८ वैशाख २०८१ शनिबार
समाज

हेटौँडामा पनि सवारी स्टीकर

स्टीकर अभियानको थालनी गर्दै मेयर लामा लगायत।

अव्यवस्थित र मनलाग्दी सञ्चालित तीन पांग्रे सवारी (अटो, मयुरी) का कारण दुर्घटना बढ्नुका साथै प्रदेशको राजधानी कुरुप देखिएपछि हेटौँडामा स्टीकर अभियान सुरु गरिएको छ।

अब स्टीकर टाँसिएका तीन पांग्रे  मात्रै उपमहानगरपालिका क्षेत्रमा सञ्चालन हुने पाउने भएको छ। २०७६ पुस ७ गते भन्दा अघि हेटौँडामा सञ्चालन हुँदै आएको अटो तथा मयुरीलाई स्टीकर टाँस्ने अभियान सुरु गरिएको हो। ०७६ पुस ७ गतेबाट उपमहानगरपालिकामा तीन पांग्रे  सवारी दर्ता बन्द गरिएको थियो।

बिहीबार हेटौँडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा, उपयेयर राजेश बानियाँ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, बागमती प्रदेश प्रहरी प्रमुख (डीआइजी) किरण बज्राचार्यलगायतले संयुक्त स्टीकर अभियानको शुभारम्भ गरेका हुन्।

अन्यत्र दर्ता तथा रुट परमिट लिएर हेटौँडामा सञ्चालित अटो तथा मयुरीका कारण दैनिक दुर्घटना बढिरहेको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको सहयोगमा उपमहानगरपालिकाले यस अभियानको थालनी गरेको हो। उपमहानगरले आफ्नो क्षेत्रभित्र सञ्चालन अनुमति प्राप्त सवारीलाई सञ्चालन अनुमतिसहितको स्टिकर प्रदान गरेको हो।

उपमेयर राजेश बानियाँको अध्यक्षतामा बसेको पार्किङ व्यवस्थापन समितिको बैठकबाट गठित दुई उपसमितिले यातायात व्यवसायी, ट्राफिक प्रहरीसहित विभिन्न सरोकारवाला निकायसँगको छलफल र निरीक्षणबाट प्राप्त सुझावको आधारमा स्टीकर अभियानको थालनी गरिएको हो।

हेटौँडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले तीन पांग्रे सवारी व्यवसायीको हकहितका लागि अक्षयकोष स्थापना गरिने घोषणा गरिन्। स्टीकर अभियानले व्यवसायीलाई अनुशासित र व्यवस्थित बनाउने भन्दै उनले २०७६ पुस ७ पछि सञ्चालनमा आएका अटो मयुरीलाई पनि व्यवस्थित गरिने बताइन्।

उपमेयर राजेश बानियाँले सरोकारवालासँगको समन्वय र छलफलबाट स्टीकर टाँस्ने निष्कर्षमा पुगिएको जानकारी दिँदै प्रदेश राजधानीलाई सुन्दर बनाउनु सबैको दायित्व भएको बताए। प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे ले हेटौँडामा अव्यवस्थित तीन पांग्रे सवारी ठूलो समस्याको रुपमा रहेकोमा यस अभियानले दीर्घकालीन राम्रो हुने दाबी गरे।

यस्तै प्रदेश प्रमुख डीआइजी किरण बज्राचार्यले दुर्घटना हुन नदिन सडक प्रयोगकर्ता सबै उत्तिकै जिम्मेवार हुने धारणा राखिन्। दुर्घटनाको कारण साँघुरो सडक मात्र नभएर चालक तथा पैदलयात्रीको लापरबाहीले पनि दुर्घटना भैरहेको बताइन्। तीन पांग्रे सवारीको स्टीकर अभियानको शुभारम्भ कार्यक्रममा अहिलेसम्म कारबाहीमा नपरेका असल अटो चालकद्वय कृष्णप्रसाद दुलाल र इन्दिरा सापकोटालाई नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले अब स्टीकर नभएका अटो तथा मयुरी नगर क्षेत्रमा प्रवेश निषेध हुने बताए। अटो व्यवसायी भीमप्रसाद गौतमले कानूनको पालना गर्दै सम्मानजक हैसियतमा व्यवसाय गर्न तयार रहेको बताए। तीन पांग्रे सवारीलाई व्यवस्थित गर्न आवश्यक रहेको भन्दै उनले उपमहानगरको स्टीकर अभियानको प्रशंसा गरे।

प्रकाशित: १९ श्रावण २०७९ ११:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App