२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

आज जनै पूर्णिमा

हिन्दु धर्मशास्त्रअनुसार प्रत्येक संवत्सरको श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै (यज्ञोपवित) पूर्णिमा पर्व शुक्रबार मनाइँदैछ। यस दिनलाई जनै पूर्णिमाका साथै ऋषितर्पणी पूर्णिमा, वेदरक्षा दिवस, वेद जयन्ती र क्वाँटी पूर्णिमाका रूपमा पनि मनाउने गरिएको छ।

श्रावण कृष्ण चतुर्दशीका दिन एक छाक मात्र खाएर व्रत बसेका तागाधारीहरूले जनै पूर्णिमाका दिन वैदिक मन्त्रोच्चारण गरी विधिपूर्वक मन्त्रिएको रक्षासूत्र (डोरो) र जनै लगाउने चलन छ। त्यसैले यस दिनलाई जनै पूर्णिमा या रक्षाबन्धन पूर्णिमा भनिएको हो।  यस दिन अभिमन्त्रित रक्षासूत्र र जनै धारण गर्नाले वर्षभरि नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक मान्यता छ।

वैदिक मान्यताअनुसार जनैलाई ‘ब्रह्मसूत्र’ पनि भनिन्छ। वेदोक्त कर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागोलाई ‘ब्रह्मसूत्र’का रूपमा बुझिन्छ। जनैका शिखाहरूमध्ये एउटामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्कोका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतीकहरूको योग मानिन्छ। सो दिन मन्त्रिएका जनै वर्षभरि गरिने धार्मिक कार्यमा लगाउने र पितृपूजा तथा देवपूजनमा चढाउने गरिन्छ। हिन्दु परम्परामा जनैबिना कुनै पनि धार्मिक कार्य सम्पन्न नहुने बताइएको छ।

यस पर्वको शास्त्रीय मान्यता खोज्दै जाँदा देवगुरु बृहस्पतिले इन्द्राणीद्वारा निर्मित रेशम धागाको डोरी (रक्षाबन्धन) वैदिक विधिद्वारा मन्त्रोच्चारण गरी पवित्र र शक्तिशाली बनाएर इन्द्रको हातमा बाँधिदिएका र देवासुर संग्राममा देवताको विजय भएको भविष्य पुराणमा उल्लेख छ। र, सोही आधारमा रक्षाबन्धन पर्व मनाउन थालिएको नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत धर्मशास्त्र विभागप्रमुख प्राडा देवमणि भट्टराई बताउँछन्। मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्परागत मन्त्र ‘येन बद्धो बली राजा दानवेन्द्रो महाबलः तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल’ उच्चारण गर्दै यजमानको हातमा गुरूपुरोहितले बाँधिदिने चलन रहेको छ।

त्यस्तै, यस दिन तराई मधेसमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने चलन छ। स्कन्ध पुराण, पद्मपुराण र श्रीमद्भागवत महापुराणअन्तर्गत वामन अवतारको कथामा यसको प्रमाण भेटिन्छ।  बलीले एक पटक आफ्नो भक्तिले भगवान् विष्णुलाई सधैं आफूसामु रहन वचनबद्ध गराए। नारदजीको उपायअनुसार लक्ष्मीले राजा बलीलाई रक्षाबन्धन बाँधेर आफ्नो भाइ बनाइन्, बलीलाई खुसी पारिन्। खुसी भएका बलीले पनि आफ्नी दिदी लक्ष्मीलाई इच्छा लागेको वर माग्न भने।

अवसरको मौका छोपी वचनबद्ध गराई लक्ष्मीले पनि वरको रूपमा विष्णुलाई वैकुण्ठ फर्काइदिन भनिन् र उनी भगवान् विष्णुलाई लिएर फर्किइन्, बलीलाई रक्षाबन्धन वा राखी बाँधेको दिन पनि श्रावण शुक्ल पूर्णिमा भएको ती पुराणमा उल्लेख छ। त्यस्तै, विष्णुपुराणको प्रसंगमा भगवान् विष्णुले योगमायाको शक्तिद्वारा हयग्रीवकै रूप लिएर यसै दिन हयग्रीव नाम गरेको दैत्यको विनाश गरी ब्रह्मालाई वेद फर्काइदिएका दिएका थिए।

तसर्थ वेदको रक्षा गरिएको हुनाले श्रावण शुक्लपूर्णिमाको दिनलाई वेदरक्षा दिवस या वेद जयन्तीका रूपमा पनि मनाइन्छ। यही रक्षासूत्र पीपलको पूजा गरी बाँध्नाले शनिसंकटाबाट हुने अनिष्ट निवारण हुन्छ भन्ने ज्योतिषीय मान्यताका आधारमा शनिबार पीपललाई रक्षासूत्र बाँधिन्छ।  यसले प्रकृति संरक्षणमा वृक्षको पूजा गर्ने चलन चलेको पनि मान्न सकिन्छ।

यसका साथै प्रत्येक देवकार्यमा ‘रक्षोहणं वलगहनं...’ मन्त्रले तामाको थाली वा दुनामा रक्षाबन्धनसँगै दूबो, सस्र्यूं, दही, तिलजौ राखी चन्दन, अक्षता, फूलआदिले पूजा गर्ने र कलशमाथि राख्ने चलन छ।  सो रक्षाबन्धन देवकार्य विसर्जन गरेपछि वैदिक गुरु–पुरोहितले यजमानको नाडीमा मन्त्रोच्चारणसहित बाँध्ने गर्छन्। यसका साथै यस रक्षासूत्रले गृहमण्डलको पनि रक्षा गर्ने भएकाले घरवरिपरि फन्को मारेर बाँध्ने चलन रहेको छ।

क्वाँटी पूर्णिमा

आजैका दिनलाई विशेष गरी नेवार समुदायले क्वाँटी पूर्णिमाका रूपमा मनाउने गरेका छन्।  यस दिन परम्पराअनुसार एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने चलन छ।  यसरी क्वाँटी बनाएर खानाले शरीर निरोगी हुने, पेट सफा हुने र वर्षाकोे पानीमा भिजेर काम गर्दा शरीरमा लागेको सर्दी निकाली भित्रदेखि नै ताप सञ्चार गर्ने आयुर्वेदिक तथा वैज्ञानिक मान्यता छ।

प्रकाशित: २७ श्रावण २०७९ ०१:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App