२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

कपिलवस्तुमा युरिया मल आउन सुरू

जिल्लालाई ७२० मेट्रिक टन

धान खेतीलाई लक्षित गरी कपिलवस्तुमा युरिया मल आउन सुरु भएको छ। गत बुधबारबाट कृषि सामाग्री कम्पनी लिमिटेड भैरहवाबाट युरिया मल जिल्लामा आउन सुरु भएको हो। 

ओमनबाट भारतको कोलकत्ता हुँदै नेपालको वीरगन्ज नाकाबाट ३० हजार मेट्रिक टन युरिया नेपाल भित्रिएको हो। सो मल कृषि सामाग्री रुपन्देहीले जिल्लाका कृषि सामाग्री लिमिटेडमा पठाउन सुरु गरेको हो। कृषि सामाग्री लिमिटेड तौलिहवाका प्रमुख प्रकाश चन्द्र ज्ञवालीले धान खेतीलाई लक्षित गरी जिल्लालाई ७ सय २० मेट्रिक टन ( १४४० बोरा ) कोटा निर्धारण गरिएको बताए। त्यस मध्ये बिहिबारसम्म सय मेट्रिक टन युरिया आइसकेको उनले बताए। ७ सय २० मेट्रिक टन मध्ये ७० प्रतिशत कृषि सामाग्री तौलिहवा र ३० प्रतिशत कृषि सामाग्री बहादुरगंजबाट वितरण हुनेछ।‘भैरहवाबाट निर्धारित गरिएको कोटा मल सबै आए पछि भदौ १ या २ गतेबाट वितरण थाल्छौँ ’ उनले भने। 

जिल्लाका १० पालिकामा रहेको कृषि सहकारीबाट मल वितरण हुनेछ। पालिकाले सिफारिस र निर्धारित गरेको कोटा अनुसार सहकारीलाई मल उपलब्ध गराईने ज्ञवालीले बताए। कृषि सामाग्री तौलिहवाबाट १ सय ६० र बहादुरगंज कृषि सामाग्रीबाट ६० कृषि सहकारीलाई मल उपलब्ध गराइनेछ। मलखादको अभावमा कृषकहरुले भारतबाट मल ल्याएर धानको रोपाईं गरेका थिए। लामो समय देखि मलको अभाव झेलिरहेका कृषकहरु महंगो मूल्यमा भारतीय युरिया मल किन्न बाध्य छन्। कृषि ज्ञान केन्द्रका प्रमुख रविन्द्र चौबेले जिल्लामा ७१ हजार बढी हेक्टरमा गरिएको धान खेतलाई १० हजार बढी मेट्रिक टन मलको आवश्यकक्ता पर्ने बताए। मागअनुसार निकै कम मात्र जिल्लालाई कोटा निर्धारण भएको उनले बताए। अहिले आएको युरिया मलले धानमा गाज लाग्दाका लागि उपयुक्त हुने उनले बताए। 

प्रजिअ धर्मेन्द्र कुमार मिश्रले जिल्लामा धान खेतका लागि निर्धारण गरिएको कोटा न्यून रहेको भन्दै थप कोटा माग गरिएको बताए। उनले आएको मल पारदर्शी रुपमा वितरण गर्न निर्देशन दिएको बताए। ८ सय रुपैँया बोरा मूल्य निर्धारण गरिए पनि पालिकाहरुले भोडा बापतको रकम थप लिने निर्णय गरेका छन्।  

प्रकाशित: २७ श्रावण २०७९ ११:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App