१५ हजार फिट उचाईको पहाड। जहाँ साउन भदौमा पनि सेताम्य हिउँ देखिन्छ। १० महिना सेतो हिँउको घुम्टोले नै ढपक्क ढाक्ने गर्छ। पहाडै पहाडको शहर छ। थप शोभा बढाएको छ, तालहरुले।
जहाँ दर्जनको संख्यामा साना ठूलो तालहरु छन्। ती तालहरुको विशेषता आ–आफ्नै छ। कोही दानवका लागि महत्वको बोकेका छन्, कोही भगवानका लागि। त कोहीले मानवसँग पनि। पुग्नेहरु स्वर्गकै उपमाको संज्ञा दिन्छन्।
सो स्थानमा बुढीनन्दा भगवतीले बास गर्छन्। देवीको प्रत्येक वर्षको जनैपूर्णिमाको अवसरमा वर्षको एक पटक पूजा हुन्छ। धार्मीक आस्थाको धरोहरका रुपमा रहेको बुढीनन्दा क्षेत्रको महिमा उच्च भागमा रहेका तालहरुले दिएका छन्। उक्त क्षेत्रबाट मुगु, हुम्ला कालिकोट सहीतका जिल्लाहरुको दृश्य नियाल्न सकिन्छ, भने बझाङमा रहेको साइपाल हिमाल र जेठीबैरानीको मनमोहक दृश्य हेर्न सकिन्छ।
तालहरु मध्ये राक्षस दहमा दर्शनार्थीहरुले नजर समेत लगाउनु हुँदैन भन्ने धार्मिक मान्यता छ। सोही मान्यता अनुसार ताल देखिए पनि दर्शनार्थीहरुले नदेखे झैँ गर्ने गर्छन्। त्यो तालमा राक्षसले मात्र नुहाउने गरेकोले दृश्य पनि निकै कालो देखिने गरेको, बुढीनन्दा दर्शन गर्न गएकाहरुले बताउने गरेका छन्।
राक्षस दहको दृश्य देखेमा परिवारमा पीडा थपिने, देवी रिसाउने र मागेको बर नपाईने गरेको किवदंन्ती रहेको छ। मन्दिर नजिकै रहेको अर्को तालमा दर्शनार्थीहरुले नुहाउने, गर्छन्। उक्त दहमा नुहाए पापबाट मुक्त भइने र देवी खुसी भएर मागेको बर दिने भनाई छ।
तर त्यसको संरक्षण, संम्वद्र्धन र प्रवद्र्धन हुन सकेको छैन। १५ हजार फिट उचाईमा देवीको मन्दिर छ। त्यो पनि पूर्खाहरुले ढुंगाले बनाएको छ। संरचना राम्रो नभए पनि स्थान प्रकृतिकै उपमा हो–भन्छन्, स्थानीय समेत रहेका नेकपा एमाले बुढीनन्दा नगर कमिटी अध्यक्ष जंगवीर रोकाया।
तिलिचो पछिको दोस्रो उचाईमा रहेका तालहरुमध्येमा बुढीनन्दा एक हुन्। राज्यले कुनै खोजी गरेको छैन,रावतले गुनासो गरे। बुढीनन्दाको प्रचार÷प्रसार नहुँदा थाह भएकाहरु मात्र दर्शनका लागि जाने गरेका छन्। बाजुरा लगायत सुदूरपश्चिम र भारतको उत्तर प्रदेशबाट भक्तजन आएपनि प्रचारको कमी छ।
भक्तजनहरुले सन्तान र धन प्राप्तिका लागि बुढीनन्दा देवीको दर्शन गर्ने गरेका छन्। बडिमालिका देवीले नदिएको बर बुढीनन्दा देवीले दिने धार्मीक विश्वास स्थानीयमा छ। निःसन्तानिलाई सन्तान, दुःखीलाई सुःख अन्न धन प्राप्त हुने विश्वास हुने विश्वास छ।
मार्तडीबाट कालाजग्रा पाण्डुसैन हुँदै कुरुखोला पुगिन्छ। कुरुखोलाको बास पछि धनभण्डार लेकमा पुगिन्छ। त्यहाँ ओढारमा बस हुन्छ र सदरमुकाम मार्तडीबाट तेस्रो दिन बढीनन्दा पुगिन्छ। नेपालगञ्जबाट कोल्टी विमान स्थल हुँदै गएमा दुई दिनमा पनि पुगिन्छ। तर धार्मिक मान्यता अनुसार तीन दिन लगाएर पुग्नु पर्ने हुन्छ।
सधैको समयमा सो क्षेत्र जान सकिँदैन्। जेष्ठदेखि असोजसम्म मात्र सो क्षेत्रमा जान सकिन्छ। मागेको कुरा पाईने, धन लाभ हुने र बाँझोपन भएका, वा सन्तान नभएकाहरुका लागि सन्तान प्राप्त हुने धार्मिक विश्वास रहि आएको छ। सो क्षेत्रमा हकदाबी कोल्टी क्षेत्र नुरी र कुरुखोला क्षेत्रका स्थानीयको छ। उनीहरुले बुढीनन्दा क्षेत्रको वन क्षेत्रको उपयोग र सदुपयोग गर्ने गरेका छन्।
बर्षादका चार महिना तल्लो क्षेत्रमा भेडा च्याँग्रा चरिचरनका लागि छोडिन्छ भने हिउँ पग्लिएपछि जडिबुटीका लागि पनि स्थानीय बुढीनन्दा पाटन जाने गरेका छन्। आकर्षक पाटनहरु तथा ताल वरिपरि रहेका आकर्षक झरनाहरुले त्यहाँ जाने जोकोहीको पनि मन लोभ्याउने गरेको छ।
खाली खुट्टाले एक दिनको पैदल यात्रा गरे पनि खुट्टामा कुनै प्रकारको कठिनाई नहुने विश्वास छ। सोही बमोजिम बुढीनन्दा यात्रामा जाने भक्तजनहरुले खाली खुट्टा दर्शनका लागि मन्दिर पुग्ने गरेका छन्। दलित समुदायले जानु हुँदैन, अनिष्ट हुन्छ, भन्ने कुमान्यता रही आएको थियो, त्यो गएको तीन वर्षयता मात्र तोडिएको छ।
बहुमूल्य जडिबुटीको खानी तथा लोपोन्मुख वन्य जन्तु र चराचुरुङ्गीहरुको बसोबास क्षेत्र पनि सोही स्थानमा पर्छ। रङ्गी चङ्गी फूलहरुको मनमोहक दृष्य हेर्न पाउनु भक्तजनहरुका लागि अर्को सौभाग्य पनि हो। यो क्षेत्र मानसरोवर क्षेत्रसँग पनि जोडिएकोले धार्मिक विशेषता बढी छ। यो वर्ष पनि जनैपूर्णिमा मेलाको भव्य तयारी भईरहेको छ।
बुढीनन्दाको छार्पे पाटनमा अतिथि गृह निर्माण
धार्मिक आस्थाको धरोहर र पर्यटकीय क्षेत्रका रुपमा परिचित बुढीनन्दाको छाप्रे पाटनमा अतिथि गृह निर्माण गरिएको छ। धार्मिक मेलामा जानेहरुको सहज बासका लागि छाप्रे पाटनमा अतिथि गृह निर्माण गरिएको हो।
पर्यटन प्रवद्र्धन तथा पर्यटकको सहजताका लागि छाप्रे पाटनमा भवन १ करोड १९ लाख ४२ हजार ७ सय १५ रुपँैया ४४ पैसा लागतमा स्थायी टहरा निर्माण गरिएको छ। भवन उषा कन्स्ट्रक्सनले निर्माण गरेको हो।
गएको असार १५ गते निर्माण अवधि रहेको भवनको एक महिना ढिला गरी भवन निर्माण सकिएको छ। पौराणिक, ऐतिहासिक, पर्यटकीय एवं धार्मिक तिर्थस्थल बुढीनन्दा माईको मन्दिर जाने पदमार्गको हो।
यसको करिव ३५०० मिटर १२०० फिट अग्लो छाप्रे पाटनमा आधुनिक किसिमको अतिथी गृह निर्माण र पदमार्ग सम्पन्न भएको छ। ठेक्का पाएको एक महिना भित्र काम सम्पन्न गरि बुढीनन्दा माईको मेला लाग्न एक साता अगाडी काम सम्पन्न भएको छ।
बुढीनन्दामा नगर कार्यपालिकाको बैठक बस्ने
बुढीनन्दा क्षेत्रको विकासका लागि सरकारी तर्फबाट खासै प्रयास भएको छैन। प्रकृतिको उपमा बुढीनन्दा राज्यको नजर बाहिर छ। त्यसको नत प्रचार हुन सकेको छ, नत संरक्षण नै। पहिलो पटक २०७० सालमा तत्कालिन नेकपा एमाले बुढीनन्दा यात्रा गरेको थियो। जुन समयदेखि मात्र दलित समुदायले प्रवेश पाएको थियो। त्यस अभियान पछि मात्र बुढीनन्दाले बढी महत्व पाएको हो।
यो पटक बुढीनन्दा नगर कार्यपालिकाको बैठक नै बुढीनन्दामा बस्ने भएको छ। छाप्रे पाटनमा बनेको अतिथि गृहमा नै औपचारिक बैठक बस्न लागेको नगर प्रमुख जनक कुमार बोहराले बताएका छन्। बुढीनन्दा धार्मिक आस्थाको धरोहर र प्रमुख पर्यटकीय गन्तव्य हो, यसको प्रवद्र्धन र विकास नगरपालिकाको पहिलो एजेण्डा हुन्छ। यो वर्षदेखि बुढीनन्दालाई चिनाउने अभियानको सुरु गरिने नगर प्रमुख बोहराको भनाई छ।
साउन २६ मा मेला लाग्ने
यो वर्ष साउन २८ गते मेला लाग्ने भएको छ। सयौँको संख्यामा भक्तजन बुढीनन्दा गएका छन्। बुढीनन्दा नगरपालिका–४ मा पर्ने उक्त क्षेत्रमा प्रत्येक वर्षको जनैपूर्णिमाको अघिल्लो दिन मेला लाग्ने गरेको छ। बुढीनन्दा यतिबेला तीर्थालु भक्तजन तथा पर्यटकहरुलाई पर्खिरहेको छ।
प्रकाशित: १९ श्रावण २०७९ ११:०५ बिहीबार