५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

नदी पार नगर्दै टुङ्गियो पुल

गोरखा नगरपालिका १२ र पालुङटार ९ जोड्ने पक्की पुल। तस्बिर: नागरिक

गोरखा नगरपालिका र पालुङटार जोड्ने मोटरेबल पुल अधुरो भएको छ। ८० मिटर मात्रै निर्माण गर्ने गरी टेण्डर भएको गोनपा १२ र पानपा ९ जोड्ने उक्त पुल नदी वारपार नगर्दै टुङ्गिएको हो।नदी भन्दा छोटो पुल स्टमेट भएपछि ग्याबिन जाली हालेर पुल लम्ब्याउने तयारी छ।  

गोरखातर्फ दशकिलोबाट निर्माण सुरु भएको पुलले दरौँदी नदीले ओगटेको बगर छिचोल्न सकेको छैन। पालुङटार तर्फ खोलामै पुल टुङ्गिएको छ। ‘८० मिटर पुल बनाउने सम्झौता भएको हो, फिनिसिङ बाँकी छ, लम्बाई अब बढ्दैन’ निर्माण जिम्मा लिएको ईलाईट एड्भेन्चर धनथान जेभीका प्रकाशराज पौडेलले भने। स्ल्याबको काम सकिएको छ।  

पुललाई पालुङटारतर्फ जोड्न खोलामा ग्याबिन जाली हालेर जोड्ने योजना पूर्वाधार बिकास कार्यालयको छ। निर्माणको अन्तिम चरणमा रहेको मोटरेबल पुल सँगै रहेको झोलुङ्गे पुल भन्दा छोटो छ। दुई वर्षअघि बाढीले झोलुङ्गे पुलको पालुङटारतर्फको जिपमा क्षति पुर्‍याएको थियो। पक्की पुल झोलुङ्गे पुल भन्दा छोटो हुँदा बाढीले बगाउने खतरा रहेको स्थानीय बताउँछन्। ‘पहिले ८० मिटरको स्टमेट भएछ, सोही अनुसार काम भयो, बाढी आएपछि खोला धेरै फैलिएकाले अहिले पुल छोटो देखिएको हो’ पूर्वाधार बिकास कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले भने। यस अघि पनि पुलको पालुङटार तर्फ लगाइएको पर्खालमा नदीको वहाब बढ्दा क्षती पुगेको थियो।  

तत्कालिन जिल्ला विकास समितिले २०७३ मा टेण्डर गरेको पुल अहिले पूर्वाधार बिकास कार्यालय अन्तरगत साढे चार करोड लागतमा निर्माण भईरहेको छ। निर्माण सुरु गर्ने क्रममा समस्या हुँदा स्टमेट बदल्नु परेपछि दुई वर्ष ढिला गरी पुल बन्न थालेको हो। नदी वारपार नगर्दै सकिएको पुलको पालुङटारतर्फ सडक पनि खुलेको छैन। करिब छ सय मिटर सडक खुल्न बाँकी रहेको छ। स्थानीयको खेत पर्ने भएकाले जग्गा प्राप्तीको बारेमा छलफल भएको तर कुनै निर्णय हुन नसकेको पूर्वाधार बिकास कार्यालयका प्रमुख ढुङ्गानाले बताए।

प्रकाशित: १८ श्रावण २०७९ १०:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App