१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

प्रयोगमा नआउँदा बिग्रिए डेढ दर्जन कम्प्युटर

एउटा कोठाभरि सजाएर कम्प्युटरहरु राखिएका छन्।हेर्दा सबै कम्प्युटर नयाँ नै छन् तर एउटा पनि कम्प्युटर चल्दैनन्। सबै कम्प्युटर पूर्णतया खराब भइसकेका छन्।

रौतहटको गरुडा नगरपालिका ७ पिपरियामा रहेको श्री माध्यमिक विद्यालयको कम्प्युटर ल्याबको दृश्य हो यो। गरुडा नगरपालिकाका प्रमुख कन्थमनि प्रसाद कलवार, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु यादव, नगरको शिक्षा, युवातथा खेलकूद संयोजक सुबोधकुमार चौधरी र सहसंयोजक शेख चाँद अलिसहितको टोली विद्यालयको अनुगमनमा पुग्दा प्रधानाध्यापक राकेशकुमार यादवले कम्प्युटर ल्याबको अवस्था देखाउँदा सबैजना छक्क परेका छन्।

लाखौँको लगानीमा किनिएका करिब डेढ दर्जन कम्प्युटरका कुनै पनि सेट चल्दैनन्। विद्यालयमा कक्षा ६ देखि १२ सम्म कम्प्युटर विषयको पढाइ हुने गरेको तर कुनै पनि विद्यार्थीले कम्प्युटरको प्रयोगात्मक कक्षा गर्न नपाउने गरेको प्रअ यादव बताउँछन्।  

कम्प्युटर किनेर ल्याबमा व्यवस्थित पारिएको तर वर्षौँसम्म ल्याबमा ताल्चा लगाएर राख्दा सबै कम्प्युटरको मोनिटर, सिपियु तथा कीबोर्डसमेत बर्बाद भइसकेको प्रअ यादवको भनाइ छ।  

विद्यालयमा करिब डेढ वर्षदेखि तनावको अवस्था रहेको थियो। एक वर्षपछि बल्ल विद्यालयका शिक्षक तथा कर्मचारीहरुले तलब खान पाएका छन्। करिब एक महिन ापहिले मात्र आफूले निमित्त प्रअको कार्यभार सम्हालेको बताउँदै प्रअयादव भन्छन्, ‘ विद्यालयमा रहेको एउटा ल्यापटप चालू अवस्थामा छ, त्यसैबाट सबै काम गर्नुपर्ने बाध्यता रहेको छ।’

कम्प्युटरको मिस्त्रीलाई बोलाएर आफूले ल्याबका सबै कम्प्युटरलाई चेक गराउँद कुनै पनि कम्प्युटर कामलाग्ने अवस्थामा नरहेको मिस्त्रीको भनाइ रहेको प्रअ यादवले दाबी गरेका छन्। कम्प्युटरका आन्तरिक पार्टहरु खराब भइसकेका छन्, मोनिटरले लाइन लिँदैन र कीबोर्डहरु जाम भइसकेका छन्। एक दिनपनि संचालनमा नआई लाखौँ मूल्यका करिब डेढ दर्जन कम्प्युटर ल्याबमै बर्बाद भएको देखेर नगर प्रमुख कलवार छक्क परेका छन्।  

विद्यालयमा भवनको अभाव छ, कम्पाउन्ड वाल छैन, शिक्षकको अभाव छ तर ल्याबका कम्प्युटरहरु प्रयोगमा नआइकनै सखाप भएको देखिएको छ।

नगरपालिका कार्यालयबाट कम्प्युटर प्राविधिकलाई पठाएर विद्यालयका कम्प्युटर ल्याबमा रहेका कम्प्युटरको प्राविधिक जाँच गराउने र मर्मत हुन सक्ने जतिलाई मर्मत गराएर तत्काल संचालनम ाल्याउने नगर प्रमुख कलवारले प्रअ यादवलाई आश्वासन दिएका छन्।

नगर प्रमुख कलवार भन्छन्, ‘कतै शैक्षिक सामग्रीको अभाव छ तर कतै यसरी लाखौँको सम्पत्ति सुरक्षानहुँदा खेर गएको देख्न पाउनु ज्यादै दुःखद छ।’

लाखौँको सम्पत्ति खेर फाल्ने जिम्मेवार पदाधिकारी माथि कारबाही हुनुपर्ने माग पिपरियाबासीको रहेको छ।

प्रकाशित: २ भाद्र २०७९ ०६:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App