coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दु:खको दैनिकी कर्णाली राजमार्ग

सुनार खोलामा गाडी जाम।

कर्णाली राजमार्ग भन्नेबित्तिकै जोकोहीले अहिले मृत्युमार्गको रूपमा चित्रण गर्न थालेका छन्। यसको प्रमुख कारण हो साँघुरो सडक। जताततै हिलो र खाल्डा। ठाउँ-ठाउँमा पहिरो।

यो राजमार्गको स्तरोन्नति नहुँदा बर्सेनि यो राजमार्गमा यात्रा गर्ने हरेक कर्णालीवासीलाई दुःखको दैनिकी बनेको छ। भगवान् भरोसामा सडक यात्रा गर्न बाध्य कर्णालीवासीलाई अहिले पनि दैनिक यात्रा गर्न हम्यहम्य हुने गरेको छ। राज्यले सडक निर्माणमा लापरबाही गरेकै कारण कर्णालीवासीले बर्षेनि ज्यान फाल्नु परेको छ।

कर्णाली राजमार्गको दैलेख र कालिकोट खण्डमा वर्षायाम सुरु भएसँगै दर्जनौँ ठाउँमा पहिरो जाने समस्याले निरन्तर राजमार्ग अवरुद्ध हुने गरेको छ। कालिकोटको सदरमुकाम नजिकै रहेको सुनार खोलामै दिनहुँ सडक अवरुद्ध हुन्छ। बर्सेनि बिग्रिँदै गएको सडकको मर्मत सम्भार र स्तरोन्नतिको काम नहुँदा यात्रुहरूले दुःख भोक्नुपरेको छ।

कालिकोटको सिमाना दही खोलादेखि गगने खोला, काले खोला, सुनार खोला, गल्ली, नाग्मलगायतका ठाउँमा वर्षायाम सुरु भएपछि वर्षा हुँदा पहिरो खस्ने समस्या छ। यस्तै दैलेखको घट्टेखोला, मालाचौर, भेलतडी, जाक्सी लगायतका ठाउँमा बेलाबेलामा आउने पहिरोका कारण सडक अवरुद्ध हुने गरेको छ। यसका कारण कर्णाली राजमार्गमा सञ्चालन हुने यात्रुबाहक तथा मालबाहक सवारीसाधन र यात्रुहरूले निकै सास्ती खेप्नु परेको छ।

कर्णाली राजमार्गले सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र मुगुलाई प्रत्यक्ष रूपमा जोडेको छ। सडक जीर्ण हुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भएको स्थानीय बताउँछन्। सडक एक लेनको मात्र हुँदा यात्रा जोखिमपूर्ण बनेको नरहरिनाथकी मिना विष्टले बताइन्। उनले भनिन्, ‘दुर्घटना परेर बर्सेनि यात्रुले ज्यान गुमाउनु परेको छ।’

सुर्खेतको विरेन्द्रनगरदेखि दैलेख हुँदै कालिकोटको दही खोलासम्म सडक डिभिजन कार्यालय सुर्खेतले हेर्दै आएको छ। राजमार्गअन्तर्गत दही खोला देखि जुम्ला खलंगासम्म सडक डिभिजन कार्यालय जुम्लाले हेर्दै आएको छ। सडक डिभिजनमार्फत टुक्रे मर्मत-सम्भारका कामहरू हुँदै आएका छन्। तर राजमार्ग सुधार हुन सकेको छैन।

जिपमा आएका एक यात्रु पवन शाहीले सुनार खोलाको पहिरोले सडक अवरुद्ध गर्दा सडकको पेटीमै सात घण्टा समय बिताएको बताए। उनले भने, ‘सुर्खेतबाट आफूहरू ३ बजे सुनार खोला पुगेका थियौं। सामान्य पानी परिरहेको थियो। माथिबाट पहिरो बगेर सडक अवरुद्ध थियो।

सडकको पहिरो पन्छाउँदा पनि निरन्तर बगेको बग्यै भयो। पहिरो रोकिएपनि अगाडि ट्रक फसेका कारण राति १० बजे मात्र सडक खुल्यो। खोलाको किनारमा सात घण्टा समय बित्यो। त्यहाँ न नास्ता न पानी। आफूहरूसँगै झण्डै ५० वटा गाडीहरू त्यो खोलामा जाममा परेका थिए। राति सदरमुकाम आउँदा सबै गाडीका यात्रुहरूले खाना खान समेत पाएनन्।’

सुर्खेत कालिकोटका ट्रक चालकभक्त रावतले सुर्खेतबाट दैनिक उपभोग्य सामान तथा निर्माण सामग्री ल्याएर कालिकोट हिँड्दा गन्तव्यमा पुग्न तिन चार दिन लाग्ने गरेको बताए। उनले हिउँदको समयमा एकै दिन सुर्खेतबाट कालिकोट पुग्ने भए पनि वर्षायाम लागेपछि त्यही सडकमा चार दिनसम्म लाग्ने गरेको बताए।

उनले भने, ‘कर्णाली राजमार्ग राजमार्ग जस्तै छैन। ६ पांग्रे गाडीलाई साइड दिन नपुग्ने सडकमा १० पांग्रे गाडी पनि आउँछन्। सडकमा पूरै खाल्डाखुल्डी र हिलाम्मे छ। कति ठाउँमा गाडी फस्दा उकास्नै दिन लाग्छ। गाडीको पनि बिजोग हुन्छ।’

सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर राजिब शर्माले सुनार खोला र गगने खोलाको पहिरोको रोकथामका लागि सडक विभागबाटै विशेषज्ञ टोली अध्ययनका लागि बोलाइएको बताए। उनले यी दुई खोलामा पहिरो रोक्न ठेक्का प्रक्रिया पनि अगाडि बढाएर विशेषज्ञ टोलीको सुझावका आधारमा काम अगाडि बढाउने बताए।

उनले भने, ‘कर्णाली राजमार्गको स्तरोन्नतिको काम पनि भइरहेको छ। स्थानीय तहले समन्वय नगरी शाखा सडक खनेर मुख्य राजमार्ग बिगारिदिँदा थप समस्या भएको छ। राजमार्गका विभिन्न ठाउँमा आउने ससाना पहिरो पन्छाउन डोजरको व्यवस्था गरेका छौं।’ कर्णाली राजमार्गलाई वर्षायाममा अवरोध गर्ने ठाउठाँउमा जाने पहिरोको रोकथाम तथा सडकको स्तरोन्नति मुख्य आवश्यकता हो।

कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले भने, ‘यो विषयमा डिभिजन सडक कार्यालय जुम्लासँग निरन्तर समन्वय भइरहेको छ। विगतका वर्षहरूमा हप्तौँसम्म सडक अवरुद्ध हुने समस्या थियो। यो वर्ष भने हप्तौं सडक अवरुद्ध हुन दिएका छैनौं। डिभिजन सडकको डोजर स्टेनबाई राखेका छौं। जहाँ समस्या आउँछ त्यहाँ पठाउछौं। अहिले यी सडकमा मर्मतको लागि ठेक्का सुरु भएको छ अव राजमार्ग सुधार हुन्छ।’

अव्यवस्थित रूपमा स्थानीय सरकारले धमाधम सडक खनेर मुख्य राजमार्गलाई अवरोध गर्ने काम गरेको पलाँताका सुम बमले बताए उनले भने, ‘कर्णाली राजमार्ग नै राजमार्ग जस्तो छैन। न्यूनतम मापदण्डसमेत पालना नगरी सडक निर्माण भएको छ। स्थानीय तहले पनि जथाभावी डोजर प्रयोग गरेर सडक खन्छन्। त्यसको प्राविधिक स्टमेटबिनै जहाँ पायो त्यहींबाट सडक जोड्छन्। वर्षायाममा धेरै हिलो हुन्छ। हिउँदमा धुलो-धुँवाले सताउने गरेको छ।’

विगत केही वर्षयता सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गमा आउने पहिरोको दीर्घकालीन समाधानका लागि आवश्यक योजना बनाउन सडक विभागलाई आग्रह गर्दै आएको छ। तर, विभागबाट छिटै समाधान खोज्ने आश्वासन दिनेबाहेक प्रभावकारी काम हुन सकेको छैन।

प्रकाशित: २७ श्रावण २०७९ ०२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App