प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवलाई उर्लाबारीको मदन भण्डारी अस्पतालमा स्थानीयले कालो झण्डा देखाएका छन्।
उर्लाबारी नगरपालिका–३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको नयाँ ओपिडी भवन उद्घाटनका क्रममा स्थानीय युवाहरुको समूहले विरोध गर्दै कालो झण्डा प्रदर्शन गरे। भवन निर्माणका क्रममा अनियमितता भएको भन्दै युवाहरुको समूहले हिसाबकिताब पार्दशिता गर्दै सम्पूर्ण खर्च विवरण सार्वजनिक गर्न माग गरेका हुन्।
कार्यक्रममा जाँदा मन्त्री यादवलाई कालो झण्डा देखाउने ६ जनालाई पक्राउ गरेको थियो। ‘कार्यक्रममा विथोल्ने उद्देश्यका साथ विरोधमा उत्रेकालाई ६ जनालाई पक्राउ गरेका थियौं,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले भने, ‘कार्यक्रम सकिए लगत्तै पक्राउ गरिएकाहरुलाई छाडिएको छ।’
मन्त्री यादवलाई कालो झण्डा देखाउँदा पक्राउ परेकाहरु सबै उर्लाबारी–३ का हुन्। प्रदीप दाहाल, शेखर खड्का, प्रदीप पाण्डे, पिपलराज गिरी र रेशबहादुर कट्वाल पक्राउ परेका थिए। उनीहरुलाई प्रहरीले पक्राउ गरेपछि मन्त्री यादवले छाड्न निर्देशन दिएका थिए। मन्त्री यादवले विवाद देखिएको विषयमा छानबिनका लागि अस्पताल व्यवस्थापन समितिलाई निर्देशन दिएको बताइएको छ।
पक्राउ परेकाहरुले यस अघि अस्पताल प्रशासनसमक्ष भवन निर्माणलाई पारदर्शी बनाउन र आम्दानी खर्चको विवरण उपलब्ध गराउन ज्ञापनपत्र बुझाए पनि बेवास्ता गरेको थियो।
प्रकाशित: २९ श्रावण २०७९ १२:३१ आइतबार