१४ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

ग्रामीण सडकको बेहाल: अघिअघि डोजर पछाडि गाडी

ढोल्यामोड–पुर्चौडीहाट सडकको अघिअघि डोजर र पछाडि यायायातका साधन।

ढोल्यामोड–पुर्चौडीहाट सडकखण्डमा चल्ने सवारीसाधनको अघि डोजर चलाउनुपर्ने बाध्यता छ। ठाउँठाउँमा खसेको पहिरो सफा गरेर मात्र यो सडकमा यातायातका साधन चल्ने गरेका छन्। 

बर्खामा सधै डोजरअघि लगाएर जिप चल्ने गरेका छन्। पानी पर्दा हिलाम्ये सडकमा गाडी चलाउन सकस हुने गरेको छ। बर्खामा पहिरो पन्छएर गाडी गुडाउनुपर्ने बाध्यता छ। नगरपालिकाले पहिरो सफा गर्न सडकमै डोजर राखेको छ। १९ किलोमिटर लम्बाई रहेको ढोल्यामोड–पुर्चौडीहाट सडकमा ३ वर्ष अघि कालोपत्रे गर्न ठेक्का भए पनि अहिलेसम्म अधुरो छ। निर्माण कम्पनीले समयमै काम नगर्दा यस सडकमा यात्रा गर्न असहज हुने गरेको स्थानीय बताउँछन्।

हिलाम्य सडकको ठाउँठाउँमा पहिरो गएकाले यातायात व्यवसायीले जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता रहेको छ। पानी परेको दिन भने ठाउँठाउँमा पहिरो जाने भएकाले पहिरो सफा गर्न जीपसँगै डोजर दौडाउनुपर्ने अवस्था रहेको पुर्चौडी नगरपालिकाका मेयर दिपकबहादुर बमले बताए। ढोल्यामोड–पुर्चौडीहाट र बित्थड–दहताल यी दुवै ग्रामीण सडक बर्खामा सधै अवरुद्ध हुने गरेका छन्। नगरपालिकाको केन्द्र पुग्ने सडक कालोपत्रे नहुँदासम्म अन्य विकास निर्माणका कार्यसमेत प्रभावित हुने गरेको नगरपालिकाका प्रमुख प्रशासकीय बीरबहादुर नेपालीले बताए।

सीमित मात्रामा चल्ने यातायातका साधनका कारण यात्रुहरुले चाहेको समयमा गाडी चढ्न पाउँदैनन्। बर्षा नभएको समयमा बस समेत सञ्चालन हुने यस सडकमा अहिले जिप मात्रै चल्ने गरेका छन्।

सडक स्तरोन्नतिको काम थालेको निर्माण कम्पनीले अलपत्र निर्माण कार्य अलपत्र छोड््दा यात्रा गर्न असहज भएको पुर्चौडी नगरपालिका–६ का धनबहादुर साउँदले बताए। ठेकेदारले केही ठाउँमा नाली निर्माण र केही ठाउँमा पर्खाल लगाएर छाडेको छ। तर ठाउँठाउँमा पहिरो खस्ने भएकाले दैनिक पहिरोमा गाडीहरु फस्ने गरेका छन्।

अत्यावश्यक काम लिएर हिँड्ने यात्रुहरुसमेत बाटोको अवस्थाले कैयौं अवसर गुमाउने गरेका छन्। बाटामा रहेका ठूल्ठूला खाल्डाखुल्डी, झाडी, पहिरो र साँघुरो मोडले यात्रालाई असहज बनाउने गरेका छन्। सडक स्तरोन्नतिका नाममा हरेक वर्ष करोडौं रुपैयाँ खर्च भएको देखिने भए पनि बाटोको अवस्था भने परिवर्तन हुन सकेको छैन।

सडक कालोपत्रे गर्न ग्वाल्लेक निर्माण सेवाले ठेक्का पाएकोमा निर्माण व्यवसायी दानसिंह रावललाई पेटी ठेकेदार (सव कण्डक्टर) को रुपमा काम दिइएको हो। रावलले बर्षात्का कारण काम अवरुद्ध भएको बताए। उनले भने, ‘अहिले बर्षात्मा काम अवरुद्ध छ। बर्षापछि काम गर्नेछौं। मेसिनहरु सम्बन्धित ठाउँमै छन्। आगामी असार मसान्तसम्मको म्याद भएकाले समयमै सडक निर्माणको कार्य हुन्छ।’

जिल्लाका अन्य ग्रामीण सडक पनि अस्तव्यस्त छन्। कच्ची सडक बर्खामा हिलो र हिउँदमा धुलो उडने सडकमा यात्रा गर्न कम जोखिम छैनन। डोजरले काटेका साँघुरा सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको सिगास गाउँपालिका–६ का पदमबहादुर रोकायाले बताए। सडक सञ्जालका नाममा डाँडाकाँडा छियाछिया भए पनि गुणस्तरीयताको अभावमा सडकहरु मृत्युमार्गका रुपमा देखिएका छन्। जिल्लाका सबै स्थानीय तहको विकास प्राथमिकतामा सडक सञ्जाल परे पनि वर्षौं बित्दासमेत सडकको अवस्था भने सुधार हुन नसक्नु दुःखद भएको सरोकारवालाको भनाइ छ।

जिल्लाका सबै स्थानीय तहले सडक निर्माण तथा मर्मत शीर्षकमा कूल बजेटको झन्डै ६० प्रतिशत विनियोजन गर्ने गर्दछन्। संघीय र प्रदेश सरकारले समेत जिल्लाको सडक निर्माणलाई नै प्राथमिकता दिएको देखिन्छ। विगत पाँच वर्षयता यो क्रमले निरन्तरता पाइरहे पनि जिल्लाका सडकको गुणस्तर भने परिवर्तन हुन नसकेको उद्योग वाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्द बताउँछन्।

जिल्लाको दक्षिणी तल्लोस्वराड क्षेत्रको मेलौली नगरपालिकासम्म अहिले कालोपत्रे सडक निर्माणपछि सहज रुपमा यात्रा गर्न पाइए पनि यो रुटमा चल्लने सवारी साधनले बढी भाडा लिने गरेकाले यात्रुमारमा पर्ने गरेका छन्। जिल्लाका अन्य सडकमा पनि मनपरी भाडा लिने क्रम जारी छ।

प्रकाशित: ३१ श्रावण २०७९ १०:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App