coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पर्याप्त सुविधासहित अत्याधुनिक सार्वजनिक शौचालय निर्माण

काठमाडौँ महानगरपालिका वडा २० स्थित परोपकारमा पर्याप्त सेवा सुविधासहित अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ। वडा कार्यालय र एरोसान सस्टेनेवल स्यानिटेशनको सहकार्यमा २५ वर्ष पुरानो जिर्ण सार्वजनिक शौचालयलाई अत्याधुनिक शौचालयमा स्तरोन्नति गरिएको हो।

शौचालयको अवलोकन गर्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले शौचालयमा प्रयोग भएका वातावरणमैत्री प्रविधिलाई अन्य स्थानमा समेत विस्तार गर्नु आवश्यक रहेको बताए। शौचालयमा प्रयोग भएको आकासेपानी संकलन र पुनः भरण प्रविधिलाई महानगरको प्रत्येक घरमा जडान गर्न आवश्यक बजेट विनियोजन गरिएको जानकारी गराउँदै शौचालयलाई सिकाई केन्द्रको रूपमा विकास गर्न सकिने बताए।

शनिबार उक्त शौचालयको उद्घाटन गर्दै वडा अध्यक्ष राजेन्द्र मानन्धरले २५ वर्ष पुरानो जीर्ण र अव्यवस्थित सार्वजनिक शौचालयको पुनः निर्माण गरेको जानकारी दिए। 'वडावासिको सहजता र यात्रुहरूको सुविधाका लागि शौचालयको सुविधा दिनु महानगरको दायित्व भएकाले आगामी दिनमा आवश्यकता अनुरुप अन्य स्थानमा समेत शौचालय निर्माणमा महानगरले प्राथिमकता दिनेछ’, मानन्धरले भने।

एरोसानले सन् २०२० देखि काठमाडौँ र ललितपुर महानगरपालिकाका विभिन्न स्थानमा स्वच्छ, महिलामैत्री, अपांगमैत्री, वातावरणमैत्री अत्याधुनिक तथा समुदायमा आधारित शौचालय निर्माण र सञ्चालन गर्दै आएको छ। एरोसान सस्टेनेबलले सन् २०२० देखि २०२२ सम्ममा काठमाडौँ महानगरपालिकामा ४ वटा र ललितपुर महानगरपालिकामा २ वटा गरि जम्मा ६ वटा अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा ल्याइसकेको छ।

एरोसानद्वारा निर्मित तथा सञ्चालित शौचालयले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रविधि प्रवर्द्धन पुरस्कार २०७८ बाट सम्मानित भइसकेको छ भने विश्व स्तरीय सरफाती सेनिटेशन प्रतियोगितामा उत्कृष्ट ५ मा पर्न सफल भएको थियो। शौचालय अपांगमैत्री, वातावरण मैत्री, महिला मैत्री भएको एरोसानका कार्यकारी प्रमुख प्रकाश अमात्यले बताए। एरोसानले निर्माण गरेको शौचालय पूर्ण रूपमा वातावरणमैत्री भएको अमात्यको दाबी छ।

‘एरोसानद्वारा निर्मित तथा सञ्चालित शौचालयमा दैनिक १००० लिटर फोहोर पानी प्रशोधन गर्ने क्षमता छ। फोहोर पानी प्रशोधन प्रविधि प्रयोग गरेका छौं’, एरोसानका कार्यकारी प्रमुख अमात्यले भने। मानव मलमुत्रलाई शौचालयमै व्यवस्थापन गरि वायोग्याँस उत्पादन गर्न १० घन मिटरको वायो ग्याँस प्लान्ट शौचालय परिसरमै निर्माण गरि वातावरण मैत्री बनाउन अहम भुमिका खेलेको अमात्यको भनाइ छ।

प्रकाशित: २१ श्रावण २०७९ १६:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App