अझ सहज हुने अपेक्षा गरिएको छ।प्रविधिको प्रयोगसँगै बढेका नयाँ प्रकृतिका घटना नियन्त्रण, सीमा क्षेत्रमा हुने अपराध तथा तस्करी नियन्त्रण तथा अनुसन्धानमा थप सहजना हुने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित: ३ भाद्र २०७९ ०७:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App